• १ मंसिर २०८२, सोमबार

चिसोले जमेर बरफ बन्यो पञ्चकुण्ड ताल

blog

आधार शिविर स्थित जमेको पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको दृश्य । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,मङ्सिर १ गते। म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल चिसोले जमेर बरफ बनेको छ। 

समुद्री सतह देखि चार हजार पचास मिटरको उचाईमा रहेको यस ताल कात्तिकको दोस्रो हप्ता परेको हिमपातका कारण अत्याधिक चिसो बढेसँगै तालको पानी जमेर बरफ बनेको हो। 

ताल जमेर बरफ बनेपछि अन्नपूर्ण आधार शिविरको पदयात्रामा पुगेका पर्यटकहरु जमेको तालमा हिड्दै रमाइलो गर्न थालेका छन्। अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको सुन्दर पञ्चकुण्ड ताल रहेको छ। यो ताल आधार शिविर आउने पर्यटकका लागि मुख्य आकर्षक हो। 

वरपर हिउँले ढाकेको सेताम्मे हिमाल र जमेर बरफ बनेको पञ्चकुण्ड तालले यस क्षेत्रलाई मनोमहक बनाएको आधार शिविरको पदयात्रामा जानुभएका बेनीका जगत बानियाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘वरपरका डाँडाकाडाहरु हिउँले ढाकेर सेताम्मे भएका छन्। बरफ बनेर जमेको ताल सुन्दर देखिएको छ। जमेको ताल माथि हिड्दा रमाइलो अनुभूति भयो।’’ 

चिसो बढेसँगै अन्नपूर्ण पदयात्रामा जाने पर्यटकको सख्ंयामा कमि आएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा पर्यटनकर्मी तेजबहादुर गुरुङले बताउनुभयो। 

दशैं,तिहार र छठपर्व विदाका अवसरमा दैनिक रुपमा दुईसय देखि तीनसय सम्म पर्यटक आएकोमा यतिखेर दैनिक रुपमा पचासको हाराहारीमा मौरिस हर्जोग पदमार्ग हुँदै आधार शिविर पुग्ने गरेको उहाँले बताउनुभयो। 

नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्दै  दुईदिनमा आधार शिविर पुग्न सकिन्छ। 

हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसकेट मेला, सुनखोला, पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण गरिएको छ । पर्यटकको सुविधाका लागि हुमखोला देखि माथि पञ्चकुण्ड ताल सम्म गरेर विभिन्न स्थानहरुमा होटल तथा रेष्टुरेन्ट,चिया,कफि सफ र पर्यटक आश्रयस्थल निर्माण गरिएको छ। अहिलेको सिजनमा करिब १५ हजार भन्दा बढी पर्यटक आधार शिविर पुगेका छन्।