अविनाश चौधरी
धनगढी, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमको जिल्लागत एकीकृत पुस्तक मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ ।
आयोगका उपाध्यक्ष डा. जीवन रानाथारुले आयोगको पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण गर्नुभयो । पुस्तक ग्रहण गर्नुहुँदै मुख्यमन्त्रीले पुस्तकले प्रदेश सरकार र नागरिकबिच विकासको सेतुको रुपमा काम गर्ने बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रदेश सभाबाट वार्षिक बजेट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशन गर्ने परम्परा रहि आएको छ । यसवर्षदेखि प्रदेश नीति तथा योजना आयोगले नौ वटै जिल्लाका जिल्ला समन्वय समिति, ८८ वटै पालिकाको जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक, कार्यक्रम र बजेटलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।