• १८ असार २०८१, मङ्गलबार

कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), असार २० गते । रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एउटै मोटरसाइकलमा सवार भारतको सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी गराउनुभयो । 

भारतीय नम्बर प्लेट युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार राति साढे ८ बजेको समयमा पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरुलाई प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल पल्टिँदा उनीहरु तीन जना घाइते भएको पनि प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मेदी हुसेनले बोकेको कालो प्लाष्टिकको झोलामा कटुवा पेस्तोल, के.एफ. ९ एम.एम. लेखिएको दुई राउण्ड गोली र एक थान चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि  थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।