लोकतन्त्र भनेको विधिको शासन हो । यो व्यवस्थाको विशेषता भनेकै शासन सत्तामा पुगेर लोकतन्त्रमाथि धावा बोल्ने र जनमतलाई बेवास्ता गर्नेलाई विधिसम्मत कारबाही गरिन्छ । भ्रष्टाचार तथा कुशासनविरुद्ध न्यायालय चुप लागेर बस्दैन । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले २७ वर्ष तीन महिना सजाय तोकेको छ । बोल्सोनारोले जनताको अभिमतविरुद्ध ‘कु’ को षड्यन्त्र गरेकोमा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । यो सजाय उहाँको राजनीतिक आन्दोलनका लागि ठुलो झड्का साबित भएको छ । बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ ।
सन् २०२२ को राष्ट्रपति चुनाव हारेपछि सत्तामा रहन ‘कु’ को षड्यन्त्र रचेको आरोपमा बोल्सोनारोलाई सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको थियो । यो फैसलाले त्यहाँ सिर्जना गरिएको पपुलिस्ट आन्दोलनका लागि शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले यस्तो फैसला गरेको हो । अभियोजकले बोल्सोनारोले गरेको अहिलेसम्मको सबैभन्दा जघन्य कार्यलाई अवज्ञाको रूपमा वर्णन गरेका छन् । बोल्सोनारोलाई ‘कु’ गर्ने योजना बनाएको, सशस्त्र आपराधिक समूहमा संलग्न भएको, बल प्रयोग गरेर ब्राजिलको लोकतान्त्रिक व्यवस्था समाप्त गर्न खोजेको, राज्यका संस्थामाथि हिंसात्मक कार्य गरेको र सन् २०२३ जनवरी ८ का दिन उहाँका समर्थकहरूले सरकारी भवनमा आक्रमण गर्दा संरक्षित सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याएको अभियोगमा दोषी ठहर गरिएको छ ।
बोल्सोनारो भाग्न सक्ने आशङ्कापछि उहाँलाई घरमै नजरबन्दमा राखिएको छ । अन्तिम सुनवाइका लागि उहाँ अदालतमा उपस्थित हुनुभएन । यो सबै आफूलाई सन् २०२६ को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्न गरिएको षड्यन्त्र भन्दै बोल्सोनारोले आरोप अस्वीकार गर्नुभएको छ । बोल्सोनारो सन् २०१८ देखि २०२२ सम्म ब्राजिलको राष्ट्रपति हुनुभयो । सन् २०२२ को अक्टोबर २० मा त्यहाँ भएको राष्ट्रपतीय चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग उहाँ पराजित हुनुभयो । उहाँले हार स्वीकार गर्नुभएन । आफ्ना समर्थक लगाएर सन् २०२३ को जनवरी ८ मा संसद् र सरकारी कार्यालयमाथि भीषण आक्रमण गराउनुभयो । लोकतन्त्रविरोधी यो कुकार्यको सर्वत्र निन्दा भयो । अभियोजन पक्षका अनुसार उहाँले सत्तामा रहिरहन योजनाबद्ध षड्यन्त्र गर्नुका साथै निर्वाचित राष्ट्रपति हत्या गर्ने योजनासमेत बनाइएको थियो । सर्वोच्च अदालतको पाँच न्यायाधीशमध्ये चार जनाले बोल्सोनारोलाई दोषी ठहर गरेका थिए ।
अभियोजन पक्षले आरोप लगाएको ‘कु’ योजनामा सम्भावित रूपमा विस्फोटक पदार्थ, युद्धमा प्रयोग हुने हतियार वा विष प्रयोग गरेर निर्वाचित वामपन्थी राष्ट्रपति लुला, उपराष्ट्रपति जेराल्डो आल्कमिन र बोल्सोनारोको मुद्दा हेर्ने सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे डे मोराएसलाई हत्या गर्ने योजनासम्म समावेश थिए । बोल्सोनारोविरुद्धको प्रमाण मुख्य त उहाँले २०२२ को राष्ट्रपतीय चुनावमा लुलासँग पराजित भएपछि सत्तामा रहिरहन गरेका प्रयासमा आधारित थियो । सङ्घीय प्रहरीले बोल्सोनारोलाई चुनाव परिणाम उल्ट्याउने, सेनालाई दबाब दिने र समानान्तर सङ्कट व्यवस्थापन कार्यालय गठन गरेर सरकार चलाउने योजनाको पूर्ण जानकारी थियो भनेको छ ।
घोर दक्षिणपन्थी नेता बोल्सोनारोविरुद्धको यो फैसलाले देशको राजनीतिमा थप विभाजन ल्याउने र यसले अमेरिकाको असन्तुष्टि बढाउने अनुमान गरिएको छ । ७० वर्षीय बोल्सोनारोले यो फैसलाविरुद्ध सर्वोच्च अदालतको ११ सदस्यीय बेन्चमा पुनरावेदन गर्ने उहाँका वकिलहरूले बताएका छन् । यो मुद्दाले ब्राजिलको समाजमा विभाजन ल्याएको छ । धेरै मानिसले उहाँविरुद्धको कारबाहीको समर्थन गरिरहेका छन् । केही उहाँको साथमा छन् र सडकमा पनि उत्रिएका छन् । विरोध स्वरूप अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको सामानमा ५० प्रतिशत कर लगाउँदै यसलाई ‘विच हन्ट’ भन्नुभएको छ । बोल्सोनारो ट्रम्पका विश्वासपात्र हुनुहुन्छ । मुद्दाको यो फैसलासँगै अमेरिकाले ब्राजिलमाथि नयाँ प्रतिबन्ध पनि लगाउन सक्ने, जसले दुई देशबिचको नाजुक सम्बन्धलाई थप बिगार्न सक्ने पर्यवेक्षकको भनाइ छ । अदालतको यो फैसलापछि पनि बोल्सोनारो ब्राजिलको राजनीतिमा एक शक्तिशाली खेलाडी हुनुहुन्छ । उहाँलाई यसअघि नै एक छुट्टै मुद्दामा सन् २०३० सम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा उहाँले अर्को वर्ष राष्ट्रपति लुलालाई चुनौती दिन आफ्नो नजिकको नेतालाई मैदानमा उतार्न सक्ने बताइएको छ । सन् १९५५ को मार्च १ मा जन्मिएका बोल्सोनारो राजनीतिमा आउनुअघि सैन्य अधिकारी हुनुहुन्थ्यो ।
अर्कोतर्फ सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भएको थियो । साथै उहाँलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदालतले उहाँलाई रिहा गर्दै उहाँमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरेको थियो । ट्रेड युनियन आन्दोलनबाट उदाएका लुला तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै ब्राजिलको राजनीति लयमा फर्केको छ ।
एक कुशल राजनीतिज्ञ लुला दक्षिण अमेरिकी वामपन्थीको ‘पावर हाउस’ हुनुहुन्छ । उत्तरपूर्वको पर्नाम्बुकोमा सन् १९४५ को अक्टोबर २७ मा जन्मेका लुलाका आमाबाबु किसान थिए । गरिबीका कारण आफ्ना आठ छोराछोरीलाई पेटभरी खुवाउन सक्दैनथे । लुला सात वर्षको उमेरमा आमा र छ जना भाइबहिनीको राम्रो जीवनको खोजीमा साओ पाउलो राज्यमा बसाइँ सर्नुभयो । त्यसको तीन वर्षपछि पुनः पहिले बन्दरगाह सहर सान्तोसमा र पछि सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्यको राजधानीसाओ पाउलामा बसाइँ सर्नुभयो ।
औपचारिक शिक्षा २ कक्षा मात्रै लिएका लुलाले साओ पाउलोमा हुँदा चरम गरिबीको कारण जुत्ता पोलिस गर्ने काम सुरु गर्नुभयो । पछि कारखानामा काम पाउनुभयो । उहाँले १७ वर्षको हुँदा मेसिनरी दुर्घटनामा बायाँ हातको कान्छी औँलासमेत गुमाउनु प¥यो । लुलाले आफ्नो राजनीतिक जीवन २० वर्षको प्रारम्भमा ट्रेड युनियनमा सक्रियताबाट सुरु गर्नुभयो । २५ वर्षको उमेरमा विवाहको दुई वर्षमै उहाँले आठ महिनाकी गर्भवती श्रीमती लुर्डेसलाई हेपाटाइटिसका कारण गुमाउनुभयो । उहाँले ट्रेड युनियन नेताका रूपमा आफ्नो काम जारी राख्नुभयो । सन् १९७५ मा उहाँ शक्तिशाली धातु मजदुर युनियनको अध्यक्षमा चुनिनुभयो । लुलाले ब्राजिलको तानाशाही सरकारलाई चुनौती दिँदै धेरै हडताल आयोजना गर्नुभयो । उहाँले प्रजातन्त्र र मजदुर आन्दोलनको प्रतीकका रूपमा आफ्नो छवि बलियो बनाउनुभयो ।
सन् १९८० मा लुलाको नेतृत्वमा मजदुर, बुद्धिजीवी र कलाकारको एक समूहले सैन्य शासनको प्रतिक्रियामा वर्कर्स पार्टीको स्थापना गर्नुभयो । एक बहुलवादी वामपन्थी पार्टी, जसले ट्रेड युनियनवादी, बुद्धिजीवी, कलाकार र अभियान्तालगायतलाई एकसाथ सङ्गठनमा आबद्ध ग¥यो । लुला सन् २००२ मा राष्ट्रपति निर्वाचित हुनुअघि तीन पटक राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धा गरे पनि उहाँलाई सफलता मिलेको थिएन । उहाँको समयमा कमोडिटीको विश्वव्यापी मागमा बढेको थियो । उक्त व्यापार वृद्धिले आर्थिक छलाङका रूपमा देशको अर्थतन्त्रमा व्यापक सुधार भयो । उहाँको कार्यकालमा दुई करोडभन्दा धेरैलाई गरिबीको रेखाबाट बाहिर निकाल्ने काम भयो । साथै विशाल सामाजिक कल्याणकारी कार्यक्रम लागु गरियो ।
राजनीतिक प्रतिशोधको आधारमा सन् २०१८ अप्रिलमा न्यायाधीश सर्जियो मोरोद्वारा घोषणा गरिएको ‘अपरेसन कार वास’ अनुसन्धान भागका रूपमा लुलालाई भ्रष्टाचारको आरोपमा जेल पठाइयो । अनुसन्धानले ब्राजिलको राज्य तेल कम्पनी पेट्रोब्रासलाई ल्याटिन अमेरिकामा प्रभाव पार्ने किकब्याक योजनाको अनुसन्धान ग¥यो । उक्त अनुसन्धानबाट लुला दोषी नदेखिएपछि उहाँलाई रिहा गर्ने निर्णय सुनाइयो । ब्राजिलको सर्वोच्च अदालतले के फैसला ग¥यो भने कैदीहरूलाई बिनाप्रमाण जेल हाल्न सकिँदैन । लुला ५८० दिन जेलमा बिताएपछि सन् २०१९ को नोभेम्बरमा रिहा हुनुभयो । उहाँमाथिका आरोप निराधार ठहरिए ।
ब्राजिलको आधिकारिक नाम ब्राजिल सङ्घीय गणतन्त्र हो । यसको राजधानी ब्रासिलिया र क्षेत्रफल ८५ लाख १५ हजार ७७० वर्ग किमी छ । जनसङ्ख्या २१ करोड ७५ लाख छ । आधिकारिक भाषा पोर्चुगाली हो । ब्राजिलले दक्षिण अमेरिकाका इक्वेडर र चिलीबाहेक सबै राष्ट्रसँग सीमा साझा गर्छ । ब्राजिल २६ राज्य र एक सङ्घीय जिल्लामा विभाजित छ । अमेजोनास राज्यमा सबैभन्दा ठुलो क्षेत्र छ । सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य साओ पाउलो हो । सन् १९५० को दशकको उत्तरार्धमा निर्मित एउटा मास्टर–प्लान गरिएको सहर माटो ग्रासो पठारमा पहिले केही पनि थिएन । अहिले त्यहाँ सङ्घीय जिल्लामा लाखौँ मानिस बसोबास गर्छन् ।
विश्वका १५ ठुला सहरमध्ये दुई वटा ब्राजिलमा छन्– साओ पाउलो र रियो दी जेनेरियो । रियो दी जेनेरियोले सन् १९५० को दशकमा साओ पाउलोको जनसङ्ख्यालाई उछिनेको थियो । रियो दी जेनेरियोको स्थिति पनि प्रभावित भयो जब यसलाई ब्रासिलियाले सन् १९६० मा राजधानीका रूपमा प्रतिस्थापित ग¥यो । यद्यपि रियो दी जेनेरियो अझै पनि ब्राजिलको निर्विवाद सांस्कृतिक राजधानी हो ।
सन् १५०० मा उत्तरपूर्वी ब्राजिलमा पोर्तुगलको उपनिवेश सुरु भयो । पोर्चुगलले ब्राजिलमा वृक्षरोपण ग¥यो र अफ्रिकाबाट दासलाई ल्यायो । सन् १८०८ मा रियो दी जेनेरियो पोर्चुगल रोयल्टीको घर बन्यो जो नेपोलियनको आक्रमणद्वारा हटाइयो । सन् १८२२ मा ब्राजिलले स्वतन्त्रताको घोषणा ग¥यो । ब्राजिल दक्षिण अमेरिकामा पोर्चुगाली भाषा बोल्ने एक मात्र राष्ट्र हो ।
सन् १९६४ मा नागरिक सरकार विस्थापित गरी त्यहाँ सैन्य शासन लागु गरियो । दुई दशकभन्दा बढी सैन्य शासन कायम रह्यो । सन् १९८९ मा लोकतन्त्र पुनस्र्थापना भयो । ब्राजिलमा संसारको सबैभन्दा ठुलो रोमन क्याथोलिक जनसङ्ख्या छ । जन्मदर विगत २० वर्षमा उल्लेखनीय रूपमा घटेको छ । सन् १९८० मा ब्राजिलका महिलाले प्रत्येक औसत ४.४ बच्चालाई जन्म दिए । सन् १९९५ मा त्यो दर २.१ बच्चामा घट्यो । वार्षिक वृद्धिदर पनि सन् १९६० को दशकमा तीन प्रतिशतबाट घटेर आज १.७ प्रतिशतमा झरेको छ ।
अमेजन बेसिनमा तीन लाखभन्दा कम आदिवासी अमेरिन्डियन बस्छन् । ब्राजिलमा छ करोड ५० लाख मानिस मिश्रित युरोपेली, अफ्रिकी र अमेरिन्डियन मूलका छन् । साओ पाउलो राज्य ब्राजिलको कुल गार्हस्थ उत्पादनको आधा र यसको उत्पादनको लगभग दुई तिहाइका लागि जिम्मेवार छ । जमिनको करिब पाँच प्रतिशत मात्रै खेती गरिन्छ । ब्राजिल कफी उत्पादनमा विश्वको अग्रस्थानमा छ । देशको प्रमुख उद्योग अटोमोबाइल उत्पादन हो । जैविक विविधता र जलस्रोतको धनी ब्राजिलको पछिल्लो राजनीतिक परिदृश्यले धेरैको ध्यान आकर्षित गरेको छ । लोकतन्त्रमाथि षड्यन्त्र गर्ने, लोकतन्त्रलाई कमजोर बनाउने जो कोहीलाई विधिसम्मत कारबाही गर्ने हो भने यो व्यवस्था परिष्कृत हुँदै जान्छ । दोषीलाई कारबाही गरिएन भने व्यवस्था नै खतरामा पर्छ ।