शिवालय समाचारदाता
शिवालय (जाजरकोट), मङ्सिर १ गते । जाजरकोटमा एउटा यस्तो गाउँ छ, जहाँ ४० वर्षदेखि मदिरा र जुवातास प्रतिबन्धित छ । शिवालय गाउँपालिका–२ को लयकाँडामा करिब चालिस वर्षयता मदिरा सेवन र जुवातास खेल्न प्रतिबन्ध निषेध गरिएको हो । ठकुरी समुदायको बाहुल्य रहेको सो गाउँ अहिले ‘मदिरामुक्त गाउँ’ का रूपमा परिचित छ । यो कुनै सरकारी नियम होइन, गाउँलाई नै सभ्य र सुरक्षित बनाउन स्थानीयले आफैँले बनाएको कठोर सामाजिक संहिता हो ।
तर बाहिरबाट आएका पाहुनाका लागि सीमित रूपमा सेवन गर्न पाउने व्यवस्था गरिएको छ तर कसैले बाहिर गएर खायो भने उनीहरू नै जानून् तर गाउँमा पूर्ण रूपमा प्रतिबन्ध स्थानीय अग्रज शिवराम शाहीले बताउनुभयो । उहाँका अनुसार यहाँका पसल तथा कुनै पनि घरमा मदिरा तथा जुवातास खेलेको पाइँदैन । युवालाई चुरोटको धुवाँ फुक्नसमेत मनाही छ । शाहीले करिब ४० वर्षदेखि यो नियम निरन्तर लागु भइरहेको बताउनुभयो । गाउँका मानिसले बाहिर जाँदासमेत निषेधित वस्तु सेवन नगरेको उहाँको दाबी छ । करिब ४८ भन्दा बढी घरधुरी रहेको सो गाउँमा स्थानीयले कहिल्यै पनि मदिरा, चुरोट सेवन तथा तथा जुवातास नखेलेको स्थानीय बताउँछन् । स्थानीय शान्ति चौतारा युवा क्लब स्थापना भएको समयदेखि नै गाउँको सामाजिक सचेतना र सुधारका लागि निरन्तर सव्रिmय रहँदै आएको छ ।
क्लबका अध्यक्ष जनकजङ्ग शाहीलगायत गाउँका बुद्धिजीवी तथा युवा नेतृत्वमा गाउँमा आपसी सहमति र सामाजिक प्रतिबद्धताका आधारमा गाउँमा रक्सी निर्यात तथा सेवनमा पूर्ण प्रतिबन्ध लागु गरिएको छ । त्यसले गर्दा गाउँमा होहल्ला तथा झैझगडामा निकै कमी आएको छ । गाउँलाई स्वच्छ, सभ्य र शान्त समुदाय बनाउने अभियानले सो कार्य गरेको उहाँको भनाइ छ ।
गाउँको भौगोलिक अवस्था कठिन तथा भिरपाखा भएकाले र गाउँमा मदिरा सेवन गरेपछि गाउँमै झगडा हुने भएकाले गाउँमा मदिरा तथा जुवातास पूर्ण रूपमा निषेध गरिएको अर्का स्थानीय परिमल शाहीले बताउनुभयो । गाउँमा खान नहुने र बाहिर गएरसमेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवन नगर्ने गरेको उहाँको दाबी छ । गाउँलाई सुरक्षित र मदिरा सेवनबाट मुक्त बनाउन क्लबले यो निर्णयसमेत लागु गराइरहेको छ । साथै त्यहाँका स्थानीयले समेत घरमा देउता मान्ने तथा देउताको ध्वजा राख्ने गरेका छन् । उनीहरूले धार्मिक आस्थासँग निकै चासो राख्ने गरेका छन् । मदिरा सेवन नहुने भएकाले गाउँमा हल्ला र झैझगडा पनि खासै नहुने उहाँले बताउनुभयो ।