• १८ असार २०८१, मङ्गलबार

फोहोरबाट जैविक मल

blog

गोकर्ण पौडेल 

तुलसीपुर, असार २० गते । जिल्लाका दुई पालिकाले फोहोर व्यवस्थापनमा नयाँ अभ्यासको  सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट बायो ग्यास र जैविक मल उत्पादन सुरु गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जैविक मल उत्पादनका लागि परीक्षणमा छ । 

पालिकाहरुका लागि फोहोर व्यवस्थापनमा निकै चुनौती बन्दै गइरहेको बेला जिल्लाका दश पालिकामध्ये जुम्ल्याहा उपमहानगरपालिकाले भने नयाँ अभ्यासको सुरु गरेका हुन् । 

तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर ६ को शिवशक्ति टोलमा रहेको डम्पिङ साइड क्षेत्रमा कम्पोस्टर प्रविधिको मेसिन जडान गरिएको छ । मेसिनमा दैनिक दुई सय केजी सडेको फोहोर राख्न सकिनेछ ।

मेसिन सहयोग गर्ने एसिया फाउन्डेसन लुम्बिनी तथा कर्णाली प्रदेशका संयोजक गोविन्द बस्नेतले फोहोर राखेको १५ दिनमा धुँलोमा ४० केजी जैविक मल तयार हुनेछ । उक्त मललाई किसानहरुले अग्र्यानिक तरकारी, फलफूल अन्न उत्पादनमा प्रयोग गर्न सक्नेछन् । 

सरसफाइ तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलले दैनिक पालिकाभित्रबाट २५ टन गल्ने र नगल्ने फोहोर सङ्कलन हुने जानकारी दिनुभयो । २५ टनमध्ये १० टन गल्ने फोहोर सङ्कलन हुने गरेको छ । २८ लाखको लागतमा उक्त मेसिन जडान गरिएको हो । 

नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रमा फोहोर व्यवस्थापन निकै चुनौती रहेको अवस्थामा मेसिन जडानसँगै डम्पिङ साइड क्षेत्रको सरसफाइ र जैविक मल पर्याप्ततामा सहज हुने बताउनुभयो । उहाँले जैविक मलबाट किसानहरुले अर्ग्यानिक तरकारी, फलफूल उत्पादन गर्न सहज हुने बताउनुभयो ।

यो प्रविधिबाट भारत, बेलायतलगायतका राष्ट्रहरुमा प्रयोगमा आए पनि नेपालमा भने परीक्षणका रुपमा छ । विपद् व्यवस्थापन तथा सरसफाइ समितिका संयोजक दुजमान भण्डारीले उक्त मेसिन सञ्चालनका लागि आवश्यक पर्ने विद्युत भोल्टेज अपुग भएकाले कठिनाइ भएको र विद्युत कार्यालयको समन्वयमा थ्री फेजको लाइज जडान गरेर सञ्चालनमा ल्याइने बताउनुभयो ।