• ४ मंसिर २०८२, बिहिबार

हिमालमा हिउँ, तराईमा शीतले दुःख

blog

फाइल तस्बिर

यो साल चिसो छिट्टै बढेकाले माथिल्लो भेग (हिमाल) का स्थानीय पोखरा वा तल्लो भेगमा बसाइँ सर्ने तरखरमा छन् भने तराईमा पनि बाक्लो हुस्सु र शीतलहरको जोखिम बढ्ने देखिएपछि स्थानीय चिन्तित छन् । 

काठमाडौँ, मङ्सिर ४ गते । चिसो यामको सुरुवातसँगै हिमालमा हिउँले र तराईमा शीतले आमनागरिकलाई गाह्रो पार्ने पिरलो बढेको छ । सर्वोच्च शिखर सगरमाथाको फेदीस्थित सोलुखुम्बुका विभिन्न गाउँका स्थानीय कसरी जिउ जोगाउने भन्ने ध्याउन्नमा छन् । यसपालि कात्तिक महिनादेखि नै हिउँ पर्न थालेकाले माघसम्मको ठिही ज्यानले धानी नसक्ने पो हो कि भन्ने पिरलोमा गाउँवासी छन् । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले टेलिफोन सम्पर्कमा भन्नुभयो, “अत्यधिक हिमपात भयो भने हिउँपहिरो आउने चिन्ता छँदै छ, थिङ्लाको ठाडो पहिरो रोकिएको छैन, कसरी जोगिने भन्ने पिर छ ।” 

यो पहिरोको अध्ययन गरेर आसपास बस्न हुने हो कि होइन भन्ने पत्ता लगाउन काठमाडौँबाट अध्ययन टोली मगाएको अहिलेसम्म आइनपुगेको उहाँले बताउनुभयो । सेताम्मे हिउँबिच बिग्रेको टावरले गर्दा सञ्चारको पहुँच यतिबेला उच्च भेगमा छैन । यसले माथिल्लो भेगमा पुगेका गाउँले मात्र होइन, पाहुनाको जीवन पनि असुरक्षित बनाइरहेको उहाँ सुनाउनुहुन्छ । 

हिउँदमा एक मात्र भरपर्दो आवागमन हवाई उडानसमेत बन्द भइदिन्छ । विकल्पको सडकमार्ग व्यवस्थित बनाउन सकिएको छैन । त्यस्तोमा हिउँदमा आपत्विपत् परिहाल्यो भने के गर्ने भन्ने सुर्तामा गाउँले छन् । हिउँदमा परेको हिउँ खेतीका लागि औषधी सरह भए पनि कहिलेकाहीँ विपत् बनिदिन्छ । यस्तोमा गाउँलेको ज्यान जोगाउने पूर्वसूचना प्रणालीलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने चिन्ता पनि जिल्ला प्रशासन र स्थानीय सरकारको टाउको दुखाइ बन्ने गरेको छ । त्यस्तो हिमालमा उद्धार गर्न सक्ने सुरक्षाकर्मी निकै कम हुँदा बर्सेनि समस्या हुने गरेको छ । 

उता मनाङको अवस्था पनि उस्तै छ । सुन्दर पर्यटकीय क्षेत्रमा हिउँद लागेपछि पर्यटक कम आउँछन् । भएका गाउँलेका लागि भने हिउँद कहिलेकाहीँ काल जस्तै हुन्छ । २०७१ सालमा हुद्हुद् चक्रवात आँधीले १५ जनाको मृत्यु भएको ठाउँ त्यही हो । गत कात्तिकको बेमौसमी हिमपातमा दुई जनाको ज्यान गयो । झन्डै दुई हजार पाँच सय पर्यटक अलपत्र परेका थिए ।

प्रमुख जिल्ला अधिकारी नवराज पौडेल भन्नुहुन्छ, “पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमालका फेदआसपास वर्षा हुँदा बाढी पनि आउन थालेपछि दोहोरो प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ ।” यसपालि हिउँद छिट्टै लागेकाले चिसो बढ्ने सम्भावना बढेसँगै माथिल्लो भेगका स्थानीय पोखरा वा तल्लो भेगमा बसाइँ सर्ने तरखर थालिसकेका छन् । हिउँदकै मुखमा विद्युत् अवरोधको सिर्जना भएको छ । गाउँलेलाई जाडोमा न्यानो घर कसरी दिने भन्ने चिन्तामा प्रशासन र स्थानीय सरकार छ । हिउँदे विपत् आइहाल्यो भने उद्धार, राहतलाई कसरी व्यवस्थित गर्ने भनेर दिनहुँ छलफल हुन थालेको छ । 

तराईमा पनि कठिनको सङ्केत 

हिमालमा मात्र होइन, यसपाला तराईको हुस्सु कुहिरो र शीतलहर कडा हुने सङ्केत अहिले नै देखिन थालेको छ । असोज, कात्तिकको वर्षापछिको डुबानले आक्रान्त बनेका स्थानीयलाई भुइँको चिसोसँगै मौसमी चिसोले ज्यान लैजाला कि भन्ने ठुलो पीर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । असोज, कात्तिकको वर्षाले क्षतिग्रस्त बाँधबाट पानी गाउँमा आइरहेकै छ । यस्तैमा चिसोको हुस्सु र कुहिरोले भुइँ सुक्न दिएको छैन । औरहीमा निजी आवास पुनर्निर्माण हुन सकेको छैन । मानिस चिसा टहरामै बसिरहेका छन् । यादवले सुनाउनुभयो, “भुइँको चिसो नसुक्दै आकाशको शीतलहरको चपेटामा गाउँबस्ती पर्ने देखिएको छ । सात लाख २५ हजार जनसङ्ख्या रहेको महोत्तरीमा चिसोबाट कसरी जोगिने र जोगाउने भनेर पहल थालिएको उहाँले बताउनुभयो । 

रौतहटमा पनि गत साल बागमती, लालबकैया र अरू स्थानीय खोलाको बाढीले तहसनहस पारेको थियो । त्यहाँका दुई हजार ८७७ घरपरिवार असोज र कात्तिकको बेमौसमी बाढीले प्रभावित बनेका थिए । धान डुबाएको मात्र होइन, घर नै डुबेर उकासिन नसकेका बस्तीमा शीतलहरको पानी चुहिन थालिसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । चिसोमा न्यानो बनाउने दाउराको अभाव, अधिक गरिबीको रेखामुनि रहेकालाई न्यानो ओछ्यान र कपडाको अभाव कायमै देखिएको छ । 

बुधबार हिउँदे विपत् सम्भावित हिमाल र तराईका प्रमुख जिल्ला अधिकारीले यसरी नै केन्द्र सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई सुनाउनुभयो । गृहमन्त्रीसँग विपत् संवाद कार्यक्रममा दुई निकायले देशभरका लागि हिउँ र शीतलहर प्रतिकार्य योजना २०८२ लाई अन्तिम रूप दिँदै गर्दा गाउँमा के भइरहेको छ भनेर गृह मन्त्रालय र प्राधिकरणले सोधनी गरेका थिए । चिसोले प्रभावित पार्ने जिल्लाबाट आएका सुझावलाई समेत समावेश गरेर कार्यान्वयनमा लैजाने प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टराईले जवाफ दिनुभएको थियो । छलफलका क्रममा उपसचिव रामबहादुर केसीले प्रतिकार्य योजनाका बारेमा जानकारी दिँदै आमनागरिकको जिउधन जोगाउने उद्देश्यसहित विभिन्न निकायसँग सहकार्य गर्ने गरी कार्यान्वयनमा लैजाने तयारी रहेको अवगत गराउनुभयो । 

सूचना प्रणालीलाई सुदृढ पार्न जरुरी

गृहमन्त्री अर्यालले शीतलहर र हिमपात पूर्वानुमानयोग्य घटना भएकाले पूर्वसूचना प्रणालीलाई सुदृढ पार्न जरुरी रहेको बताउनुभएको छ । त्यसका लागि सबै सरोकारवाला निकायलाई सहकार्य र समन्वय गर्न उहाँले निर्देशन दिनुभयो ।  

गृहमन्त्री अर्यालले भन्नुभयो, “प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सरोकारवाला सबै निकायले एउटै प्रतिबद्धता कायम गर्दै मानव जीवन र सम्पत्तिको रक्षा गर्नु साझा उत्तरदायित्व हो ।” 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार आयोजना गरेको ‘गृहमन्त्रीसँग विपत् संवाद कार्यक्रम’ मा उहाँले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र पूर्वसूचना रेडियो, टिभी, एसएमएस, सामाजिक सञ्जाल, स्थानीय संयन्त्रलगायतका माध्यमबाट  वर्ग, क्षेत्र र समुदायलाई समयमै सचेत बनाउनुपर्ने बताउनुभयो ।

बुधबारै सार्वजनिक गरिएको शीतलहर तथा हिमपातसम्बन्धी दुई राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनमा तिनै तहको सरकार, सरोकारवाला निकाय, दातृ निकाय, सञ्चार जगत्, निजी क्षेत्र सबैको उत्तिकै जिम्मेवारी हुने उहाँको भनाइ थियो । 

शीतलहर र हिमपातका पूर्वतयारी र प्रतिकार्य एक राष्ट्रिय चुनौती भएको भन्दै मन्त्री अर्यालले कार्ययोजना कार्यान्वयनका लागि बजेटलगायतका स्रोतसाधनको व्यवस्थापन, संस्थागत क्षमता विकास, सरोकारवाला सबै निकायबिच समन्वयका लागि प्राधिकरणलाई निर्देशन दिनुभयो ।