इनरुवा समाचारदाता
इनरुवा, माघ १२ गते । भोक्राहा नरसिंह गाउँपालिका–४ की २४ वर्षीय रुबी खातुनलाई विवाहमा मागेजति दाइजो नदिएका कारणले घरपरिवारले झुन्ड्याएर हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । ज्वाइँ वैदेशिक रोजगारमा रहेको मौकामा विगतदेखि माग्दै आएको दाइजोको सरसामान, गरगहना र जग्गा नल्याएको भन्दै सासू र ससुरा मिलेर रुबीको हत्या गरेको रुबीका ५० वर्षीय बुवा अजमल अन्सारीको आरोप छ ।
अन्सारीले आफ्नो छोरीको ससुरा भोक्राहा नरसिंह गाउँपालिका–४ का ५५ वर्षीय दाउद मियाँ र सासू ५० वर्षीय जलेशा खातुनले झुन्ड्याएर हत्या गरेको दाबी गर्नुभयो । परिवारले मारेर झुन्ड्याए पनि आत्महत्या भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरीसमेत लिन नमानेको अन्सारीको गुनासो छ ।
छोरी रुबीको हत्या गरेको घटना बाहिर नभन्नका लागि नातिलाई १२० रुपियाँको प्रलोभन दिएकोसमेत खुलेको मृतकका बुवा अन्सारीले बताउनुभयो । मृतक रुबी खातुनका पाँच वर्षीय छोरा सुफियान अन्सारीले आफू र बहिनी दुई वर्षीय आसिनालाई १२० रुपियाँको प्रलोभन दिएर यो मारेको घटना कसैलाई नभन्न भनेको बताउनुभयो ।
मृतकका आफन्तले दाइजोमा मागेको महँगो मोटरसाइकल र पाँच कट्ठा जग्गा नदिएको निहुँमा हत्या गरेको दाबी गर्दै न्यायको माग गरेका छन् । माघ ३ गते बिहान ५ बजेको समयमा झुन्डिएको अवस्थामा रुबीको शव फेला परेको थियो । रुबीको विवाह भोक्राहा नरसिंह–४ का अबुल हसन मियाँसँग भएको थियो । उहाँरूरुका एक छोरा र एक छोरी छन् । अन्सारीले भन्नुभयो, “बारम्बार मेरी छोरीलाई दुःख दिने, कुटपिट गर्ने खानलाउन पनि नदिई दुःख दिने गरेका थिए । दाइजोमा गाडी र जग्गा खोइ ल्याएको भन्दै यातना दिने गरेपछि बारम्बार पन्चायती र छलफलबाट समाधान हुँदै आएको थियो । अहिले त हत्या नै गरिदिएछन् ।”
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले हत्या वा आत्महत्याको सवाल यकिन गर्न पोस्टमार्टमको रिपोर्ट अनुसार अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।