हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको १६ मतदानस्थल तथा थासाङ गाउँपालिका –५ मतदानस्थलसहित घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका मतदानस्थल छन् ।
उपल्लो मुस्ताङमा प्रमुख जिल्ला अधिकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माको नेतृत्वमा सुरक्षा समिति र निर्वाचन कार्यालयको टोलीले निर्वाचनस्थलको अनुगमन तथा सुरक्षासहित आवश्यक तयारीबारेमा निरीक्षण गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रजिअ शर्मा, प्रहरी नायव उपरीक्षक छिरिङ कृपा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक भेषराज गिरी, राष्ट्रि«य अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, कोष नियन्त्रण अनुगमन अधिकृत शालिकराम सापकोटासहित जिल्ला निर्वाचन ब्यवस्थापन समितिले ३९ मतदानस्थलमध्ये अब १२ मतदानस्थलको निरीक्षण गर्न बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।
अनुगमनसँगै स्थानीयबासीसँग तथा गाउँमा रहेका स्थानीय जनप्रतिनिधिसँग समेत बस्तुस्थिति बारेमा जानकारी गराउने गरिएको छ । निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानी लगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको छ । मनोनयनदर्ता पछि चुनावी अभियानमा राजनीतिक दल जुटेसँगै जिल्लामा चुनावी माहोल देखिन थालेको छ ।
कठ्याङ्ग्रिँदो चिसोसँगै बस्ती सुनसान रहेको माथिल्लो क्षेत्रमा चहलपहल नभए पनि तल्लो मुस्ताङमा दलका नेताहरुले भेटघाटलाई तिब्रता दिएका छन् । जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।