• ८ जेठ २०८१, मङ्गलबार

भाषामा सरकारले चासो दिएन : आयोग अध्यक्ष

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २२ गते । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषाको संरक्षण र प्रवर्धनमा सरकारले चासो नदिएको बताउनुभएको छ । आयोगले बुधबार आयोजना गरेको सञ्चार माध्यममा ‘भाषा प्रयोगको अवस्था र भावी चिन्तन’ सन्दर्भमा आयोजना गरेको अन्तरिक्रयामा उहाँले त्यस्तो बताउनुभएको हो । 

सञ्चारमाध्यमलाई आवश्यक मानक दिन नसक्दा भाषामा त्रुटी भइरहेको उल्लेख गर्नुभयो । उहाँले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षकहरु अंग्रेजीमा राख्नुको औचित्य नरहेको बताउनुभयो । अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यकभन्दा बढी स्थान दिइराखिएको बताउनुभयो । 

सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाउनुभयो । भाषाको प्रयोग र सञ्चारको तागतबारेमा अझैपनि राज्य बेखबर रहेको भन्दै राज्यको उदासिनताका कारण भाषामा विकृति आइरहेको बताउनुभयो । भाषा एउटाको विकल्पमा अर्को आउने कुरा नहुने उल्लेख गर्दै नेपाली भाषालाई एउटै र शुद्ध बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । 

आयातित भाषाका कारण नेपाली भाषा ओझेलमा परिरहेको बताउनुभयो । अध्यक्ष अवस्थीले भाषाको निरन्तरता र भाषाको जीवन समायोजन भएपछि मात्रै नेपाली भाषा सही रुपमा अघि बढ्नसक्ने उल्लेख गर्नुभयो । 

अध्यक्ष अवस्थीले भन्नुभयो, ‘हामी सञ्चारजगतले भाषा बिगारेको छ भन्छौँ, सञ्चारजगत भनेको विद्यालय, विश्वविद्यालय, समाजको मानक हो तर हामीले सञ्चारजगतको लागि चाहिने मानक दिन सकेका छैनौँ ।’ भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझैपनि राज्य बेखबर रहेको उहाँको भनाइ छ । 

“सरकारले भाषालाई सम्मान गर्न सकेको छैन । नेपाली भाषालगायतका नेपाल उत्पत्तिका भाषाहरु ओझेलमा पर्दैजाने, आयातित भाषा, खास गरेर अङ्ग्रेजीले स्थान लिने कुरा हाम्रो लागि अपठ्यारो देखिन्छ” उहाँले भन्नुभयो, “अङ्ग्रेजी भनेको संविधानले नचिनेको भाषा हो । तर प्रयोग र विश्वव्यापी सम्पर्कको हिसावले आफ्नो ठाउँ ग्रहण ग¥यो त्यसमा कुनै आपत्ति भएन । तर त्यसलाई दिएको स्थान कहिलेकाहीँ हामीले अलि बढी गरिरहेका छौँ कि ?”

आफ्नो भाषालाई कम आँकलन गर्न नहुने उहाँको सुझाव छ । “हामी अङ्ग्रेजीको मोहमा प¥यौं । हाम्रो नेपालका टेलिभिजनका रेडियोका धेरैजसो शीर्षक अंग्रेजीमा हुन्छन्” अध्यक्ष अवस्थीले भन्नुभयो, “भाषा भनेको एउटाको विकल्पमा अर्को लिनेकुरा होइन । भाषा भनेको राष्ट्र, राष्ट्रियता र संस्कृतिको रक्षा कवच हो ।”

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनैपनि भ्रम पाल्न जरुरी नरहेको बताउनुभयो । आजभन्दा ४० वर्षअघि नै संस्कृतबाट आएको शब्द बाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको उहाँको भनाइ छ । सदस्यसचिव उपाध्यायले नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएकाले त्यसलाई तत्सम शब्दका रुपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले अब आगन्तुक शब्दका सन्दर्भमा कुनै पनि भ्रम पाल्न जरुरी छैन । नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएका छन्, त्यसलाई हामीले तत्सम शब्दका रुपमा स्वीकारिसकेका छौँ ।’ 

सदस्यसचिव उपाध्यायले हरेक रेडियो, टेलिभिजन, पत्रपत्रिका, शिक्षा आयोग, प्रेस काउन्सिल, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभूवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रहरुले एउटै भाषा प्रयोगका लागि शैलीपुस्तक बनाउनुपर्ने बताउनुभयो ।