• १२ असार २०८१, बुधबार

जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई

blog

काठमाडौं, असार २० गते । सरकारी विद्यालयमा पठनपाठन हुने पुस्तक निजी विद्यालयले पनि प्रयोग गर्न थालेपछि जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई भएको छ । स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त भएको जनक शिक्षा सामग्री केन्द्रलाई पछिल्लो समय सरकारी विद्यालयका पुस्तक समयमै छाप्न हम्मेहम्मे परेको थियो । हाल भने निजी विद्यालयहरुले पनि सरकारी विद्यालयमा पठपाठन हुने पुस्तकहरु प्रयोग गर्न थालेपछि  छपाइएको माग बढेको हो । 

पछिल्लो पटक माग भइआएका २० लाख पुस्तमध्ये पाँच प्रतिशत छाप्न अझै बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यको भनाइ छ । ‘पछिल्लो समय २० लाख थान पुस्तकको माग भएको छ, जसमध्ये पाँच प्रतिशत मात्र छपाइ सक्न बाँकी छ’, उहाँले भन्नुभयो, ‘यो काम १० दिनभित्र सकिन्छ ।’

आचार्यका अनुसार सामुदायिक विद्यालयले प्रयोग गरेका नेपाली, सामाजिक र अङ्ग्रेजी पुस्तकहरु निजी विद्यालयले पनि प्रयोग गर्न लागेपछि पुस्तकको माग बढ्दा छाप्न समय लागेको उहाँले बताउनुभयो ।

सरकारी पुस्तकको प्रयोग निजी विद्यालयहरुले गर्नु राम्रो भएको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारी विद्यालयमा प्रयोग भएका  केही पुस्तकहरु निजी विद्यालयमा प्रयोग भएका छन्, यो कुरा राम्रो हो । हाल निजी विद्यालयबाट पनि पुस्तकको माग बढी भएकाले पुस्तक छापेर सक्न समय लाग्ने भएको छ ।’ 

आचार्यका अनुसार हाल काठमाडौं उपत्यकाका विद्यालयबाट नै पुस्तकको माग धेरै आउनेगरेको छ । यसबाहेक इलाम, चितवन, मकवानपुर, विराटनगर, कञ्चनपुर लगायतका जिल्लाबाट पनि पुस्तकको माग बढिरहेको बताउनुभएको छ । 

हाल हुम्ला लगायतका केही हिमाली जिल्लाबाट पनि पुस्तक अभाव भएको गुनासो आउने गरे पनि ती जिल्लामा पुस्तक पठाइसकेकिएको  आचार्यले बताउनुभयो । तर ढुवानीका कारण पुस्तक पुग्न समय लागेको उहाँको भनाइ छ । ‘हिमाली केही जिल्लाबाट पुस्तकको अभाव भएको गुनासो आइरहेको छ । तर ती जिल्लामा पुस्तक पठाइसकिएको छ,’ उहाँले भन्नुभयो,‘वर्षा लागेपछि ढुवानीमा समस्या भएका कारण पुग्न सकेको छैन्।’ 

कक्षा ४, ५, ६, ७, ८, ९ र १० को अङ्ग्रेजी, सामाजिक र नेपाली विषयको पुस्तकको माग उच्च रहेको आचार्यले बताउनुभयो । पुस्तकको छपाइ सम्पन्न भएपछि ढुवानीमा पनि समय लाग्ने हुनाले विद्यार्थीको हातसम्म पुस्तक पुग्न ढिलाइ भएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।