काठमाडौँ, असोज ३० गते । यातायात व्यवस्था विभागले तिहारपछि मात्र सेवा नियमित सञ्चालन गर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी गरिँदा सबै सेवा ठप्प भएको यातायात व्यवस्था विभागले तिहारपछि सेवा नियमित सञ्चालन गर्ने भएको छ । पुरानो पार्किङ, खुला स्थलबाट सेवा सुरु गरेको विभागले तिहारपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।
अनलाइनमा भएका डाटाबाहेक केही पनि बाँकी नरहेकाले सेवा सञ्चालन गर्न ढिला भएको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनुभयो । “लाइसेन्स प्रिन्टरदेखि कुनै पनि भौतिक सामान बाँकी रहेनन्,” उहाँले भन्नुभयो, “तिहारपछि नवीकरण र नयाँ लाइसेन्सको प्रक्रिया सुरु गर्छौं । त्यसका लागि पुरानो डाटा हेर्नुका साथै प्रिन्टरदेखिका सबै सामान जोहो गरिरहेका छौँ ।” लाइसेन्स छपाइ भने तत्काल सुरु नहुने विभागले जनाएको छ । छपाइ कार्ड र प्रिन्टरको नयाँ खरिद प्रक्रियामा जानुपर्ने भएकाले तिहारपछि कम्तीमा तीन महिना लाग्ने बताइएको छ । महानिर्देशक पोखरेलले भन्नुभयो, “प्रिन्टर व्यवस्थापन गर्न सबै नयाँ प्रक्रियामा जानु पर्छ । तिहारपछि तीन महिना थप लाग्छ ।” तत्कालका लागि अत्यावश्यक सेवा प्रवाह गर्न विभागले एनआरएनएसँग प्रिन्टर सहयोग मागेको विभागले जनाएको छ । अनलाइन सेवा सञ्चालन गर्न पनि नयाँ प्रक्रियामा जानुपर्ने विभागको भनाइ छ । मेसिन र कम्प्युटर नष्ट भएकाले सबै सामान जोहो गर्नुपर्ने विभागका सूचना अधिकारीण् गणेशमानसिं राईले जानकारी दिनुभयो । विभागको डाटा भण्डारणमा पनि क्षति भएको छ तर अधिकांश डाटा भने सुरक्षित रहेको राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलन हुनुभन्दा केही दिनअघिसम्मको डेटा म्यानुअल्ली ब्याकअप गरेर राखिएको थियो । त्यसो भएको हुनाले डाटा छ भन्नेमै छौँ ।” आगलागीबाट लाइसेन्स वितरण, दर्ता र नवीकरण प्रणालीमा ठुलो क्षति भएको छ । विभागका अनुसार प्रारम्भिक क्षति करिब चार अर्ब रुपियाँबराबर भएको अनुमान छ । सबैभन्दा धेरै क्षति इम्बोस्ड नम्बर प्लेटमा भएको बताउँदै राईले भन्नुभयो, “इम्बोस्ड नम्बर प्लेटको प्लान्ट र झन्डै आठ लाख प्लेट नष्ट भएका छन् ।” जलेर पूर्ण नष्ट भएको विभागको भवन मर्मतका लागि पनि विभिन्न सङ्घ संस्थाको सहयोग लिइएको छ । मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासङ्घ र नेपाल अटो मोबायल्स इम्पोर्ट्सले सहयोग गरेका छन् । रङरोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने भएको छ ।