वेलिङ्टन, मङ्सिर १ गते । न्यूजिल्यान्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्याङ्क विभागले सोमबार जनाएको छ । आकडाका अनुसार, खाद्य मूल्य वृद्धिमा किराना सामग्री समूह प्रमुख रहेको छ, जसको मूल्य ४.९ प्रतिशतले बढेको छ ।
त्यस्तै, मासु, कुखुरा र माछाको मूल्य ७.६ प्रतिशतले वृद्धि भएको छ । दूध १३.५ प्रतिशत, तत्काल पिउन मिल्ने कफी २५.५ प्रतिशत, चीज ३०.१ प्रतिशत र ताजा अण्डा १८.५ प्रतिशतले महँगो भएको तथ्याङ्कमा उल्लेख छ । “बिहानको खाजामा अण्डा र कफी सेवन गर्नेले यी वस्तु महँगो भएको महसुस गर्न सक्ने छन्,” राष्ट्रिय तथ्याङ्क विभागका मूल्य विश्लेषक निकोल ग्रोडेनले बताउनुभयो ।
वार्षिक मूल्य वृद्धिका बावजुद, अक्टोबर महिनामा सेप्टेम्बरको तुलनामा खाद्य सामग्रीको मूल्य ०.३ प्रतिशतले घटेको छ । यसको मुख्य कारण तरकारीको मूल्य १०.७ प्रतिशतले घट्नु हो, जुन नवेम्बर सन् २०२१ पछि सबैभन्दा ठुलो मासिक गिरावट हो ।
त्यस्तै, बिजुली र ग्यासको मूल्य पनि बढ्दै गएको छ । अक्टोबर सन् २०२५ सम्म १२ महिनामा बिजुली ११.८ प्रतिशत र ग्यास १४.४ प्रतिशतले वृद्धि भएको छ । मासिक रूपमा बिजुलीको मूल्य ०.५ प्रतिशत र ग्यासको मूल्य १.९ प्रतिशतले बढेको देखिएको छ ।
यसरी दुबै साधनको मूल्य लगातार ११ महिनादेखि बढ्दै गएको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । यस मूल्य वृद्धिले सामान्य नागरिकको दैनिक जीवनमा असर पुर्याएको छ । विशेष गरी दूध, अण्डा, कफी र चिजको मूल्य वृद्धिले खानपिनका वस्तु महँगो भएको महसुस गराएको छ । रासस/सिन्ह्वा