• ११ मंसिर २०८२, बिहिबार

लैङ्गिक हिंसाको चिन्ता

blog

लैङ्गिक हिंसा विश्वकै समस्या हो । यो हिंसा विभिन्न रूपमा देखा परेको छ । धनी तथा गरिब सबै मुलुकका लागि समस्या बनेको लैङ्गिक हिंसा कम गर्न विभिन्न कार्यक्रम सञ्चालित छन् । शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गका आधारमा हुने हिंसा यस अन्तर्गत पर्छन् । नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ भनेको छ । सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्यसमेतलाई जनाएको छ । महिलालाई कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रूपमा घाउ, चोटपटक वा क्षति पुग्ने गरी गरिने हिंसा शारीरिक हिंसा हो । शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, अपशब्द बोल्ने, अरूका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छाविपरीत काम गर्न लगाउने साथै वैचारिक, धार्मिक, सांस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई मानसिक हिंसाका रूपमा लिइएको छ । 

सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसा बालविवाह, बोक्सीको आरोप, झुमा, देउकी, बादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडी इत्यादि सामाजिक सांस्कृतिक हिंसा हुन् । काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौन शोषण, जबरजस्ती संवेदनशील अङ्ग छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र, फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटना यौनिक हिंसा भित्र पर्छन् । यौनिक हिंसाको धेरै जसो घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ । नेपाल जस्तो सामाजिक संरचनाले निर्देशित देशमा लैङ्गिक हिंसा कुनै व्यक्तिगत नभई प्रणालीगत कमजोरीको परिणाम हो । हिंसाका स्वरूप घर, विद्यालय, कार्यस्थल, सार्वजनिक स्थानदेखि अनलाइनसम्म फैलिएका छन् । १६ दिने अभियानले समाजमा हिंसा छ भन्ने यथार्थलाई सार्वजनिक विमर्शको केन्द्रमा ल्याइदिएको छ । 

लैङ्गिक हिंसा व्यक्तिगत होइन सामाजिक समस्या हो । हिंसा गर्नेको उद्देश्य पीडितलाई मात्र दबाउनु होइन, सम्पूर्ण समाजलाई डर, मौनता र असमानताको संस्कारमा बाँधिराख्नु हो । प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको मङ्गलबार शुभारम्भ गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि समाजलाई जगाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभए जस्तै हामीकहाँ लैङ्गिक हिंसाविरुद्धका कानुन भए पनि कार्यान्वयन हुँदैन । हिंसा हुन्छ तर निवारण हँुदैन । हिंसाको अन्त्य गर्न समाजलाई जगाउनु पर्छ । नेपालमा २०४६ को आन्दोलनपछि कानुनमा ठुलो परिवर्तन आएको छ । लैङ्गिक समानताका लागि विभिन्न कानुन बनाइएका छन् र पुराना कानुन संशोधन गरिएका छन् । परिवर्तित सन्दर्भमा नेपालका महिला राष्ट्रपति, प्रधानमन्त्री, मुख्य सचिव, प्रधानन्यायाधीश बनिसकेको छन् । तैपनि महिला समानताका कुरामा कानुन कार्यान्वयन कमजोर छ । विश्वमा सन् १९९१ देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरियो । नेपाल सरकारको २०७५ कात्तिक १० गतेको निर्णय अनुसार हरेक वर्ष यो अभियान मनाउने गर्छ । महिलाविरुद्ध हुनै सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलाई नेपालले सन् १९९१ मा अनुमोदन गरिसकेको छ । संयुक्त राष्ट्रसङ्घले यसै अभियानकै क्रममा सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको हत्या हुने गरेको छ । यो सबैका लागि चिन्ताको विषय हो । त्यसैले सबै मिलेर सामाजिक जागरण ल्याएर लैङ्गिक हिंसा अन्त्य गर्नु आजको प्रमुख आवश्यकता हो ।