महेशकुमार दास
जलेश्वर, माघ १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक हुने भएको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी ४१ जना उम्मेदवार क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रेपछि प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको राजनीतिका जानकार तथा सेवा निवृत्त सहप्राध्यापक ध्रुव रायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “क्षेत्र नं. ३ मा मूलतः नेपाली कांग्रेसका बजरङ्ग नेपाली, नेकपा (एमाले) का मनोज सिंह, जनता समाजवादी पार्टी नेपालका मिनाक्षी ठाकुर झा, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वल झा र स्वतन्त्र उम्मेदवार रामआधार कापरबिच कडा प्रतिस्पर्धा हुने रायको अनुमान छ ।” उहाँले निर्वाचनका लागि मतदातामा उत्साह रहेको भन्दै योग्य उम्मेदवार चयन गर्न मतदाता कुनै भुलभुलैयामा पर्न नहुने बताउनुभयो ।
दलहरूका शीर्ष नेताले मनोनयन दर्ताको मुखमै आएर उम्मेदवार हेरफेर गरेपछि असन्तुष्टि पोख्दै स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाले प्रतिस्पर्धा झनै चुनौतीपूर्ण बनाएको बताउनुभयो ।
उम्मेदवारहरू शिक्षा, स्वास्थ्य, कृषि, सडक, पुलपुलेसा र रोजगार जस्ता आधारभूत आवश्यकताकै एजेन्डा बोकेर मतदाता रिझाउन ढोका ढोकामा पुग्न थालेका छन् ।
तर मतदाता भने पुराना एजेन्डा लिएर आउनेलाई मतदान गर्ने मुडमा देखिँदैनन् । २०७४ र २०७९ सालमा भएको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष हाल जसपा नेपालका संरक्षक महन्थ ठाकुर विजयी हुनुभएको थियो ।
तर ठाकुरको यात्रा राष्ट्रिय सभातिर मोडिएपछि मनोयन दर्ताको अन्तिम समयमा जसपाबाट पार्टीका संरक्षक ठाकुरले आफ्नी छोरी डाक्टर मिनाक्षी ठाकुरलाई जसपा नेपालको तर्फबाट उम्मेदवार बनाउनुभयो । संरक्षक ठाकुरले आफ्नी छोरीलाई उम्मेदवारका रूपमा उभ्याएपछि जसपा पार्टीकै नेता तथा पूर्वकृषिमन्त्री हरिनारायण यादवले पार्टीमा परिवारवाद हाबी भएको भन्दै स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएर चुनौती दिनुभएको छ ।
२०७९ सालको चुनावमा पनि ठाकुरको मुख्य प्रतिस्पर्धा यादवसँग नै भएको थियो तर यस पटक लोसपा र जसपा पार्टी एकीकरणपछि क्षेत्र नं. ३ मा टिकटका आकाङ्क्षी रहेका यादवलाई टिकट नदिई डा. मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि यादव असन्तुष्ट बन्नुभएको हो ।
स्वतन्त्र उम्मेदवार यादवले जसपा पार्टीले कहीँ कुनै सिफारिस नै नभएका उम्मेदवारलाई उभ्याउनु पार्टी विधानविपरीत भएको तर्क गर्दै संरक्षक ठाकुरले महिलाको नाउँमा आफ्नै छोरी डा. ठाकुरलाई उम्मेदवार बनाउनु खेदजनक कार्य भएको बताउनुभयो । पार्टीको साधारण सदस्यता समेत नलिएकालाई उम्मेदवार बनाउनु नै गलत भएको दाबी गर्नुहुँदै आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको यादवले स्पष्ट पार्नुभयो ।
तर डा. ठाकुरले विगतमा पार्टी संरक्षक महन्थ ठाकुरले सुनिश्चित गर्नुभएका अधिकारलाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारलाई मूल एजेन्डा बनाएर चुनावमा होमिएका पनि बताउनुभयो ।
संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य र जलेश्वर नगरपालिकाको प्रमुखमा पटक पटक चुनावी प्रतिस्पर्धामा रहँदै आउनुभएका नेकपा (एमाले) का नेता रामआधार कापरले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले एमालेबाट आफ्नो एकल नाम सिफारिस भएको भए पनि टिकट नपाउनुका कारण बुझ्न नसकेको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी समाजका लागि भएको बताउनुभयो ।
२०७४ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी नै नदिई औपचारिक रूपले महन्थ ठाकुर र उनका पार्टीलाई सघाउँदै आएका थिए तर यस पटक नेपाली कांग्रेसबाट बजरङ्ग नेपालीले मनोनयन दर्ता गराएपछि उहाँसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलागेको छ । कांग्रेस नेता नेपालीलाई पनि जितका लागि दुई चोटी जित्न सहयोग गरेको महन्थ ठाकुरकी छोरी डा. मिनाक्षीसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
उहाँले किसानको समस्या, अतिवृष्टि, अनावृष्टि बाढीको समस्या, सुक्खाको समस्या, चुरे संरक्षण, स्वास्थ्य, शिक्षा कमजोर अवस्थामा सुधार, सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि आफ्नो उम्मेदवारी रहेको नेता नेपालीले बताउनुभयो ।
२०७९ मा भएको प्रदेश सभाको निर्वाचनमा क्षेत्र ३ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिई पराजय भएपछि जसपा प्रवेश गरी दलीय राजनीतिमा लागेका उज्ज्वल झा चुनावको मुखमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट हात पारेर उम्मेदवारी दिनुभएको छ । उहाँले पुरानो उम्मेदवारहरूका विरुद्ध केही नयाँ गरेर देखाउने विश्वासका साथ रास्वपाबाट उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । रास्वपाको वरिष्ठ नेता बालेन्द्र साहको पुख्र्यौली गाउँ एकडारा गाउँपालिका घर भएका उज्ज्वल झालाई उम्मेदवार बनाएपछि क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा झनै पेचिलो बन्न पुगेको छ ।
कुल ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी एक लाख १० हजार ४३६ मतदाता रहेको यस क्षेत्रमा ४१ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेकपा (एमाले) जनमत, राप्रपा, आम जनता जस्ता अन्य पार्टीबाट केही नयाँ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।