अमरराज नहर्की
तनहुँ, असोज २५ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार गएराति करिब ११ः४५ बजे ग २६ प २२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकछेउको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्कमा बस्दै आएका २८ वर्षका विजय तामाङ गम्भीर घाइते हुनुभएको थियो ।
उपचारका क्रममा उहाँलाई राति नै १२ः४४ बजे आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बिकले जानकारी दिनुभयो ।
त्यसैगरी, मोटरसाइकलमा सवार गोरखा सहिदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ बायाँ आँखामाथि र शरीरमा भित्री चोट लागी गम्भीर घाइते भएका छन् । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।