अजितकुमार धिमाल
मोरङ, असोज २७ गते । भोजपुर मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी आठौं बेलबारी आरजु राईस मेजर स्वर्गीय एनबि रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वार्टरफाइनल खेलमा भोजपुरले झापा–११ लाई टाइब्रेकरमा ५–४ गोलले हरायो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा भोजपुर भाग्यमानी बन्यो ।
टाइब्रेकरमा भोजपुरका विवेक राई, धिरेन क्षेत्री, विवेक राई ‘बी’ मिसाज लिम्बू र सुजन चौधरीले गोल गर्नुभयो । झापा–११ का मुसा कामाकाट, एरोन थापामगर, पेमा तामाङ, सुमन थापाले गरे गर्नुभयो । सिमान्त थापामगरको गोल विपक्षी गोलरक्षकले बचाउनुभयो ।
यसअघि ३९औँ मिनेटमा झापा–११ का एरोन थापामगरले सुरुवाती गोल गर्नुभएको थियो । त्यसपछि ८५औँ मिनेटमा भोजपुरका मिलन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । भोजपुरमा गोलरक्षक समीर क्षेत्री प्लेयर अफ द म्याच हुनुभयो । उहाँले सात हजार रुपियाँ पाउनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीले आठ लाख र उपविजेता टोलीले चार लाख रुपियाँ पुरस्कार पाउने छ ।