गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २ गते । औषधीसम्बन्धी प्रश्न तथा जिज्ञासा मेट्न डिजिटल प्लेट फर्म ‘एपोन केयर्स’ सञ्चालन गरिएको छ । उक्त डिजिटल प्लेटफर्मको सहायतामा आमनागरिक तथा बिरामीले औषधीको समुचित प्रयोगबारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्ने छन् । बिरामी हुँदा चिकित्सक भेट्नका लागि अस्पताल जाँदा, चिकित्सकको परामर्शबिना औषधी किनेर खाँदै हुनुहुन्छ वा आफूखुसी औषधी खाँदा के कस्ता समस्या हुन सक्छन् भन्नेबारेमा उक्त डिजिटल प्लेट फर्मले जानकारी दिने छ । यसै गरी औषधी कति मात्रामा खाने, कसरी खाने, कुन समयमा खाने, औषधी सुरक्षित कसरी राख्ने, कति तापक्रममा राख्ने भन्ने विषयमा पनि एपोन केयर्सले जानकारी दिने छ ।
नेपाल औषधी उत्पादक सङ्घले सञ्चालनमा ल्याएको उक्त एपले सर्वसाधारणलाई लक्षित गर्दै उक्त एप ल्याएको हो । एपोनका महासचिव सन्तोष बरालले औषधी प्रयोगबारे सही तरिका, जानकारी र सचेतना फैलाउने योजनासाथ ‘एपोन केयर्स’ सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । औषधीमा आत्मनिर्भर योजनाका साथ अघि बढिरहेको तर्क गर्दै उहाँले कुन अवस्थामा औषधीको समुचित प्रयोग गर्ने भन्नेबारेमा एपले जानकारी गराउने बताउनुभयो ।
“नेपालमा उत्पादन हुने औषधीको गुणस्तरदेखि उत्पादन प्रक्रियाबारेमा जानकारी लिनु पर्छ,” बरालले थप्नुभयो, “औषधी उत्पादन गर्ने उद्योग र प्रयोग गर्ने नागरिकबिच विश्वास कायम गर्न पनि एपले महत्वपूर्ण भूमिका खेल्ने छ ।” एपोनका मिडिया संयोजक शैलेस वैद्याले नेपालमा औषधीको दुरुपयोग रोक्नका लागि उक्त एपले सहजीकरण गर्ने बताउनुभयो । उहाँले नेपालमा औषधी उद्योग सञ्चालनमा आए पनि कैयौँ नेपालीमा नेपाली औषधीबारे अझ पनि भ्रम रहेको बताउनुभयो । उहाँले यस्ता भ्रम हटाउन नेपाल औषधी उत्पादक सङ्घले एपोन केयर्स सुरु गरेको प्रस्ट पार्नुभयो ।