• ८ जेठ २०८१, मङ्गलबार

कृत्रिम वर्षा : बादल पनि चोरी हुन्छ !

blog

चाहेको बेलामा बादल लगाउने र वर्षा गराउन सकिन्छ र यो विश्वका विकसित मुलुकमा भइरहेको छभन्दा पत्यार नलाग्न सक्छ तर यो कुरा विज्ञानले सम्भव बनाइसकेको छ । यस विधिलाई कृत्रिम वर्षा वा ‘क्लाउड सीडीङ’ भनिन्छ । यस पटक हामी यसका बारेमा चर्चा गर्दैछौँ ।

छिमेकी राष्ट्र भारत र चीनलगायत विश्वका धेरै देशले यो विधि प्रयोग गरिरहेका छन् । चीनले यसलाई धेरै पहिलेदेखि प्रयोगमा ल्याएको छ । भारतले पनि ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर कृत्रिम वर्षा गराइरहेको छ । यो विधि खडेरीको समस्या भएका स्थानमा बढी मात्रामा प्रयोग गरिन्छ । सन् १९४० को दशकमा ‘क्लाउड सीडीङ’ विधि अमेरिकाबाट सुरु भएको मानिन्छ । 

कृत्रिम वर्षा कसरी पारिन्छ ?

अहिले कृत्रिम वर्षा गराउने अनेक विधि र तरिका छन् । त्यसमध्ये पहिलो विधि, कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो । अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीका रूपमा धर्तीमा बर्सिन्छ । कृत्रिम वर्षा पार्ने पछिल्लो विधि, ड्रोन विधिमा बिजुलीले बादललाई जोडसँग झट्का दिन्छ जसका कारण बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ । यी र यस्तै विधि प्रयोग गरेर अहिले संसारका विकसित देशहरूले कृत्रिम वर्षा गराउने गर्छन् । यो विधिको प्रयोग पानी पार्न वा वर्षा गराउनका लागि मात्र नभएर अत्यधिक वर्षा (अति वृष्टि) र अति कम वर्षा (अना वृष्टि)लाई सन्तुलनमा राख्न पनि गरिन्छ । यसको अर्थ कुनै स्थानमा अत्यधिक वर्षा हुन्छ भने त्यो स्थानमा समयसमयमा ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर वर्षा गराइन्छ, जसका कारण त्यहाँ ठूलो वर्षा एकै पटक हुन नपाओस् । अर्कोतर्फ यो विधिको प्रयोग गरेर अति कम वर्षा हुने स्थानमा चाहिने मात्रामा वर्षा गराइन्छ । 

कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो। अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीको रुपमा धर्तीमा बर्सिन्छ। 

वर्षाको चोरी !

के वर्षा पनि चोरी गर्न सकिन्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । वर्षाको चोरी, ‘क्लाउड सीडीङ’ सँगै जोडिएर आउने कुरा हो । के यो वास्तवमै भइरहेको छ ? यसबारेमा अहिलेसम्म यकिन रूपमा यसै हो भन्न निकै कठिन छ तर एक देशको बादल तानेर अर्को देशमा पानी पार्ने काम भयो भने के होला? यो चिन्ताको विषय भने पक्कै पनि हो । कतिपय देशहरूले बेला बखत ‘क्लाउड सीडीङ’मार्फत एक देशले अर्को देशको बादल चोरेर वर्षा गराएको भन्ने आरोप लगाउने गरेका छन् । त्यस्तै विश्वमा अहिले ‘क्लाउड सीडीङ’अन्तर्गत बादलको चोरी भयो भन्ने विषयमा विकसित मुलुकभन्दा पनि विकासोन्मुख मुलुकलाई पिरलो परेको छ । अहिले बादलको चोरीबाट वर्षा गराउने विषयलाई लिएर वैज्ञानिकहरूबीच निकै चर्चा हुन थालेको छ तर यसबारेमा प्रमाणिक तथ्य भने अझै आइसकेको छैन । 

कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ। त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरु देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला?

‘क्लाउड सीडीङ’ को प्रयोग गरेर चीनले थुप्रै सुक्खा क्षेत्रमा खेती गर्ने कार्यक्रम चलाएको समाचार सुन्ने गरेका छौँ । यस्तै केही समयअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरसहित धेरै इलाकामा तापक्रम ५० डिग्री पुगेपछि कृत्रिम वर्षा गराइएको थियो । अमेरिका, चीन, बेलायत, क्यानाडा, अस्ट्रेलियालगायतका विश्वका विकसित मुलुकहरूले खडेरी, तापक्रम वृद्धि, कृषि प्रयोजनलगायतमा बेला मौकामा कृत्रिम वर्षाको सहारा लिइरहेका छन् । यो एक हिसाबले उचित कुरा हो तर उनीहरू आफ्नो भू–भाग नाघेर अर्को मुलुकको बादल आफूतिर तानेर वर्षा गराउन थाले भने के होला? यो चिन्ताको विषय हो । 

त्यसैले भनिन्छ नि, कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ । त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरू देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला ? यसतर्फ सबैको ध्यान जान जरुरी छ । 

(विभिन्न अनलाइन तथा एजेन्सीको सहयोगमा)