• २८ असोज २०८२, मङ्गलबार

अधिकतम बिक्री मूल्य अनिवार्य राख्न निर्देशन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २८ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहारमा बढी कारोबार हुने वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्यसूची राख्न सम्बन्धित उत्पादक तथा विक्रेता व्यापारीलाई निर्देशन दिएको छ । 

विभागले तिहारलक्षित अनुगमनका क्रममा भाइमसला, तामा र चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय वस्तुमा एमआरपी नराखी बिक्री गरेको पाइएपछि एमआरपी राखेर मात्रै बिक्री गर्न निर्देशन दिएको हो । 

विभागका निर्देशक भरतप्रसाद आचार्यले चाडपर्वका अवसरमा विशेष प्रयोगमा आउने विभिन्न सामानलगायत दैनिक उपभोग्य सबै खाले वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र खुला (नापेर, जोखेर, गनेर) रूपमा बिक्रीवितरण गर्ने वस्तुको मूल्यसूची राखेर मात्रै वितरण गर्न सबै उत्पादक/विक्रेतालाई निर्देशन दिनुभयो । 

साथै आमउपभोक्ता वर्गले समेत खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल भएको वा मूल्यसूची राखिएको वस्तु मात्रै खरिद गर्न उहाँले आग्रह गर्नुभयो । 

पछिल्लो समयमा तामा र चाँदीका भाँडामा मनलाग्दी मूल्य राखेर बिक्रीवितरण भएको गुनासो विभागमा आएकाले यस्तो गतिविधिमा विभागले निगरानी गरिरहेको प्रमाणित भएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही हुने चेतावनी दिएको छ । विभागका निर्देशक आचार्यले सामान खरिद गर्ने क्रममा कुनै कैफियत भेटिएमा सचेत उपभोक्ताले सिधै विभागको टोल फ्री नम्बर ११३७ मा फोन वा म्यासेज गरेर जानकारी गराउनसमेत आग्रह गर्नुभयो । 

विभागले असोज २३ देखि सुरु गरेको तिहारलक्षित अनुगमनका क्रममा आइतबारसम्म ६५ वटा व्यावसायिक फर्मको अनुगमन गरेकोमा २४ वटालाई जरिबाना गरेको छ । विभागका अनुसार जरिबानामा पर्नेमा भाँडा पसल, विद्युतीय सामग्री बिक्री गर्ने पसल र भाइमसला बिक्री गर्ने व्यावसायिक प्रतिष्ठान रहेका छन् । ती प्रतिष्ठानको अनुगमनका क्रममा अधिकांशले एमआरपी लेबलबिनाका सामान बिक्री गरेको पाइएकाले न्यूनतम पाँच हजारदेखि अधिकतम एक लाख रुपियाँसम्म जरिबाना गरेको विभागले जनाएको छ ।