• २ चैत २०८२, सोमबार

आँधीखोला किनारमा तर्बुजा खेती

blog

भीरकोट नगरपालिका –१ आँधीखोला किनारमा लगाइएको तर्बुजा खेती । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत २ गते ।
भीरकोट नगरपालिकाको आँधीखोला किनारको बगर क्षेत्रमा तर्बुजा खेती लगाइएको छ । किसानलाई आय आर्जनमा जोड्ने उद्देश्यले पहिलो चरणमा नदी किनारको जमिन प्रयोग गरी तर्बुजा खेती परिक्षणको रुपमा थालिएको हो ।

भीरकोट कृषि तथा पशु विकास परियोजनाअन्तर्गत पालिकाको ७० र हेफरको ३० प्रतिशत साझेदारीमा सम्भाव्यता अध्ययनका लागि तर्बुजा खेती गरिएको हो ।  

पालिकाले भौतिक तर्फ खर्च र हेफरले प्रशासनतर्फ खर्च गर्ने बताउदै परियोजना प्रमुख डा दमन अधिकारीले यो पहिलो चरणमा अध्ययनको लागि गरिएको बताउनुभयो ।

नदी किनारको माटो र हावापानी तर्बुजा खेतीका लागि अनुकूल देखिएकाले तर्बुजा खेती थालेको बताउदै डा अधिकारीले नतिजा सकारात्मक देखिए व्यावसायिक उत्पादनमा विस्तार गरिने बताउनुभयो ।

उत्पादन सकारात्मक भए यो खेती भीरकोटका लागि मात्र नभई देशकै लागि  नयाँ सम्भावना बन्ने छ । पालिकाको आँधीखोला किनारसँग जोडिएका वडा नं –१, वडा नं –४ वडा नं –५ र वडा नं –६ मा २० रोपनी जग्गामा १८ जना किसानले तर्बुजा खेती गरेको पालिका कृषि प्राविधिक अनिस अर्यालले जानाकारी दिनुभयो ।

यहाँ समुन्द्र सतहबाट सात सय मिटरको उचाईमा मल्चिङ विधिबाट तर्बुजा रोपिएको बताउदै अर्यालले जेठ मसान्तसम्म उत्पादन हुने छ भने यो खेती जिल्लामै पहिलो पटक परिक्षणको लागि लगाइएको बताउनुभयो । यहाँ ‘लक्ष्मी’ र ‘सरस्वती’ जातका तर्बुजा लगाइएको र यो स्थानीय हावापानीमा राम्रो उत्पादन हुने आकलन गरिएको छ ।

उत्पादन भएपछि किसानले आफैं बजार व्यवस्थापन गर्नेछन् भने आवश्यक परे नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाले तर्बुजा खेतीसँगै सिम्ला मिर्च र अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनलाई पनि प्रोत्साहन गरेको छ ।परम्परागत खेतीमा सीमित किसानलाई नगदे बालीतर्फ आकर्षित गर्दै कृषि उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

नदी किनारको बगर जमिन प्रायः बाँझै रहने अवस्थामा त्यसलाई उत्पादनमूलक बनाउने प्रयासले सकारात्मक सङ्केत दिएको छ ।