• ८ साउन २०८१, मङ्गलबार

भिडियो कुराकानी

‘महाकाली नाच्दा पिटाइ पनि खानुपर्‍यो’

blog

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ 

काठमाडौं, असार २० गते। असत्यमाथि सत्यको जित देखाउने नाचको रुपमा भक्तपुरको ‘महाकाली प्याखँ’ अर्थात् महाकाली नाचलाई लिने गरिन्छ। 

भक्तपुरमा हुने धेरै नाचमध्ये महाकाली नाच एक प्रसिद्ध नाच हो। पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयम् प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रुपमासमेत महाकाली नाचलाई लिने गरिन्छ। 

इतिहास हेर्ने हो भने महाकाली नाचमा देवी नाच्ने भए पनि महिलाले नाच्न नहुने भन्ने जनविश्वास थियो। त्यस समयमा पनि महाकाली नर्तक रन्जना सितिखु भने आफ्नो पहिचान लुकाएर नाच्ने गर्नुहुन्थ्यो। तर, समाज परिवर्तनसँगै अहिले भने सबैजना खुल्नुभएको उहाँ बताउनुहुन्छ। 


आफूले महाकाली नाच सुरु गरेको दिन सम्झिदै उहाँ भन्नुहुन्छ, “महाकाली नाचको सबैले तारिफ गर्दैगर्दा त्यो नाच्ने मान्छे म हुँ भन्न सक्दिनथेँ म, नाचेर घर परिवारको इज्जत फाल्ने भए भन्दै पिटाइ पनि खाएको छु।” 

महाकाली भगवानको रुप हो, महिलामा महिनावारी हुँदा मन्दिरमा प्रवेश गर्न नहुने चलन छ, त्यसकारण पनि महिला देवी नाचमा सहभागी हुन नपाउने चलन चल्दै आएको हुनसक्ने उहाँको भनाइ छ। महाकाली नाचमा महिलालाई सहभागी गराएमा ती महिलाको घर बिग्रने, कसैले विवाह नगर्ने भन्ने विश्वास रहेको थियो। 

महाकाली नाच गठेमंगलदेखि नाच सिकाउने र गाईजात्राको दिन भक्तपुर परिक्रमा गराउने गरिन्छ। नाचमा २२ जनाको टोली हुन्छ जसमा सांस्कृतिक बाजाको तालामा मूलरूपमा महालक्ष्मी, महाकाली र कुमारीको नाच देखाउने गरिन्छ। यसबाहेक ख्याक, बेताल, भुचा, सिंह, कवान्चाहरु हुने गर्छन्। 

यस्तै, भक्तपुर नगरपालिकाले भने संस्कृति बचाउन विभिन्न कार्यक्रमको आयोजना गर्दै महाकाली नाच प्रस्तुत गर्ने गरेको छ।  

रन्जना सितिखु बहुप्रतिभाशाली, भर्सलटाइल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ। भविष्यमा सामाजिक कार्यसँगै नर्तक विद्यालय सञ्चालन गर्ने सोच बनाउनुभएकी उहाँले नेवार संस्कृति र सम्पदा बचाउका लागि निरन्तरता दिने बताउनुभयो।