• १२ माघ २०८२, सोमबार

पुराना पार्टीका नयाँ अनुहारबिच प्रतिस्पर्धा

blog

राजकुमार भट्टराई

खोटाङ, माघ १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट १५ जनाले मनोनयन दर्ता गरे पनि २०७९ मा भएको चुनावको मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपि नयाँ पार्टीले पनि उत्तिकै चुनौती दिने देखिन्छ ।  

विसं २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनबाट नेकपा माओवादीका रामकुमार राई निर्वाचित भएका थिए । राईले ३१ हजार ३५१ मत ल्याएर विजयी हुँदा नेकपा (एमाले) का विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको थियो । यस्तै जनता समाजवादी नेपाल पार्टीका डाक्टर कृष्णकुमार राईले एक हजार ९१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले एक हजार ७६१ मत प्राप्त गर्नुभएको थियो । 

प्रत्यक्षतर्फको उम्मेदवारमा पराजित भए पनि समानुपातिकमा सबैभन्दा धेरै  मत नेकपा (एमाले) ले प्राप्त गरेको थियो । एमालेको २४ हजार २७१, नेपाली कांग्रेसको १८ हजार ६७२, नेकपा (माओवादी केन्द्र) को ११ हजार ८४५, एकीकृत समाजवादीको तीन हजार ३६३, जनता समाजवादी नेपालको दुई हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २५५ मत समानुपातिकमा आएको थियो । तत्कालीन अवस्थामा जिल्लामा सङ्गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा पनि समानुपातिकतर्फ एक हजार ४९७ मत आएको थियो । 

यसरी अघिल्लो निर्वाचनलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको थियो तर यस पटकको अवस्था पहिलेको जस्तो छैन । केही नयाँ पार्टीले जिल्लामा सङ्गठन बनाउँदै गएका छन् । देशकै राजनीतिक घटनाक्रम पनि बदलिँदो छ । २०५६ सालदेखि लगातार चुनावमा उठ्दै आउनुभएका भट्टराई यस पटक पछि हट्नुभएको छ ।  एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई अगाडि सारेको छ । अघिल्लो पटकको चुनावमा एमालेले ल्याएको मतका आधारमा यस पटक पनि पार्टीले जित हुने एमालेजनको आकलन छ । 

यस्तै २०७९ को चुनावमा गठबन्धनका कारण आफ्नो उम्मेदवार उठाउन नपाएको नेपाली कांग्रेसले यस पटक महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ । गुटगत राजनीतिले ग्रसित नेपाली कांग्रेस यस पटकको चुनावमा भने एक ठाउँमा खडा भएर राईको उम्मेदवारीलाई सबैले स्विकारेको अवस्था देखिन्छ । यसरी कांग्रेस एक ठाउँमा उभिएर चुनावमा होमिँदा जित निकाल्न सक्ने कांग्रेसजनको दाबी छ । 

यस्तै राजनीतिक अर्थशास्त्री डाक्टर हरि रोकालाई उम्मेदवार बनाएको नेपाली कम्युनिस्ट पार्टी पनि जित निकाल्न उत्साहित देखिन्छ । साङ्गठनिक रूपले एमाले र कांग्रेसभन्दा जिल्लामा केही कमजोर भए पनि उम्मेदवारका आधारमा जित आफूहरूको पक्षमा हुने नेपाली कम्युनिस्ट पार्टीजनको दाबी छ । 

जिल्लाको दुई प्रदेश सभा सदस्यमध्ये  क मा एमालेका पाँचकर्ण राई र ख मा कांग्रेसका भूपेन्द्र राई रहेका छन् । दुई नगरपालिकासहित १० स्थानीय तह रहेको खोटाङमा सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि छन् । दुई नगरपालिका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेपाली कम्युनिस्ट पार्टीका छन् । दुई गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपप्रमुख र १९ वडाध्यक्ष नेकपा (एमाले) का रहेका छन् । यस्तै एक गाउँपालिका उपप्रमुख र दुई वडाध्यक्ष जसपाका रहेका छन् । एक वडाध्यक्ष भने कांग्रेसका बागी उम्मेदवारले जितेका छन् । 

पहिलो पटक जिल्लामा सङ्गठन विस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वातन्त्र पार्टी र भर्खर दर्ता भएर चुनावमा आएका श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि पुराना राजनीतिक दललाई चुनौती दिने छन् । देशको बदलिँदो राजनीति र युवाको समर्थन रहेको राष्ट्रिय स्वातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले खोटाङमा राम्रै मत ल्याउने आकलन गरिएको छ । रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृतिबाट आरेन राई उम्मेदवार छन् । खोटाङ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको जन्मस्थल पनि भएकाले राम्रै मत ल्याउने आकलन गरिएको हो । यस्तै जेनजी युवाले दर्ता गराएका राष्ट्रिय परिवर्तन पार्टीले पनि जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाएको छ । कुलमान घिसिङ केन्द्रीय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको पनि साझा उम्मेदवार राई रहेकाले उहाँको पक्षमा पनि राम्रै मत आउने आकलन गरिन्छ ।

अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा छ । जिल्लाका उम्मेदवार नै अहिले पार्टी छाडिसकेका छन् । विभाजन भएको जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनील चाम्लिङ उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले अहिले दीपक तामाङलाई उम्मेदवार बनाएको छ । 

खोटाङका अन्य उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर बुढाथोकी, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ र स्वतन्त्र उम्मेदवारका रूपमा डाक्टर राजकुमार राई र तिलकचन्द्र राई रहेका छन् । 

खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । १० स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।