• ७ जेठ २०८१, सोमबार

निर्माणाधीन स्याल्तडी–लालीबगर सडक

चट्टानी भीर काट्दै नेपाली सेना

blog

स्याल्तडी–लालीबगर सडकखण्डको चट्टानी भीरमा काम गर्दै सेना र कामदार । तस्बिर : राजन रावत

हुम्ला, असार १८  गते  । कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड अन्तर्गत स्याल्तडी–लालीबगरको कडा चट्टानी भीरमा ट्र्याक खोल्ने कार्यलाई नेपाली सेनाले तीव्र पारेको छ । सो खण्डमा सेनाले चट्टान विस्फोट गर्दै मेसिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगाडि बढाएको छ ।सडकका राजेश रोकायाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम भइरहेको बताउनुभयो ।

सो खण्डमा विस्फोटका लागि मेसिनबाट होल खोप्ने, विस्फोटपछि ढुङ्गा पन्छाउने र तारजाली भर्ने काम एकसाथ भइरहेको छ । अग्लो असजिलो चट्टानी भीरमा डोरी शरीरमा बाँधेर कामदारले होल खोप्ने र विस्फोट भएका ढुङ्गा पन्छाउने कार्य भइरहेको छ । नेपाली सेनाको कर्णाली कोरिडोर विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोखरेलले यस वर्ष सेनाले जिम्मा पाएको तीन किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएको बताउनुभयो । 

कोरिडोरको हुम्ला र कालीकोट बाजुरा क्षेत्रको घाटापारी क्षेत्र गरी तीन किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी सेनाले पाएको थियो । हुम्ला सडकखण्डको स्याल्तडीदेखि लालीबगरको ११ किलोमिटर सडकमा अहिले काम भइरहेको जनाइएको छ । एक किलोमिटरभन्दा बढी सडक हुम्ला खण्डको सेनाले निर्माण गरेको छ । यस्तै घाटापारि क्षेत्रको ११ किलोमिटर सडकमा पनि सेनाले काम गरिरहेको छ ।

उहाँले हुम्ला खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । हाल लालीबगर–ल्याप्चे क्षेत्रका पाँचवटा स्थानमा सडक निर्माणकार्य भइरहेको छ । यसमा ११ वटा कम्प्रेसर मेसिनबाट काम भइरहेको बताइएको छ । दुई सय पचास जना हुम्ला खण्ड र पचास जना कालीकोट बाजुरा गरी तीन सय जना कामदारले दुवै खण्डमा काम गर्दै आएको योजना प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

हुम्ला खण्डमा सेनाले दैनिकजसो कडा चट्टानलाई विस्फोट गर्ने कार्यसमेत गरिरहेको छ । उहाँले त्योसंगै मेसिनबाट सडक निर्माण गर्ने र कामदारबाट ग्याबिन लगाउने कार्यसमेत सँगसँगै भइरहेको बताउनुभयो । कोरिडोरको हुम्ला खण्डमा ठाउँ–ठाउँमा गरी तीन किलोमिटर क्षेत्र चट्टानी भाग छ । ती सबै चट्टानी भागमा विस्फोट गर्ने कार्य भइरहेको छ ।

तीस मिटर अग्लो चट्टानलाई विस्फोट गरेर आठ मिटर चौडा सडक निर्माण गर्नुपर्ने सेनालाई चुनौती छ । सरकारले आर्थिक वर्ष २०७९/८० सम्ममा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको छ । यसअघि कोरिडोरकै कालीकोटको खुलालु, लैफु हुँदै हुम्लाको सलीसल्लासम्मको १२२ किलोमिटर सडक निर्माण गरेर सेनाले गत वर्ष असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।