नवीनराज कुइँकेल
लमजुङ, असोज १२ गते । लमजुङमा महिलाहरुले नेतृत्व गरेको सहकारीले किसानका उत्पादित खसीबोका सङ्कलन गरी विक्री गरेको छ । सुन्दरबजार नगरपालिका –१ कुन्छामा रहेको भागिरथी सामाजिक उद्यमी महिला सहकारीले शेयर सदस्य किसानहरुको खसीबोका काठमाडौं लगेर बिक्री गरेको हो ।
सदस्यहरुले उत्पादन गरेका एक सयभन्दा बढी खसीबोका काठमाडौं लगेर बिक्री गरिएको सहकारीका अध्यक्ष सन्तोषी गौलीले बताउनुभयो । “लमजुङभन्दा काठमाडौंमा बढी मूल्य आउने भएकाले त्यता लगेका हौं” सहकारीको अध्यक्ष गौलीले भन्नुभयो, “दुई–चार पैसा भने पनि किसानलाई दशैं मान्ने पैसा भयो ।”
लमजुङमा जिउँदो खसीबोका पाँचसयदेखि पाँचसय ५० रुपियाँसम्म मूल्य छ । काठमाडौंमा छसय ५० देखि सातसय रुपियाँसम्म बिक्री गरिएको सहकारीले जनाएको छ । सहकारीले गाउँमा सङ्कलन गरेर तीन लट गरेर काठमाडौं लगेर खसीबोका बिक्री गरेको थियो । सहकारीले यसअघिका वर्षहरुमा पनि दशैंको बेला खसीबोका काठमाडौं लगेर बिक्री गर्ने गरेको थियो ।
तीनसय ६५ जना महिलाहरु मिलेर बनेको सहकारीका सदस्यहरुमध्ये दुईसय ६५ जनाले बाख्रा पालन गरेका छन् । दश जनाले त ठुला बाख्रा फार्म नै सञ्चालन गरेका छन् । महिलालाई उद्यमशीलतामा जोडेर आयआर्जनको काममा सहभागी गराउँदा उनीहरूको आर्थिक स्तरवृद्धि भएको सहकारीका अध्यक्ष गौलीले बताउनुभयो ।
२०६८ सालमा हेफर इन्टरनेसनल र चेस नेपालको साझेदारीमा सञ्चालित ‘साना किसान सबलीकरण परियोजना’ ले महिलालाई उद्यमशील बन्न प्रेरित गरेको थियो । सहकारी स्थापनापछि गाउँमै हाटबजारको सुरुवात गरिए पनि बिक्री हुन नसकेपछि बाहिरी जिल्लामा लगेर बिक्री गर्ने गरिएको सहकारीका सचिव सीता कोइराला अछामीले बताउनुभयो ।
सहकारीले बढी मूल्यमा खसीबोका बिक्री गरिदिएकोमा किसानहरु पनि खुसी भएका छन् । “गाउँघरमा कम मूल्य पाइन्थ्यो । त्यहि पनि बिक्री गर्न गाह्रो थियो” किसान आत्मराम अधिकारीले भन्नुभयो, “सहकारीले सङ्कलन गरेर बिक्री गरिदियो, हामीलाई धेरै सजिलो भयो ।” उहाँले यो वर्ष एउटै बोका १०० केजी तौलको बनाएर बेचेको बताउनुभयो । सोही स्थानकी रुपामाया दुराले दशवटा खसीबोका बेच्न पाउँदा खुसी लगेको बताउनुभयो ।