विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज २५ गते । सप्तकोशी नगरपालिकामा शव जलाउने स्थलको विषयमा दुई पक्षबिच विवाद हुँदा वडा र नगरपालिका कार्यालयमा ताला लगाइएको छ । नगरपालिकाको वडा नम्बर १ हेडवानस्थित त्रियुगा खोलाको किनारमा लाश जलाउने आर्यघाटमा रोक लगाइएको भन्दै स्थानीय बासिन्दाले वडा कार्यालय र नगरपालिकामा ताला लगाएका हुन् ।
शुक्रबार बिहान करिब १०ः२० बजेतिर आर्यघाट वरपरका बासिन्दाले शव दाह गर्ने कार्यमा रोक लगाएपछि त्यस क्षेत्रमा बसोबास गर्ने करीब १५ देखि २० जना स्थानीय भेला भई वडा कार्यालय र सप्तकोशी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
स्थानीयहरुले वर्षौदेखि चल्दै आएको आर्यघाटमा शव जलाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
यता सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालले सो विवादका कारण वडा नम्बर १ र नगरपालिका कार्यालयमा ताला लगाएको जानकारी दिनुभयो । उहाँले त्यहाँ आवतजावत गर्ने बाटोको विषयलाई लिएर सामान्य विवाद बाहेको अरु केही नभएको भन्दै छिट्टै समस्या समाधान गर्ने प्रतिवद्धा जनाउनुभयो ।