राममणि दाहाल
मकवानपुर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । हेटौँडामा आइतबार भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा दुई सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारसहित छ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभा र स्थानीय तहबाट गरी कुल छ हजार २३९ मतभारसहित निर्वाचित हुनुभएको हो । अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभा र स्थानीय तहबाट गरी मतभार छ हजार २०५ प्राप्त गर्दै निर्वाचित हुनुभएको प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गर्दा नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभएको थियो । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभएको थियो ।
बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाता मतदानमा सहभागी भएका थिए ।
प्रदेश सभा सदस्यको मतभार ५३ र नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहेको छ । तर बागमती प्रदेश सभामा ११० जना प्रदेश सभा सदस्य रहेकोमा छ जना प्रदेश सभा सदस्यले राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ ।
यस्तै यस प्रदेशमा ११९ स्थानीय तह रहेकोमा तीन वटा स्थानीय तहका नगर प्रमुखले राजीनामा र कांग्रेसबाट निर्वाचित नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलिम्बित हुनुभएको छ ।