राजन रावत
हुम्ला, असोज २५ गते । हिमाली जिल्लाहरूमा हुने डाँलेचुक यसवर्ष हुम्ला लटरम्मै फलेको छ । डाँलेचुक फुल्ने बेला असिनापानी नपर्नु र हावाहुरी नलाग्नुले डाँलेचुक राम्ररी फलेको हो । प्राकृतिक रूपमा निःशुल्क प्राप्त हुने डाँलेचुक यसवर्ष भने लटरम्मे फलेको सिमकोट गाउँपालिका–३, तोर्पा गाउँकी छिरिङ लामाले बताउनुभयो ।
गत वर्षभन्दा यसवर्ष झन बढी फलेको बताउँदै अब त डाँलेचुक पाक्ने बेला पनि हुन लागेको उहाँले सुनाउनुभयो । घरयासी प्रयोगका लागि लामाले बर्सेनि डाँलेचुक सङ्कलन गर्दै आउनुभएको छ । कसैले लगाउने र संरक्षण पनि नगर्ने डाँलेचुकको बोट, फल र पात पनि उपयोगी हुने भएका कारण बहुउपयोगी फलको बोटका रूपमा लिने गरिन्छ ।
डाँलेचुक राम्रो फल्ने भए पनि यसबाट फाइदा लिन नसकिएको यसको जुस उत्पदन गर्दै आउनुभएका व्यवसायी गोरासिंह बोहराले बताउनुभयो । आफ्नो गाउँ ठेहेका महिलाहरूले डालेचुकको अमिलो बनाएर बिक्री गरेर कमाइ पनि गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार पेट दुख्ने, कान र मानिसको अनुहार सुनिएको बेला औषधीका रूपमा पनि यो प्रयोग हुने गरेको छ ।
यो पाके पछि कात्तिक महिनामा टिप्ने गरिन्छ । यसको बोटको हागामा काँडा हुने भएका कारण फल टिप्न त्यति सहज भने हुँदैन । त्यसैले किसानहरुले डाँलेचुकको फल टिप्दा हाँगा नै काट्ने भएका कारण यसको बिनास हुने गरेको छ । दुई हजार पाँच सय मिटर उचाइदेखि तीन हजार सात सय मिटर उचाइमा डाँलेचुक फल्ने गर्छ ।
हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा यो फल्ने गर्छ । हुम्लामा विशेष गरी पुस्तौ अगाडिदेखि डाँलेचुक अमिलोको रूपमा प्रयोग गरिन्छ । पछिल्लो समयमा यसको जुस समेत उत्पादन गर्न थालिएको छ । त्योसँगै डाँलेचुकको दानामा भित्र हुने बिया समेत बिक्री गर्न थालिएको छ । वनस्पती विज्ञहरूले डाँलेचुकको बियाबाट तेल निस्केने र त्यो क्यान्सरको औषधी हुने बताउँदै आउनु भएको छ ।