• ८ जेठ २०८१, मङ्गलबार

माया गरौँ देशको (कविता)

blog

कृष्णप्रसाद पौडेल

 

जागौँ उत्तम सोचले मगजले, माया गरौँ देशको ।

लम्कौँ जाँगरले गरौँ प्रगति त्यो, भाषा कला भेषको ।।

राख्छौँ चाख विकासको यदि भने, जुट्छन् सबै सज्जन ।

भ्रष्टाचार हटेर जान्छ सहजै, चाहिन्न कालो धन ।।


राम्रा प्रौढ भला युवा र युवती, श्रीखण्ड हुन् देशका ।

स‍ोझा शिक्षित योग्य भद्र अगुवा, श्रीवत्स हुन् राष्ट्रका ।।

नेता सेवक सभ्य छन् यदि भने, मिल्ला उज्यालोपन ।

भ्रष्टाचार सकिन्छ रोक्न सहजै, मिल्नेछ उच्चासन ।।


जागोस् उत्तम रोजगार थलमा, सौदा बनोस् सुन्दर ।

हाम्रो देश भनी युवा र युवती, फर्केर आऊन् घर ।।

हाम्रो भूमि महेशको महलझैँ, सौन्दर्यले उच्च छ ।

भ्रष्टाचार हट्यो भने मुलुकको, बाधा दशा हट्दछ ।।


हाम्रो देश रमाइलो विपिन हो, श्रीखण्डको बाग हो ।

ज्ञानी गौतम राम कृष्ण जनका, यो विश्वको धाम हो ।।

यस्तो लौकिक धाम मिल्छ र कहाँ, नेपाल भन्दा पर ।

भ्रष्टाचार हटाउने कदमको, वाचा सबैले गर ।।

हाम्रा मानिस सर्व क्षेत्र भवका, बन्छन् भने कर्मठ ।

सारा भ्रष्ट दलाल दुष्ट मनुवा, हट्छन् हरामी शठ ।।

नेता शासक गण्यमान्य जनता, जागून् उँचो भावले ।

भ्रष्टाचार हटेर जान्छ सहजै, मान्छे चलून् तर्कले ।।


गोष्ठी भेट चुनाव भाषण सभा, वार्ता र सौदा भए ।

मौका छोप्न सिपालु धूर्त मनुवा, हर्ता र कर्ता भए ।।

यस्तो चाल नहोस् कवै मुलुकमा, जागून खुबै सज्जन ।

भ्रष्टाचार हटेर जान्छ सहजै, भागून सबै दुर्जन ।।–