बुटवल समाचारदाता
बुटवल, असोज २८ गते । उद्योगी व्यवसायीले तोकिएकै मितिमा निर्वाचन गर्न र राजनीतिक दललाई त्यसमा सहभागी हुन आग्रह गरेका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ७२ औँ वार्षिक साधारण सभामा उनीहरूले मुलुकमा निरन्तर भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण असुरक्षित बन्दै गएको भन्दै चिन्ता पनि व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका मुद्दा सान्दर्भिक भए पनि त्यसको आडमा भएका तोडफोड, आगजनी, लुटपाट जस्ता अपराधको विरोध गर्दै संलग्नलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले असहज राजनीतिक परिस्थितिका कारण निजी क्षेत्र कमजोर बन्दै गएको बताउँदै सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण आवश्यक भएको बताउनुभयो । उहाँले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानी पलायनको जोखिम बढाएको भन्दै सरकारलाई ठोस कदम चाल्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रले उठान गरेका धेरै कुरा सम्बोधन भएको स्मरण गर्दै कोभिड–१९ महामारी, आर्थिक मन्दी, जेनजी आन्दोलन, वर्षाले पु¥याएको क्षतिका कारण अझै पनि निजी क्षेत्र उठ्न नसकिरहेको बताउनुभयो ।
महासङ्घका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पनि चुनाव तोकिएकै मितिमा गर्न र निजी क्षेत्रको मनोबल उकास्ने वातावरण बनाउन सरकार र दलहरूलाई आग्रह गर्नुभयो ।
सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले मोतीपुर औद्योगिक क्षेत्रको निर्माणमा गति दिन, व्यवसायमैत्री नीति अपनाउन र हरेक आन्दोलनमा हुने उद्योग व्यवसायमाथिको आक्रमण रोक्न राज्यलाई अनुरोध गर्नुभयो ।