• २ असोज २०८२, बिहिबार

जुक्तिबाट मुक्ति

blog

धेरै पहिलेको कुरा हो । एउटा गाउँनजिकै घना वन थियो । त्यसै वनमा एउटा बडेमानको झुम्म परेको सिमलको रुखमा कौवाका भालेपोथी गुँड बनाएर बसेका थिए । त्यसै सिमलनजिकैको मौवाको रुखमा चाहिँ कोइलीका भालेपोथीले गुँड बनाएर बसेका थिए । कोइलीका भालेपोथीका एक जोडी बचेरा पनि थिए जसका प्वाँख भर्खर पलाउँदै थिए । कहिले पखेटा पूरै पलाउलान् र आमाबुवा जस्तै भुर्र भुर्र उड्न पाइएला भन्ने आतुरी उनीहरूको मनमा थियो । आफ्नै पौरखले चारा बटुलेर पेट भर्न पाए बाआमाको बोझ कम हुने थियो, उहाँहरूलाई राहत मिल्ने थियो भन्ने कुरा ती बचेराले मनमा खेलाइरहन्थे ।

यस्तै उत्सुकता र आनन्दमा समय बितिरहेको बेला छिमेकी भाले काग हलुवामा बालुवा बन्न थाल्यो । कोइलीको गुँडैमाथिको डालीमा बिहान बिहानै आएर बसी काग झर्को लाग्दो कर्कश बोलीमा काऽऽ काऽऽ  गर्न थाल्यो । त्यति मात्र होइन, कोइलीको गुँडैमा पर्ने गरी बिस्टा पनि गर्न थाल्यो । अझ नपुगेर कता कताबाट बोकी ल्याएका सिनोका चौटा खाएर बाँकी रहेका हाड पनि त्यही गुँडमा खसालिदिन थाल्यो । कागको रुखो बासाइ (का का गरी बास्ने काम) ले बचराका कान टट्याउन थाले । कहाँ आफ्नो बुवाको मनमोहक कुहु कुहुको आवाज कहाँ त्यो बहुलाले टिन ठटाएर निकालेको आवाज जस्तो कागको वाक्क लाग्ने वाणी । 

खप्न गाह्रो परेपछि बचेराले आफ्ना माउसँग एकदिन गुनासो गरे, “लौन, यी काग काकाको कानै भब्बाउने रुखो गाना त खपी नसक्नुको भयो, त्यसमाथि गुँडमा फोहोर गरिदिएर नर्क बनाइदिए । हजुरले केही उपाय निकाल्नु प¥यो, यिनबाट हामीले छुटकारा पाउनु प¥यो ।”

बचेराको गुनासो सुनेपछि भाले एकछिन घोरियो । अब केही उपाय नगरी हुन्न भन्ने उसलाई लाग्यो  । चराको समाजमा यो गुनासो सुनाएमा समाधान त अवश्य निस्कन्छ तर सकेसम्म आफैँले समाधान गर्नु पर्छ भन्ने उसलाई लाग्यो । कागको क्याउँ क्याउँलाई हटाउने अठोट उसले ग¥यो । 

सधैँ  झैँ काग आएर उही दिक्क लाग्दो काऽऽ काऽऽ को रटान फलाक्न थाल्यो । भाले कोइलीले मिठो आवाजमा कागलाई पुकार्दै भनी, “काग भाइ, काग भाइ, जहिलेदेखि मेरो गुँडमाथिको डालीमा बसेर तपाईंले मिठा मिठा गीत सुनाउन थाल्नुभएको छ, त्यही दिनदेखि हाम्रो परिवार अत्यन्त रमाउन पाएको छ । तपाईंले गरेको बिस्टा र फ्याँकेका हाडखोर पन्छाउने काम सित्तैमा गर्न पाउँदा हामी अल्छी हुन छाडेका छौँ । हामीलाई जाँगरिलो बनाउने काम नछोड्नु होला । यो कामका लागि म हजुरलाई हरेक दिन पाँच पाँच दाना काफल दिने छु ।

काग दङ्ग प¥यो । काफल सम्झेर उसको मुखै रसायो । तैपनि खुसीलाई मनैमा दबाएर कागले भन्यो, “कोइली, लामो समयसम्म गाना गाउनु हुन्न भन्ने सोचेको थिएँ तर तिमीहरूलाई कल्याण हुन्छ भने म गाइरहन्छु । गाना बन्द हुनासाथ काफल दिनु पर्छ है ? मेरो सुकेको गला रुझाउन काफल खानै पर्छ ।” काग र कोइलीबिचको सम्झौता भएको भोलिपल्टदेखि काग झन् दोब्बर फुर्तीका साथ कोइलीको गुँडमाथिको डालीमा बसेर काऽऽ काऽऽ गर्न थाल्यो । सर्त अनुसार कोइलीले पनि पाँच पाँच दाना ताजा काफल दिनहुँ दिँदै गयो । बचेराले बाबु कोइलीको चाल बुझेनन् र दिक्क लाग्दो आवाज अझ लामो समयसम्म सुन्न बाध्य भए ।

यसरी नै १५ दिन बिते । १६ औँ दिनमा कागले गीत गाइसकेपछि कोइलीले भन्यो, “काग भाइ, तिमीले गरेको उपकारले म ऋणी भएको छु तर अब वनमा काफल निख्रिइसकेकोले कबोल गरे अनुसार काफल दिन नसक्ने भए । अर्काे सालसम्म पर्खिनुपर्ने भयो । मेरो गुँडमाथि बसेर यसै गरी मिठो गीत गाइरह्यौ भने अर्को वर्ष म हरेक दिन १० दाना काफल दिने छु ।”

काग त रिसायो । उसले भन्यो, “हेर कोइली दाइ, काफल छैन भने ऐँसेलु देऊ, झाङभरि ऐँसेलु पाकेर पहेँलपुर भएकै छन् ।”

जवाफमा कोइलीले भन्यो, “भो बाबा भो, ऐँसेलुका काँडाले चिथोरेर मेरो बिचल्ली हुन्छ । आफ्नो जिउभरि घाउ बनाएर म तिमीलाई ऐँसेलु दिन सक्दिनँ । तिमीले दुःख नमान है ?”कोइलीले गाना गाइदिएबापतको उपहार दिन पन्छिएको कुरा कागले बुझ्यो । उ रिसाउँदै भन्यो, “काग दाइ, आजदेखि तिमीसँग कट्टी भयो । आइन्दा यो हाँगामा बसेर गाउन त के तिम्रो गुँड पनि हेर्दिन । तिमीले सुन्ने गरी सुरिलो भाकामा गीत पनि गाउँदिन ।” यति भनेर काग भुर्र उड्यो ।

त्यस दिनबाट कागको कर्कश आवाज सुनिन छाड्यो । कोइलीका बचेरा निकै खुसी भए । सबै जना रमाएर बसे । कोइलीले यतिसम्मको जुक्ति ननिकालेको भए आजसम्म कागको कर्कश आवाजले तनाव दिइरन्थ्यो ।  

मुना  

Author

युगल बसेल