माग्ने समस्या नेपालमा मात्र सीमित छैन। संसारभर नै फैलिएको छ भन्दा हुन्छ । विशेषगरी दक्षिण एसियाली मूलका जस्ता देखिने माग्नेहरूबाट आजित भएर बेलायतका अझ विशेष गरेर लन्डन महानगरवरिपरि चल्ने रेलहरूमा माग्नेलाई पैसा तथा अन्य वस्तु दिएर प्रोत्साहित नगर्न यात्रुवर्गमा अनुरोध गरिएका सूचना रेलभरि नै टाँसिएका देख्न पाइन्छन् । रेल, बस तथा सडकमा यसरी माग्नेका जमात देखिनु सभ्य समाजका लागि पक्कै पनि शोभाको विषय होइन । यसबाट समष्टिमा समाजको प्रतिष्ठामा नै नकारात्मक छवि निर्माण पनि हुने आशङ्का बढी नै हुन्छ । अझ डरलाग्दो पक्ष त गिरोहहरूले अशक्त, बालबालिका, महिला आदिलाई प्रयोग गरेर आफ्नो व्यवसाय चलाइरहेको हुन्छ ।
बेलायतको जस्तै ठीक यसै प्रकारको समस्या काठमाडौँ महानगर क्षेत्रमा पनि देखापर्न थालेका छन् । व्यस्त सडकमा गाडी रोकिएका बेला विशेष गरी भारतीय मूलका जस्ता देखिने यी माग्नेले मागेर हैरानै गर्ने गर्दछन् । माग्नका निम्ति यिनीहरूले गर्ने चर्तिकला पनि निकै उदेकलाग्दो नै हुन्छन् । बूढाबूढी, गर्भवती महिला, दूधे काखे बालबालिकासहित महिला, नाबालिग तथा अपाङ्ग अनेक याचना गर्छन् । खुट्टा ढोग्ने, रोइकराई गर्ने आदि कृत्य गर्नसम्म पछि नपर्ने दृश्य राजधानीका व्यस्त सडकमा हिँड्ने, गुड्ने जोसुकैका लागि आम दृश्य जस्तै बन्न थालेको छ । यस्ता दृश्यहरूबाट मुलुक र सहर विशेषगरी विदेशीका आँखामा मगन्तेको अखडाका रूपमा परिचित हुन थाल्नु अस्वाभाविक होइन । यो क्रमशः जटिल समस्या बन्दै गएको देखिएकै हो । यसलाई समयमा नै नियन्त्रण गर्नु अति आवश्यक भएको कसैबाट लुकेको छिपेको छैन, होइन ।
माग्नेबाट हुँदै आएको बढ्दो समस्यालाई काठमाडौँ महानगरपालिकाले सम्बोधन गरेको छ । सडक, गल्ली, पार्क, सवारीसाधन र बिसौनी स्थल, सरकारी कार्यालय परिसरलगायतका क्षेत्रमा माग्न प्रतिबन्ध लगाएको छ । माग्ने क्रममा बालबालिकालाई प्रयोग गरेर गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई रकम÷ज्याला दिई माग्ने वा माग्न लगाउने कार्यसमेत परेका छन् र ती कार्य महानगरपालिकाले निषेध गरेको छ । माग्नेको हैरानी हेर्दा काठमाडौंँ महानगरपालिकाले यो कार्य निकै अघिबाट प्रारम्भ गर्नुपर्ने थियो, तर ढिलै भए पनि सार्वजनिक स्थललाई सुसभ्य बनाउने प्रयास थालिएको छ । यसलाई निकै सकारात्मक कदमका रूपमा लिनुपर्दछ । महानगरको यस कदमबाट भारतीय मूलका मगन्तेहरूको सङ्ख्यामा निकै कमी आउन सक्ने विश्वास गर्न सकिन्छ । यसका निम्ति नियमित अनुगमन तथा निरीक्षण भने अति नै जरुरी भने हुन्छ नै । विगतमा यस सम्बन्धमा विभिन्न नीतिनियम सार्वजनिक गरिए पनि तिनका सही तथा दृढ कार्यान्वयन हुन नसक्दा यस्ता समस्याले जरो गाड्दै गरेको देखिएकै हो ।
काठमाडौँ उपत्यकामा भारतीय मूलका मगन्ते बग्रेल्ती देखिनुमा यस कार्यमा गिरोहको सक्रियता रहेको जानकारीमा आउने गरेको छ । यसका लागि भारतको राजस्थानलगायतका स्थानबाट भाडामा ल्याइएका मगन्तेलाई माग्न लगाएर उनीहरूलाई निश्चित रकम दिएर बाँकी सबै रकम गिरोहका नाइकेले असुल्ने गरेका प्रवृत्ति सार्वजनिक भएको छ । यसरी नेपाल ल्याइएका भारतीय मगन्तेलाई स्वदेश फर्काउने सम्बन्धमा सरकारी निकायबाट उपयुक्त पहल हुनु पनि त्यत्तिकै जरुरी छ । यसका अतिरिक्त नेपाल–भारत सीमा नाकाहरूबाट यी मगन्तेका जमातलाई नेपाल भित्रिन नदिन सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइँदा यो समस्या नियन्त्रणमा सहयोग पुग्नेछ ।
मगन्तेहरूबाट देशको प्रतिष्ठा तथा छविमा नकारात्मक प्रभाव पर्नुका साथै आयातीत व्यक्तिका कारण सहरको शान्ति, सुव्यवस्थामा समेत असर पर्न सक्छ । वास्तवमै सहयोगको आवश्यकता भएका व्यक्तिका लागि महानगरले विभिन्न समाजसेवी सङ्घसंस्थासँग गरिरहेका सहकार्य तथा समन्वयलाई अझै गहन तथा गम्भीर रूपमा अघि बढाउनुपर्नेमा दुईमत देखिँदैन । यस्ता समाजोपयोगी कार्य अगाडि बढाउन नसकिए सडकमा सहयोगापेक्षीहरूको सङ्ख्यामा कमी आउनेछ । वास्तविक समस्या भएका नेपालीलाई माग्न बाध्य नबनाई संरक्षण गर्नुपर्ने आवश्यकता भने छ । सुन्दर, सभ्य महानगरको परिकल्पना साकार पार्न सम्बन्धित निकायले
आ–आफ्ना जिम्मेवारी उपयुक्त तवरले सम्पादन गर्नु अनिवार्य भएजस्तै सर्वसाधारणले पनि यस्ता मगन्तेलाई पैसालगायत दिन हुँदैन । महानगरले विकल्पसहित दिएको यो नयाँ अभियानलाई सफल बनाउनु सबैको कर्तव्य हुन आउँछ ।