• १ चैत २०८२, आइतबार

मुटु बचाउन नियमित व्यायाम गर्नु पर्छ

blog

डा. अनिल भट्टराई मुटुरोग विशेषज्ञ

  • नियमित व्यायाम नगर्नेलाई पनि मुटुरोग हुन सक्छ । नसा फुट्ने, उच्च रक्तचाप भएका बिरामी मुटुरोगको उच्च जोखिममा पर्छन् । 
  • ३० प्रतिशतको मृत्यु ‘कार्डियोभास्कुलर’ सम्बन्धी रोगको कारण भइरहेको हुन्छ । 
  • आफूलाई मुटुरोग छ/छैन, भविष्यमा मुटुरोग देखिन सक्छ या सक्दैन भन्ने पनि परीक्षणपछि थाहा हुन्छ ।
  • मुटुको भल्ब मर्मत गर्ने, फेर्ने, मुटुको भल्ब फेर्ने रोगमा संसारमै प्रयोग हुने प्रविधि नेपालमा प्रयोग हुन्छ ।

पछिल्लो समय नेपालमा मुटुरोग बढ्दो छ । मुटुरोग नसर्ने रोग हो । नेपालमा हृदयाघात भएर मानिसको मृत्यु भइरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अनुसन्धानले नेपालमा कुल जनसङ्ख्याको ३० प्रतिशतलाई कुनै न कुनै किसिमको मुटुरोग लागेको तथ्याङ्क सार्वजनिक गरेको थियो । यही विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईसँग गोरखापत्रका लागि सरोज ढुङ्गेलले गरेको कुराकानी : 

 मुटुरोग भनेको के हो ? यो कस्तो खालको रोग हो ?

मुटुरोग धेरै किसिमका हुन्छन् । मुटुरोगभित्र पनि ४०/५० किसिमका विभिन्न खालका रोग हुने गर्छ । जन्मजात, भल्ब बिग्रने, कर्नरी हार्ट डिजिज र मुटुको चाल बिग्रने रोग मुख्य हुन् । मुटुरोगमा कहिलेकाहीँ पेसमेकर हाल्नुपर्ने हुन सक्छ । मुटु आफैँमा एउटा अङ्ग हो तर त्यसभित्र विभिन्न संरचना छन् । ती प्रत्येक संरचनामा रोग लाग्न सक्छ । मानिसको उमेर, वंशाणुगत अनुसार मुटुरोग लाग्ने गर्छ । 

मुटुरोग के कारणले लाग्छ ?

मुटुरोग वयस्क र वृद्ध अवस्थामा मात्र होइन, बच्चालाई पनि लाग्न सक्छ । बच्चा जन्मँदै मुटुको कुनै न कुनै रोग लिएर आउने सम्भावना हुन्छ, त्यसलाई जन्मजात मुटुरोग भनिन्छ । सामान्य खालका मुटुमा प्वाल पर्नेदेखि जटिल खालका रोग पनि हुन्छन् । शल्यक्रिया पनि दुई तीन स्टेजमा गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बच्चा जन्मनेबित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया गरिएन भने बच्चाको ज्यान खतरामा पर्न सक्छ । बाथ मुटुरोग कीटाणुले हुन्छ । बिस्तारै फैलिँदै गएपछि त्यसले मुटु बिगार्छ । मुटुका नसामा बोसो र क्याल्सियम जमेर पनि मुटुरोग लाग्ने गर्छ । कहिलेकाहीँ शरीरमा रगत जमेर रगतको डल्ला मुटुमा उछिटिएर जान सक्छ । बाथ मुटुरोग कीटाणुको कारणले लाग्छ । हृदयाघात गराउने मुख्य कारण शरीरमा सुगरको मात्रा नियन्त्रण भएन, ‘कोलेस्ट्रोल’ राम्रोसँग नियन्त्रण गर्न सकिएन, दबाबपूर्ण जीवनशैली, धूमपान र मध्यपान नै हो । नियमित व्यायाम नगर्नेलाई पनि मुटुरोग हुन सक्छ । नसा फुट्ने, उच्च रक्तचाप भएका बिरामी मुटुरोगको उच्च जोखिममा पर्छन् । 

मुटुरोगका लक्षण के हुन सक्छन् ?

मुटुरोग लागेको छ भने शरीर गल्ने वा थाक्ने हुन्छ । सामान्य स्थितिमा मुटुरोगको लक्षण पनि थाहा नहुन सक्छ । रोग लागेपछि मानिसलाई मुटु ढुकढुक भएको महसुस हुन्छ । छाती भारी हुने, छातीको बिच भागमा पोले जस्तो हुने, हिँड्दा उकालोमा स्वाँ–स्वाँ हुने गर्छ । कतिपयलाई हिँड्दै गर्दा पनि रोकिनुपर्ने हुन सक्छ । हिँड्दा मुटु दुख्ने र रोकिँदा हराउने हुन्छ । यो लक्षण हृदयाघातको हो । आफूले गरिरहेका काम गाह्रो लाग्न सक्छ । सधैँ उचालिरहेको भारी आफूलाई गह्रौँ जस्तो हुन्छ । सामान एक ठाउँबाट अर्को ठाउँ सार्न कठिन हुन्छ । रोग छिप्पिएर गइसकेपछि मुटुको भल्ब तथा मुटुको नसामा असर गर्ने र मानिसको खुट्टा सुनिने लक्षण देखा पर्छ । रिँगटा र चक्कर लाग्ने हुन्छ । 

नेपालमा मुटुरोगको अवस्था कस्तो छ ?

नेपालमा मात्र होइन संसारमा मुटु रोग (कार्डियोभास्कुलर) एक नम्बरमा पर्छ । ‘कार्डियोभास्कुलर’ रोग भन्नाले मुटु र रक्तनलीसम्बन्धी रोग पर्छन् । यसमा जन्मजात मुटुरोग, हृदयाघात, मस्तिष्कघात, रक्तनली बन्द भएर हातखुट्टा काट्नुपर्ने पनि हुन्छ । यी सबै रोगमा ३० प्रतिशतको मृत्यु ‘कार्डियोभास्कुलर’ सम्बन्धी रोगको कारण भइरहेको हुन्छ । मृत्युको मुख्य कारण ‘कार्डियोभास्कुलर’ रोग हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ मा गरेको तथ्याङ्क अनुसार २७ प्रतिशत मानिसको ‘कार्डियोभास्कुलर’ रोगले मृत्यु भएको पाइएको छ । विकसित देशमा जस्तै नेपालमा पनि नम्बर एकमा ‘कार्डियोभास्कुलर’ रोग देखा परेको छ । त्यसमा मुटुरोग पनि पर्छ । नेपालमा पहिलेभन्दा मुटुरोग अत्यधिक बढेको छ । हृदयाघात गराउने रोग पछिल्लो दशकमा दोब्बरले वृद्धि भएको छ ।  

मुटुरोगको जोखिममा कस्ता मानिस छन् ?

यसमा वंशाणुगत रोग भएका मानिस पनि पर्छन् । परिवारमा कसैको मुटुरोगको कारण मृत्यु भएको छ र मुटुरोगको औषधी सेवन गरिरहेको मानिस छ भने त्यसलाई उच्च जोखिम हुन्छ । उच्च रक्तचाप भएका मानिसमा उच्च जोखिम हुन्छ । उनीहरूले आफूलाई भविष्यमा मुटुरोग हुन सक्छ भनेर सतर्कता अपनाउनु पर्छ । जन्मजात मुटुरोगबाहेक उमेरको हिसाबमा ३० वर्षभन्दा माथिको मानिसले वर्षमा एक पटक परीक्षण गर्नै पर्छ । आफूलाई मुटुरोग छ/छैन, भविष्यमा मुटुरोग देखिन सक्छ या सक्दैन भन्ने पनि परीक्षणपछि थाहा हुन्छ । मोटो मानिसमा पनि मुुटुरोगको जोखिम हुन्छ । नियमित शारीरिक व्यायाम मुटु रोकथामको मुख्य कारण हो । 


मुटुरोगमा प्रदूषणको भूमिका कति हुन्छ ?

प्रदूषण पनि रोगको कारण हो । हावामा विभिन्न खालका टक्सिन हुन्छन् । ‘टक्सिन’ ले फोक्सोलाई मात्र नभएर रक्तनलीमा पनि असर पु¥याउँछ । रक्तनलीका तीन वटा लेयर हुन्छन् । भित्री लेयर जहाँबाट रगत प्रवाह हुन्छ, त्यसलाई टक्सिनले नोक्सान गराउँछ । त्यहाँ रक्तकोषिका जमेर बस्छन् । कालान्तरमा सानो नशामा असर गर्छ । त्यसैका कारण मुटुरोग लाग्छ । मुटुका नसाले हृदयाघात गराउने सम्भावना हुन्छ । 

मुटुरोग कुन कुन विधिबाट परीक्षण गरिन्छ ?

मुटुको रोगको परीक्षण विभिन्न तरिकाले गर्न सकिन्छ । तीन वर्षभन्दा माथिको मानिसमा त्यसको प्याकेज हेर्न सकिन्छ । ‘कोलस्ट्रोल’ र ‘सुगर’ को मात्रा हेरिन्छ । सामान्य मानिने इसिजी गरिन्छ । त्यसलाई ‘इलेक्ट्रो कार्डियोग्राम’ भनिन्छ । इसिजी भनेको मुटुको चाल मापन गर्ने हो । मुटुको चालबाट पनि केही लक्षण देखिन सक्छ । ‘इको कार्डियोग्राफी’ वा मुटुको भिडियो एक्सरे गरेपछि मुटुको भल्बको भित्ताको शक्ति थाहा हुन्छ । त्यसपछि रोगको पहिचान हुन्छ । दुई वटा परीक्षण विधिमा मात्र लाग्यो भने मुटुमा अरू रोग छैन भन्ने पत्ता लगाउन सकिन्छ । इको र इसिजी ठिक हुँदाहुँदै पनि अरू लक्षण देखिएको छ भने ठुलो परीक्षण गर्नुपर्ने हुन्छ । मुटुको चाल गडबड छ भने त्यसलाई २४ घण्टासम्म मेसिनमा राखेर हेरिन्छ । मुटुको नसा ब्लकेज छ छैन भनेर हेर्न ‘सिटीस्केन’ गरिन्छ । त्यसबाट पनि पत्ता लागेन भने ‘कर्नियो एनजिओग्राफी’ गरिन्छ । त्यो भनेको हात वा खुट्टाको नसाबाट तार छिराएर मुटुको नसामा विशेषखाले औषधी दिई भिडियो खिचेर हेर्ने प्रविधि हो । त्यसबाट मुटुको नसा ब्लक छ छैन भन्ने जानकारी हुन्छ । 

कति प्रतिशत मुटु ब्लक छ, कुन नसा ब्लक छ भनेर हेर्न पनि सकिन्छ । मुटुका तीन वटै नसा ब्लक देखियो भने मुटुको कार्य (फङ्सन) कति छ, मुटुको मांसपेशी कति जीवित छ भनेर हेर्न सकिन्छ । जन्मजात मुटुरोगलाई ‘क्याथ स्टडी’ गरेर पनि हेर्न सकिन्छ । 

मुटुरोग छ/छैन भनेर कसरी पत्ता लगाउन सकिन्छ ? 

संसारकै सबैभन्दा ठुलो रोग हो मुटु रोग । ३० वर्षभन्दा माथिको मानिसले वर्षको एक पटक मुटुको परीक्षण गराउनै पर्छ । सर्वप्रथम इसिजी गर्नु पर्छ । त्यसमा केही शङ्का लागेमा ‘इको कार्डियोग्राफी’ गर्नु पर्छ । रगतमा ‘कोलस्ट्रोल’ र ‘सुगर’ को मात्रा कति छ भनेर हेर्नु पर्छ । आरएफटी ग¥यो भने तपाईंलाई मुटुको रोग लाग्ने सम्भावना छ÷छैन भनेर थाहा पाउन सकिन्छ । ३० वर्षदेखि मुटुको परीक्षण गर्न थाल्नुभयो भने ५० वर्षमा लाग्ने मुटुरोगलाई धकेलेर ६०/७० वर्षमा थकेल्न सकिन्छ । त्यो इसिजी मात्र गर्दा थाहा पाउन सकिन्छ । ‘कोलस्ट्रोल,’ किड्नी र सुगर हेर्दा मात्र भविष्यमा मुटुको रोग लाग्ने/नलाग्ने थाहा पाउन सकिन्छ । 


मुटुको शल्यक्रियामा कस्ता प्रविधि भित्रिएको छ ?

नेपालमा मुटुरोगको ९५ प्रतिशत उपचार सम्भव छ । मुटुलाई सपोट गर्ने एसिस्टिन डिभाइजिङ (कृत्रिम मुटु) नेपालमा हालसम्म हुन सकेको छैन । मुटुको प्रत्यारोपण हुन सकेको छैन । यी दुईबाहेक अरू मुटुरोगको उपचार नेपालमा हुने गरेको छ । मुटुको प्वाल टाल्ने र जन्मजात मुटुको जटिल शल्यक्रिया पनि नेपालमा हुने गरेको छ । तीन पटकसम्म शल्यक्रिया गर्नुपर्ने रोगको नेपालमा उपचार भइरहेको छ । मुटुको भल्ब मर्मत गर्ने, फेर्ने, मुटुको भल्ब फेर्ने रोगमा संसारमै प्रयोग हुने प्रविधि नेपालमा प्रयोग हुन्छ । अमेरिकामा प्रयोग हुने प्रविधि नेपालमा पनि हुने गरेको छ । मुटुको भल्ब दुई तीन पल्ट शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

नेपालमा ‘एनजिओप्लास्टी’ भएका बिरामीलाई जाली हालेर ठिक पार्ने, पेसमेकर हाल्ने, मुटु ढ्याक ढ्याक भएर घरमै ढल्ने रोगलाई ब्याट्री राखेर उपचार गरिन्छ । मुटुको प्वाल नचिरी तार छिराएर टाल्न सकिन्छ । ‘एनजिओग्राफी’ गर्न नमिल्ने बिरामीलाई ओपनहार्ट सर्जरी गरेर पनि उपचार गरिन्छ । त्यसलाई वाइपास शल्यक्रिया भनिन्छ । त्यसका धेरै विधि छन् । एउटा मुटु बन्द गरेर र अर्को मुटु बन्द नगरी गरिन्छ । मुटु फुटेर वा फुलेर आउने बिरामीको पनि उपचार गरिरहेका छौँ । मुटुरोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन । हामीले विदेशीको पनि शल्यक्रिया गरेका छौँ । 

मुटुलाई स्वस्थ राख्न के गर्नु पर्छ ?

मुटुलाई स्वस्थ राख्न पहिलो नम्बरमा शारीरिक व्यायाम गर्नु पर्छ । नियमित शारीरिक व्यायाम गर्नुभयो भने तपाईंलाई मुटुरोग लाग्ने सम्भावना ५० प्रतिशतले कम हुन्छ । 

के हो हृदयाघात ? 

हृदयाघात जटिल रोग हो । यो रोगमा सबै जना गम्भीर हुनु जरुरी छ । मुटुमा रक्तसञ्चारमा अवरोध भए ‘हार्टअट्याक’ हुने गर्दछ । कुनै कारणले एक्कासि मुटु बन्द हुँदा हृदयाघात हुन्छ । मुटुमा ठुलठुला तीन वटा रक्तनली हुन्छन् । त्यसले मुटुलाई रक्तसञ्चार गर्ने गर्दछ । त्यसलाई कर्नरी आर्टरी भनिन्छ । ती तीन वटामध्ये कुनै पनि नसामा अवरोध आयो भने हृदयाघात भएर मानिसको मृत्यु हुन्छ । हर्टले जसरी पम्प गरिरहेका हुन्छ, त्यसरी पम्प गर्न सक्दैन । त्यसपछि हाम्रा शरीरमा रक्तचाप घट्छ । रक्तचाप (प्रेसर) घट्नेबित्तिकै मानिस ढल्छ । प्रेसरले मानिसलाई ठिक ठाउँमा राखिरहेको हुन्छ । हृदयाघात हुनेबित्तिकै प्रेसर घटेर ८०/४० हुन सक्छ । त्यो बेला मानिस ढलिहाल्छ । त्यही बेला कसैले थाहा पाएर छाती थिच्यो वा औषधी दियो भने त्यो मानिस बाँच्न सक्छ । त्यसो गर्न सकिएन र ढलेको ढल्यै भयो भने मानिसको मृत्यु हुन्छ । 

भिडियो तथा तस्बिर : मनोजरत्न शाही र केशव गुरुङ