• १८ असार २०८१, मङ्गलबार

बाँकेमा प्रदेश सरकारको ‘हरित सडक’ बनाउने अभियान शुरु

blog

‘हरित सडक’ अभियान अन्तर्गत वृक्षारोपणको शुभारम्भ गर्दै प्रदेश वनमन्त्री हमाल । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असार २० गते । लुम्बिनी प्रदेश सरकारले शुरु गरेको ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत बाँकेमा पनि सडकको किनार र डिभाइडरमा वृक्षरोपण गर्ने कार्य शुरु गरिएको छ । 

सो अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले नेपालगञ्ज–कोहलपुर सडकको किनार र डिभाइडरमा सोमवार वृक्षरोपण गरेर गर्नुभयो । 

‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने मुख्य उद्देश्यसहित जिल्लाको नेपालगञ्ज–कोहलपुर सडक खण्डको कोहलपुरबाट वृक्षारोपण शुरु गरिएको मन्त्री हमालले बताउनुभयो । 

उहाँले रोपिएका बिरुवाहरुको संरक्षण गर्नु राज्यको मात्र नभई स्थानीयबासीको पनि दायित्व भएको जनाउँदै त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो । 

सडक किनार र डिभाइडरमा शुरु गरिएको वृक्षरोपणको पहिलो दिन मै ८५६ वटा छतिवन जातका बिरुवा रोपिएको डिभिजन वन कार्यालय नेपालगञ्जका प्रमुख अजितकुमार कर्णले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश सरकारको लगानीमा कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत् पर्ने वडा नम्बर ८, ९ र १४ मा ८५६ वटा छतिवन जातका बिरुवा रोपिएको हो । 

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुर नगरलाई हरित नगरीको रुपमा विकास गर्ने योजना नगरपालिकाको रहेको जनाउनुभयो । उहाँले वृक्षरोपण गर्ने तर त्यसको संरक्षणमा पहल नगर्ने प्रवृत्तिलाई स्थानीय सरकारले निरुत्साहित गर्ने उल्लेख गर्दै रोपिएका बिरुवाहरुको संरक्षणमा विशेष ध्यान दिइने बताउनुभयो । 

रोपिएका बिरुवाहरुको संरक्षणका लागि तारबारको व्यवस्था गरिएको पनि कोहलपुर नगरपालिकाले जनाएको छ । 

वृक्षरोपण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, कोहलपुर नगरपालिकाका उपमेयर सङ्गीता सुवेदी र कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलगायतको सहभागिता थियो । 

विभिन्न विद्यालयका विद्यार्थीले पनि वृक्षरोपणमा सहभागिता जनाई बिरुवा रोपेका थिए ।