• १२ असोज २०८२, आइतबार

गोरखापत्रमा पत्रकार महिला

blog

विषय प्रवेश

विभिन्न कालखण्डमा रूपान्तरित र सुधार हुँदै विसं १९५८ देखि हालसम्म प्रकाशित भइरहेको पत्रिका हो– गोरखापत्र । २०२२ सालदेखि गोरखापत्रकै सहप्रकाशनका रूपमा अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ प्रकाशित भइरहेको छ । युवालक्षित ‘युवामञ्च’, भाषा र साहित्यको उन्नयनमा ‘मधुपर्क’ र बालबालिकालक्षित ‘मुना’ पत्रिका पनि मासिक रूपमा प्रकाशित भइरहेका छन् । यीबाहेक ‘नयाँ नेपाल’ संस्करण अन्तर्गत ४५ भाषामा सञ्चार सामग्री प्रकाशन गर्ने देशको विशिष्ट छापा हो, गोरखापत्र दैनिक । नेपालको संविधानद्वारा निर्दिष्ट समावेशी सिद्धान्तको जगमा सबै भाषा, जाति, वर्ग, समुदायको प्रतिनिधित्व यहाँ छ । पेनी प्रेस र गुटेनबर्ग प्रेसको नाम इतिहासमा जसरी लिपिबद्ध छ, त्यसरी नै गोरखापत्रले दक्षिण एसियाको लामो इतिहास बोकेको छापा माध्यमको इतिहास कोरेको छ । यसले नेपाल र नेपालीको शिर थप उँचो बनाइरहेको छ । 

गोरखापत्रमा महिला पत्रकार 

‘गोरखापत्र’ भन्नासाथ वा यो शब्द जोकसैले सुन्नासाथ स्मरणमा आउने पहिलो अभिव्यक्ति देशको ‘जेठो अखबार’ हो तर गोरखापत्रमा पहिलो महिला पत्रकार भन्नासाथै झट्ट जवाफ दिन सक्ने अवस्था आजसम्म बन्न सकेको छैन । गोरखापत्रका पुराना पाना पल्टाउँदा महिला पत्रकारका बाइलाइनको अभाव देखिन्छ । सुरुवाती प्रकाशनमा साताको एक पटक विसं १९९० सम्म, त्यसपछि साताको दुई पटक हुँदै विसं २०१७ बाट दैनिक रूपमा गोरखापत्र प्रकाशित हुन थालेको हो । विसं १९८४ मा जसरी वीरगन्जकी सूर्यमती श्रेष्ठनीको तस्बिर पहिलो तस्बिरका रूपमा छापियो, त्यसरी पहिलो महिला पत्रकार वा सम्पादक यसले अझै पाएको छैन । यो विषय यहाँ काम गर्ने महिला पत्रकारका लागि पनि प्रतीक्षाको विषय हो । 

विसं २०४५ अघि आक्कलझुक्कल लेखरचनामा महिलाका लेखनी आएको देखिन्छ तर सम्पदकीय विभागमा महिला किन थिएनन् भन्ने प्रश्न पूर्वप्रधान सम्पादकहरूलाई पनि जान्छ । साँच्चै, गोरखापत्रको सोच समाज जस्तै पितृसत्तात्मक र एकाङ्गी ढङ्गले चलेकै हो त ? जबकि २००७ सालको आन्दोलनमा आधा आकाशको प्रतिनिधित्व गर्दै घरको सुसेधन्दा छाडेर महिलाहरू स्वतन्त्रता सङ्ग्राममा पुरुषसँगै सडकमा उत्रिएकै थिए । त्यो योगदान गोरखापत्रले चटक्कै बिर्सेको हो त ? 

पत्रकारितामा महिला संलग्नता २००७ सालको आन्दोलनपछि ‘महिला मासिक’ पत्रिकाको सुरुवातसँगै भएको हो । यो इतिहास हेर्दा राणाकालको जगजगीमा महिला पत्रकारको अपेक्षा त्यति सुहाउँदिलो थिएन । राणाकालको अन्त्यपछि महिला पत्रकारको उपस्थिति यहाँ प्रत्यक्ष देखिँदैन । व्यवस्थापकीय क्षेत्रमा भने महिला नभएका हैनन् । 

पञ्चायत युग अर्थात् २०१७ देखि २०४६ सालको अवधिमा समग्र सञ्चार क्षेत्र कुण्ठित बन्यो तथापि त्यसबिचमा स्थापना भएको नेपाल टेलिभिजनले महिला पत्रकारका लागि नयाँ अवसर प्रदान ग¥यो । त्यहाँ कार्यक्रम प्रस्तोता र समाचारवाचकका रूपमा महिलालाई अवसर दिएर पत्रकारिताको ढोका खुला भयो । वन्दना राणा, रमा सिंहलगायत महिला पत्रकारको उदय भयो ।  बाहिर मोफसलमा साप्ताहिक र मासिक पत्रिकामा महिला उपस्थिति आफ्नै तवरले बढ्दै गयो । गोरखापत्रमा महिला पत्रकार बन्न आउने तर नबन्दै बिलाउने क्रम जारी रह्यो । २०४५ सालपछिको अवस्थामा भने सुधार आएको देखिन्छ । गोरखापत्र र ‘दी राइजिङ नेपाल’ को समाचार डेस्कमा महिला पत्रकारको उपस्थिति देखिने गरी भयो । लामो समय गोरखापत्र दैनिकमा सेवा गर्नुभएकी डा. हरिकला अधिकारी र ‘दी राइजिङ नेपाल’ मा १४ वर्ष सेवा गर्नुभएकी पूर्वनिर्वाचन आयुक्त इला शर्मालगायत महिला पत्रकार त्यसको उदाहरण हुन्  । 


वर्तमान अवस्था

नेपाल पत्रकार महासङ्घको इतिहासमा बल्ल महिला अध्यक्षका रूपमा निर्मला शर्मा निर्वाचित हुनुभयो; जुन पत्रकारिता क्षेत्रमा महिलाका लागि कोशेढुङ्गाकै रूपमा लिइएको छ । अब प्रधान सम्पादक र सम्पादकीय टिममा महिला उपस्थिति बढाउने चुनौती थपिएको छ ।  नेपाल पत्रकार महासङ्घका अनुसार १३ हजार ७७ सदस्यमध्ये दुई हजार ४०८ जना महिला पत्रकार छन्; जुन कुल सङ्ख्याको २५ प्रतिशत मात्र हो । यस तथ्यले नेपालको पत्रकारितामा रहेको ठुलो लैङ्गिक अन्तरको खाडललाई प्रत्यक्ष सङ्केत गर्छ । त्यसमा गोरखापत्र संस्थानका प्रकाशन अछुतो रहँदैन । यद्यपि पछिल्लो समय महिला पत्रकारका लागि समावेशी अवसर बन्न खोजेको छनक गोरखापत्र संस्थान र यसका प्रकाशनहरूमा देखिन्छ । गोरखापत्र संस्थानको कुल कर्मचारी सङ्ख्या ४२९ रहेको छ । यसमा पत्रकारसहित महिला कर्मचारीको सङ्ख्या २०६ रहेको छ । पत्रकारितामै केन्द्रित महिला ६९ जना छन् । 

गोरखापत्र दैनिकमा सात जना, ‘दी राइजिङ नेपाल’ मा नौ जना, ‘गोरखापत्र अनलाइन’ र ‘दी राइजिङ नेपाल अनलाइन डटकम’ मा गरी नौ जना, ‘नयाँ नेपाल संस्करण’ मा १४ जना, फोटो पत्रकार एक जना, नेपाली प्रुफरिडिङ शाखामा चार जना, ‘मधुपर्क’ मासिकमा एक जना र काठमाडौँ उपत्यकाबाहिर ७७ जिल्लामा २४ जना महिला पत्रकार कार्यरत छन् । स्थायी र करार दुई थरी सेवामा महिला पत्रकारको प्रतिनिधित्व छ । स्थायीतर्फ सहायक समाचारदातादेखि सहसम्पादक तहसम्म महिलाको उपस्थिति छ । सङ्ख्या थोरै भए पनि लेखकीय पाटोमा महिला पत्रकारको अवस्था अब्बल छ । राजनीति, कूटनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, कलासंस्कृति, खेलकुद र खोजमूलक सबै क्षेत्रमा महिला पत्रकारको कलम चलेको छ । प्रायः महिला पत्रकारले सामाजिक बिटमा मात्र कलम चलाउने र दिइने परम्परालाई गोरखापत्र संस्थानका प्रकाशनहरूले तोड्दै आएका छन् । लेख्न सक्ने महिला पत्रकारका लागि गोरखापत्र दैनिक, ‘दी राइजिङ नेपाल’, ‘गोरखापत्र अनलाइन’, ‘दी राइजिङ नेपाल अनलाइन’, ‘युवामञ्च’ र ‘मुना’ मासिक महिला पत्रकारका लागि अवसरको खानी नै हो । 

फ्रिडम फोरमको अघिल्लो वर्षको एक अध्ययन र मिडिया एड्भोकेसी गु्रपको गत वर्षको एक अध्ययनले गोरखापत्रका दैनिक प्रकाशन महिलामैत्री रहेको देखाएको छ; जस अनुसार गोरखापत्र र ‘दी राइजिङ नेपाल’ मा अन्य निजी मिडियाको तुलनामा महिला पत्रकारका बाइलाइन सबैभन्दा बढी छन् । मिडिया एक्सन नेपालले सन् २०२२ मा गरेको अध्ययन अनुसार गोरखापत्र दैनिकमा सबैभन्दा बढी महिला पत्रकारका बाइलाइन थिए । 

त्यस्तै महिला राजनीतिकर्मीका समाचार गोरखापत्रका महिला पत्रकारले लेखेका समाचारमा बढी समेटिने गरेको मिडिया एड्भोकेसी गु्रपको अध्ययनले देखाएको छ । तुलनात्मक रूपमा पुरुषभन्दा निकै न्यून महिला पत्रकार रहे पनि विषयवस्तु उठान र गहन विषयमा पनि महिला पत्रकारको कलम यहाँ बलियो बन्दै गएको अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । 

सम्पादकीय नेतृत्व गौण

विसं १९५८ वैशाख २४ गते स्थापना भएको देशकै जेठो अखबारले १२४ वर्षको इतिहास पार गर्दै छ । यद्यपि अहिलेसम्म एक जना महिला पत्रकारको नाम प्रधान सम्पादकमा दरिन नसक्नु गोरखापत्र संस्थान, यहाँ कार्यरत महिला पत्रकार र देशभरकै सम्पूर्ण पत्रकारकै लागि मुद्दाको विषय हो । सरकारी सहुलियत, सुविधा र सहज व्यवस्थापनमा पनि महिला पत्रकार नेतृत्वमा किन पुग्न सकेनन् ? 

महिला पत्रकारको सङ्ख्यासँगै लेखकीय विशिष्टता वृद्धि गर्ने दायित्व पनि संस्थानको हो । महिलाको शारीरिक विशिष्टता र योग्यता आफ्नै किसिमको हुन्छ । पत्रकारितामा निजामती सेवामा जस्तो दिउँसोको आठ घण्टाको सेवाले पुग्दैन । लेखकीय रूपमा, वैचारिक रूपमा वा अपडेट रहेर दिनुपर्ने सेवा नै किन नहोस्; महिलाले पनि चाहेको खण्डमा चौबिसै घण्टा संस्थानलाई दिन सक्छन् ।  काम गराउँदा महिलाको शारीरिक र मानसिक विशिष्टतालाई ख्याल गर्न सके तिनले दिने सेवा अब्बल हुन्छ भन्ने मानसिकता विकास गर्नु जरुरी छ । गोरखापत्र, ‘दी राइजिङ नेपाल’ र अन्य सहायक प्रकाशनको सम्पादकीय विभागहरूमा महिलाका लागि छुट्टै शौचालयको समेत व्यवस्था छैन । शौचालयको व्यवस्था नहुँदा महिनावारीको समयमा हरेक महिला पत्रकारले समस्या खेप्नु परेको छ । 

अनुभव र अनुभूति

डा. हरिकला अधिकारी

डा. हरिकला अधिकारी गोरखापत्र दैनिकमा २०४६ साल कात्तिकमा प्रवेश गर्नुभएको हो । नेपाल प्रेस इन्स्टिच्युटबाट उहाँले पत्रकारिता तालिम लिनुभएको थियो । त्यो बेला गोरखापत्र दैनिकमा महिला पत्रकार न्यून थिए । एकाध महिला पत्रकार भएकाले पनि होला, उहाँले त्यति ठुलो विभेद खेप्नु परेन । उहाँ सम्झनुहुन्छ, “महिला भए पनि सबैले माड्साब भन्थे, सायद केटी मान्छे पत्रकार हुन्छन् भन्ने चलन थिएन होला कि ।” पुरुष वर्चस्वको सम्पादकीय लेखकीय टिमलाई पनि राम्रो लेख्न र गर्न सक्छन् भन्ने परेको थियो । ३४ वर्षभन्दा बढी यहाँ काम गरेर केही वर्षअघि मात्र उहाँको उमेर हदका कारण सेवा सकिएको छ । उहाँ सुनाउनुहुन्छ, “नेतृत्वमा पुग्न महिला भएर गाह्रो होइन तर वातावरण यस्तो बनाइन्छ कि नेतृत्वमा जानै नसकिँदो रहेछ ।” 

खेलकुदबाहेक उहाँले सबै बिटमा रिपोर्टिङ गर्नुभयो । सशस्त्र द्वन्द्वको बेला फिल्डमै खटिएको स्मरण उहाँसँग ताजै छ । नेतृत्वसँग तालमेल मिलाउन नसक्दा स्थायी भएर पनि कतिपय महिला पत्रकार छाडेर गएका उदाहरण उहाँले सुनाउनुभयो । 

उहाँका अनुसार पत्रकारिता भनेको मान्छे हुनुको, मान्छेमा बुद्धि हुनुको र समाजका लागि केही गरिरहनु पर्छ भन्ने कुराको राम्रो अवसर हो । उहाँले गोरखापत्र दैनिकको प्रबन्ध सम्पादकसम्मको नेतृत्व गर्न पाउनुभयो । 


इला शर्मा 

इला शर्मा नेपाल प्रेस इन्स्टिच्युटमा पढ्दै गर्दा २०४५ सालमा गोरखापत्र संस्थानको ‘दी राइजिङ नेपाल’ मा ‘इन्टर्नसिप’ गर्न पुग्नुभयो । उहाँको पत्रकारिताको यात्रा यहीँबाट सुरु भयो । त्यो बेलामा श्यामबहादुर केसी प्रधान सम्पादक हुनुहुन्थ्यो । लेखाइ गज्जब देखेपछि काम गर्दै जाँदा “माड्साब जागिर नखाने ? आवेदन खुलेको छ” भनेपछि जागिरका लागि उहाँले आवेदन दिनुभयो । एक नम्बरमै नाम निस्कियो । अनि औपचारिक रूपमै पत्रकारितामा उहाँको यात्रा सुरु भयो । 

त्यो बेला गोरखापत्र दैनिकमा छैटौँ तहबाट पत्रकारितामा आवेदन खुलाइन्थ्यो । ‘दी राइजिङ नेपाल’ मा भने अङ्ग्रेजी भाषामा लेख्नुपर्ने विशिष्ट क्षमताका कारण सातौँबाट सुरु गरिन्थ्यो । तलब पनि गोरखापत्रको भन्दा बढी दिइन्थ्यो । शर्माका अनुसार त्यहाँ प्रवेश गर्दा सुनिता राई र सीमा शर्मा रजौरिया पहिले नै काम गरिरहनुभएको थियो । त्योभन्दा अघि त्यहाँ महिला पत्रकार रीता राई गुरुङ कक्षपतिले काम गर्नुभयो । त्यस्तै बाबा सरकारले पनि केही समय काम गर्नुभयो । उहाँपछि राजश्री बस्नेत श्रेष्ठ र अञ्जु लामाले पनि काम गर्नुभयो । अञ्जु करारमा आउनुभएको थियो । शर्मासँग ‘दी राइजिङ नेपाल’ मा २६ जनाको टिम थियो । उहाँले कुनै पनि खालको विभेद र असमानता भोग्नु परेन । एकदमै अनौपचारिक कुराकानी हुन्थे । कुर्सीमा कहिल्यै तौलिया राखेर ठुलो सानोको भेद गरिएन । जो जहाँ पनि बस्न मिल्थ्यो । हातले लेख्ने र टाइपराइटरमा लेख्ने जमाना सकेर कम्प्युटरको प्रवेश भएपछि छुट्टै रौनक छायो । उहाँले भन्नुभयो, “कम्प्युटर राखेको कोठामा एयर कन्डिसन राखियो अनि बाहिर ढोकामा ‘डोर म्याट’ राखियो । बाहिर जुत्ता फुकालेर भित्रको कम्प्युटरलाई पूजा गथ्र्यांै । सिकाउने मान्छे थिएन । दिनभरि लेख्यो मेटिन्थ्यो ।”

‘पेजमेकर’ मा पत्रिकाको पेज बनाउन सिकेको स्मरण उहाँलाई अहिले पनि छ । त्यो बेला पनि अफसेटमा फिल्म बनाएरै पत्रिका छापिन्थ्यो । त्यसअघि सिसाको ब्लक लेटरमा पत्रिका छापिन्थ्यो । महिला पत्रकारको गोरखापत्रमा कमी हुनु वा बिचमै पेसा छाड्ने क्रम भने रोकिएन । 

शर्माले भने १३ वर्ष ‘दी राइजिङ नेपाल’ मा पत्रकार भएरै बिताउनुभयो । त्यो बेलामा हाकिमहरूले निकै सघाएको स्मरण गर्नुभयो । उहाँका अनुसार महिलाले धेरै सहुलियत पाउँथे । बिहे भएपछि घरबार जोगाउन महिलाले धेरै समय घरमा पनि दिनु पर्छ भन्ने बुझाइ र सहयोगी भावना तथा ज्ञान त्यो बेलाका पुरुष हाकिमहरूमा थियो । त्यसैले आउने, जाने र काम गर्ने समयमा कुनै रोकतोक थिएन । 

गाह्रो र अप्ठ्यारो भनेको एउटै मात्र थियो । त्यो भनेको पुरुष र महिलाको सामूहिक शौचालय; जुन समस्या अहिले पनि छ । उहाँका अनुसार त्यो बेला अन्य काम गर्न महिलाका लागि सहज भए पनि नेतृत्वदायी भूमिकामा पुग्न भने महिलाले कुर्नैपर्ने अवस्था चाहिँ थियो । उहाँले १३ वर्षसम्म अवसर पाउनुभएन । छाडेपछि एक पल्ट प्रधान सम्पादकका लागि आग्रह गरियो । यसका लागि गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य पनि प्रस्ताव गर्नुभयो तर यो पद नपाउने भएपछि उहाँ ‘दी राइजिङ नेपाल’ फर्कनुभएन । 

महिला पत्रकारका चुनौती 

महिला पत्रकार पत्रकार मात्र होइनन्; उनीहरू कामकाजी महिला पनि हुन् । गृहस्थ जीवनको बलियो खम्बा नै महिला हुन् । योबाहेक आफ्नै बलबुतामा काम गर्न उत्रेका महिला पत्रकारले घरेलुसँगै सामाजिक, संस्थागतलगायतका विविध चुनौती खेप्नु परिरहेको विभिन्न अध्ययनले देखाउँछ । हालै सार्वजनिक जनगणनाले महिलाको ठुलो हिस्सा कामकाजमा अग्रसर रहेको औँल्याएको छ । कामकाजी महिला पत्रकारको मानसिक र शारीरिक स्वास्थ्य आममहिलाको भन्दा झन् बढी बलियो हुनुपर्ने हुन्छ । 

डा. अरुणा उप्रेतीका अनुसार आर्थिक तथा पेसागत रूपमा सक्रिय महिलाको तनाव दोब्बर हुन्छ । काम गर्ने वातावरण, सही खानपानको अभाव, समयमा तलब नपाउने, सुत्केरी र महिनावारी हुँदा बढी काम गर्नुपर्दा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य र कार्यसम्पादनमा गहिरो असर देखिन्छ । महिला पत्रकारमा पनि यी सबै लागु हुन्छन् । गोरखापत्रमा पत्रकारिता पेसामा संलग्न महिलाले भोग्नु परेका चुनौती निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :

१. महिला पत्रकार पनि पत्रकारिताको प्रमुख बिट मानिने राजनीतिक, आर्थिक विषयभन्दा महिला, बालबालिका, समाज, खेलकुद, संस्कृति र मनोरञ्जनका बिटहरूमा बढी प्रेरित हुँदा÷गरिँदा क्षमता नदेखिन सक्छ । 

२. महिलालाई सक्षम नेतृत्व र ‘रोल मोडेल’ पत्रकारका रूपमा स्वीकार नगरी पुरुष नेतृत्वको सहायकका रूपमा काम गराउने पितृसत्तात्मक सोच कायम रहँदा अघि बढ्न सकिँदैन । 

३. समाचार शाखामा महिलाका समाचारीय दृष्टिकोण र उसको बौद्धिक अन्तरदृष्टिकोणलाई गफ वा कमजोर सोचको उपजका रूपमा लिइने गर्दा प्रायः महिला समाचार शाखामा घुलमिल भएर बहस गर्नुभन्दा चुप बस्ने वातावरणले उसको बौद्धिकतामै ह्रास आउन सक्छ । 

४. पुरुष सहकर्मीसँग बौद्धिक बहस गर्न चाहे पनि त्योभन्दा बढी लवाइखवाइ, रहनसहन, क्रियाकलाप, निजी जिन्दगी र सौन्दर्यका बारेमा ख्यालठट्टाको वातावरण बनाइँदा महिला पत्रकार खुल्न सक्दैनन् । 

५. महिला पत्रकारको विशिष्ट शारीरिक र मानसिक अवस्थालाई बेवास्ता गर्दै सामूहिक शौचालयको प्रयोग विगतदेखि हुँदै आएको छ । महिनावारी, गर्भवती अवस्थामा समेत सामूहिक शौचालयमा बस्नुपर्दा काम गर्ने असहजता हुन्छ । 

६. रात्रिकालीन कार्यमा खटिने र विशिष्ट खालका समाचार सङ्कलनमा जाने महिला पत्रकारका लागि सवारीको व्यवस्था नहुँदा तलबी आम्दानीको धेरै हिस्सा यसमै खर्च गर्नुपर्ने बाध्यता छ । 

७. महिला पत्रकारको सुरक्षाको विषयलाई बेवास्ता गरिएको पाइन्छ । रात्रिकालमा सार्वजनिक सवारीमा घर फर्कंदा आइपर्ने असुरक्षाका सवालमा राम्रो व्यवस्था हुन सकेको छैन ।

८. महिला पत्रकारको सङ्ख्या बढाउने नीति र विनियमावली रहे पनि भएकै महिला पत्रकारले समावेशी सुविधाको अनुभूति गर्न पाएका छैनन् । सुत्केरी महिला पत्रकारका लागि स्तनपान तथा आराम कक्षको व्यवस्था गरिएको छैन । 

९. बाइलाइन र प्रमुख समाचारको शृङ्खलाबद्ध प्रस्तुतीकरणमा प्रोत्साहन र सहयोग हुन सकेको छैन । 

१०. सामाजिक सञ्जालको आगमनले समस्या र छलफल गर्ने मञ्च उपलब्ध गराएको छ । ब्लग, च्याट, अनलाइन अभियान, अनलाइन छलफलमार्फत समाचारका विषयमा राम्ररी छलफल गर्न सकिन्छ तर त्यसमा अपमान, अवहेलना र हिंसाको सम्भावना भएकाले महिला पत्रकारले खुलेर बहस गर्न सक्दैनन् । 

११. पत्रकारका विविध शुभेच्छुक सङ्गठन छन् । तिनमा पनि महिला नेतृत्वको अभाव छ । सबैलाई समेटेर महिलामैत्री व्यवहार प्रदर्शन गर्न सकिएको छैन । 

१२. बर्सैपिच्छे खुल्नुपर्ने पदपूर्तिको नियम अवरुद्ध हुँदा महिला पत्रकारको संवैधानिक हक हनन भएको छ ।

निष्कर्ष 

महिला सशक्तीकरण र मिडिया विकासबिच स्पष्ट अन्तरसम्बन्ध रहेकाले गोरखापत्र संस्थानका प्रकाशनहरूमा महिला प्रतिनिधित्वमा वृद्धिले सञ्चार माध्यमको श्रीवृद्धि हुने स्पष्ट छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालसहितको ‘डिजिटलाइजेसन’ ले महिलाका लागि धेरै अवसर सिर्जना गरेको छ । गोरखापत्र संस्थानको समाचार शाखा लैङ्गिक समावेशीकरणका हिसाबले बलियो हुनु भनेको नेपालको संविधान, गोरखापत्र संस्थान ऐन, विनियमलगायत लैङ्गिक उत्तरदायी कानुन अनुरूपको समावेशीकरणको नीति बलियो हुनु हो । यहाँका महिला पत्रकारलाई नेतृत्वमा पु¥याउनु, सम्पादकीय क्षेत्रमा अब्बल बनाउनु भनेको पनि समाचार शाखा, समाज, परिवार र सिङ्गो देशलाई नै अब्बल बनाउनु हो । गोरखापत्र संस्थानले त्यो गर्न सक्छ र सक्नु पर्छ । नेपालको संविधानको समानताको हक, सञ्चारको हक, महिलाको हकलगायतका मर्म अवलम्बन गर्दै महिला पत्रकारमैत्री वातावरण सिर्जना गर्नु संस्थान र यसको नेतृत्वको दायित्व हो । देशकै जेठो सञ्चार माध्यमको साख दीर्घकालसम्म कायम राख्ने हो भने अब परिवर्तन सोचमा मात्र हैन, काममा पनि देखिनु पर्छ । सोही सुधारको अपेक्षासहित निम्न सुझाव प्रस्तुत गरिएको छ ः 

 १. संविधानले दिएको समानताको हक अनुसार महिला पत्रकारलाई पुरुष पत्रकारसरह समान र सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता गरिनु पर्छ । समान अवस्थामा पु¥याउन ३३ प्रतिशतबाट ५० प्रतिशत समावेशी र समानुपातिक आरक्षणको व्यवस्था गरिनु पर्छ ।

२. लैङ्गिक रूपले पक्षपाती शब्द, वाक्यांश, उखान टुक्काहरू; जसले महिला र उनीहरूको मर्यादालाई अपमानित गर्छ; त्यस्ता शब्दावलीको प्रयोगलाई प्रकाशन सामग्रीमा दुरुत्साहन गरिनु पर्छ । 

३. महिलामैत्री वातावरण निर्माण गर्न पुरुष अध्यक्ष, महाप्रबन्धक, व्यवस्थापक, प्रधान सम्पादक, सम्पादक तथा समाचारदाता सबैलाई नियमित लैङ्गिक अभिमुखीकरण र तालिमहरू प्रदान गरिनु पर्छ ।

४. लैङ्गिक संवेदनशील समाचार लेखनका लागि महिलासँगै पुरुष पत्रकारलाई पनि साथै अगाडि बढाउनु पर्छ । 

५. महिलाको समानुपातिक प्रतिनिधित्वको सिद्धान्त पालना गर्दै महिला पत्रकार भर्ती र पदोन्नतिलाई शीघ्रता दिनु पर्छ । 

६. निर्णायक पदहरू प्रधान सम्पादक, प्रबन्ध सम्पादक, डेस्क सम्पादकलगायतमा महिला पत्रकारको प्रतिनिधित्व बढाउनुपर्ने देखिएको छ ।

७. नयाँ महिला पत्रकारलाई पेसामा आकर्षित गर्न आवश्यक आर्थिक समावेशीकरण धारणाको प्रवर्धनकारी नीति अख्तियार गर्नुपर्ने देखिएको छ । 

८. कार्यस्थलमा र अनलाइनमार्फत महिला पत्रकारमाथि हुने भौतिक, नैतिक, यौन तथा साइबर हिंसाको न्यूनीकरण र रोकथामका लागि पीडितमैत्री नीतिनियम निर्माण गर्नुपर्ने देखिएको छ ।

९. पेसागत सुरक्षामा महिलाका लागि फरक व्यवस्थासहित परिपूरणको अवधारणा आवश्यक देखिएको छ । 

१०. लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय, स्तनपान कक्ष तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ ।  

११. गोरखापत्र संस्थानको आफ्नै लैङ्गिक नीति निर्माण गरेर लागु गर्नुपर्ने देखिएको छ । 

१२. गोरखापत्र संस्थानको बोर्ड सदस्यमा महिला पत्रकारको उपस्थिति धेरै सङ्ख्यामा सुनिश्चित गरिनुपर्ने देखिएको छ । 

१३. महिलामैत्री समाचार शाखासँगै प्रमुख बिटहरूमा महिला पत्रकारको उपस्थिति बलियो बनाउनुपर्ने देखिएको छ । 

१४. युनेस्कोले सञ्चार संस्थाभित्र लैङ्गिक समानता अभिवृद्धिका लागि तोकेका लैङ्गिक संवेदनशील सूचकहरूको सही पालना हुनुपर्ने देखिएको छ । 

सन्दर्भ ग्रन्थ

  • नेपालको संविधान
  • https://gorkhapatra.org.np/image/data/rules_regulation/act_2019.pdf
  • https://gorkhapatra.org.np/image/data/rules_regulation/biniyamawali%202079.pdf
  • https://thehimalayantimes.com/kathmandu/only-030pc-news-stories-have-bylines-of-female-journalists-in-nepali-media
  • https://www.mof.gov.np/uploads/document/file/1685280975_Yellow%20Book%20BIG%202080%20Final.pdf
  • https://globalpressjournal.com/asia/nepal/meet-women-transforming-journalism-nepal/
  • Sancharika Samuha (2015). Women Journalists in Nepal: A Study on the Professional Status of Women Journalists in Nepal. Lalitpur
  • https://b eyondbe ijingorg/publi c/storage/publicatio ns/November2024/TiIzQDeYHTweRhzB0aN2.pdf
  • https://ekantipur.com/ opinion/ 2021/10/10/163383225269118893.html 
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।