नौरते नेपाली
सिँजा (जुम्ला), मङ्सिर १ गते । समुद्री सतहदेखि करिब ४६ सय मिटर उचाइमा अवस्थित दुधकुण्ड पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । धार्मिक तथा प्राकृतिक दुवै हिसाबले महत्वपूर्ण मानिने दुधकुण्ड गरुडको ‘प्वाँख’ आकारमा फैलिएको छ ।
जुम्लाको गुठीचौर गाउँपालिका–१, चोत्रागाउँबाट करिब पाँच घण्टाको पैदलयात्रापछि दुधकुण्ड पुगिन्छ । साउन पूर्णिमामा दुधकुण्डमा गाथा चोख्याउने परम्परा रहेको स्थानीयले बताउने गरेका छन् । तालबाट निस्किएको खोल्सीको बाटो हुँदै उकालो चढेपछि अग्लो डाँडामा रहेका देउल पार गरी हिउँ र ढुङ्गाको समथर खोचबाट अगाडि बढ्दा दुधकुण्ड भेटिन्छ । अहिले दुधकुण्ड तथा नजिकैको आकासे ताल जानेको ठुलो भिड लाग्ने गरेको छ ।
दुधकुण्डको बिच बाटोसम्म पदमार्ग निर्माण भए पनि तालछेउसम्म मार्ग विस्तार हुन बाँकी रहेको छ । हिमालबाट बगेको हिउँपानीले बनेको दुधकुण्ड प्राकृतिक रूपमा अत्यन्त मनमोहक छ । उकालो थकाइ भुल्ने गरी त्यहाँ पुग्दा यात्रुहरू आनन्दित हुने गरेका छन् । दुधकुण्डबाट पश्चिमतर्फ करिब एक घण्टाको पैदलयात्रा गरेपछि आकासे ताल पुगिन्छ । प्रायः पर्यटक त्यही बाटो हुँदै फर्किने गर्छन् ।
तर आकासे तालसम्म स्पष्ट पदमार्ग नहुँदा धेरै यात्रु बाटो बिराई अलमलमा पर्ने गरेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताउनुभयो । उहाँका अनुसार पदमार्ग निर्माणका लागि स्थानीय सरकार सव्रिmय भए पनि बजेट अभाव मुख्य समस्या बनेको छ । आकासे ताल र दुधकुण्ड भ्रमण गर्न भदौ अन्तिमदेखि कात्तिक १५ गतेसम्म सबैभन्दा उपयुक्त समय हुने गरेको उहाँले बताउनुभयो । चोत्रागाउँमा होमस्टे सञ्चालनमार्फत यी दुवै तालमा पुग्ने पर्यटकलाई सहज सेवा दिन स्थानीय सरकारले तयारी अगाडि बढाएको छ ।
जुम्ला चन्दननाथ–७, महतगाउँका नृपेन्द्र महतले ताल पुगेपछि स्वर्ग छिचोलेर आए जस्तो अनुभूति दिलाएको बताउनुभयो । पदमार्ग राम्रो बनेको भए यात्रा अझ सहज हुने उहाँको सुझाव छ । दुधकुण्ड र आकासे ताललाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यसहित गुठीचौर गाउँपालिकाको कर्मचारी टोली कात्तिक २७ गते दुवै ताल पुगेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाका अनुसार दुवै तालसम्म व्यवस्थित पदमार्ग बनाइयो भने आन्तरिक र बाह्य पर्यटकको ठुलो सम्भावना देखिएको छ ।