• २० असार २०८१, बिहिबार

आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति : महासचिव पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ११ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा चार पाँच प्रतिशत मात्र मत बढाए पनि एमाले मुलुकको सबैभन्दा ठूलाे पार्टी बन्ने बताउनुभएको छ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन लड्दा पनि केही मतले मात्र ठूलो पार्टी बन्नमा पछिपरेको भन्दै उहाँले आगामी निर्वाचनमा एमाले पुनः पहिलो शक्ति बन्ने दावी गर्नुभयो । 

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो दावी गर्नुभएको हो । मुलुक बनाउने शक्ति एमाले मात्रै भएकाले जनताले आगामी निर्वाचनमा एमालेलाई सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा पार्टीलाई संगठित र एकताबद्ध बनाएर जनताको बलमा निर्वाचन जित्ने उहाँले दावी गर्नुभयो । 

विगतमा मधेसमा चौथो पोजिशनमा रहेको एमाले स्थानीय तह निर्वाचनपछि अहिले दोस्रो पोजिशन कायम गरेकोमा उहाँले मधेसका नेता, कार्यकर्ता तथा मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । मधेसको समस्या समाधानमा एमाले प्रतिबद्ध रहेको र एमालेप्रतिको जनताको विश्वास डगमगाउन नदिने उहाँले विश्वास दिलाउनुभयो ।  

“तराई मधेसको सरकारले परिवर्तनको नेतृत्व गर्न सकेको छैन, परिवर्तनको नेतृत्व एमाले सरकारले गरेको हो” उहाँले दाबी गर्नुभयो । तराईको सबैभन्दा पुरानो हुलाकी सडक सम्पन्न हुन नसक्दा जनतामा निराशा रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “हुलाकी सडक एमाले नेतृत्वको सरकारले प्राथमिकता दिएर काम अगाडि बढाएकाले करिब ८० प्रतिशत काम सम्पन्न भएको छ ।”

मुस्लिम समुदाय राष्ट्रवादी समुदाय भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले देश विकासमा मुस्लिम समुदायले गरेको योगदानको प्रशंसा गर्नुभयो । आफ्नो कमाईको केही हिस्सा दान दिएर अरुका लागि काम गर्ने मुस्लिम समुदाय सङ्गठित शक्ति भएको उहाँले चर्चा गर्नुभयो । मुस्लिम समुदाय सीपमूलक क्षमता राख्ने समुदाय भएकाले प्रविधियुक्त शिक्षामा ध्यान दिन सुझाव दिनुभयो ।

मुलुकलाई समृद्ध बनाउने सामथ्र्य एमालेले मात्र राख्ने भएकाले मुलुक बन्न नदिन सबैतिरबाट घेराबन्दी गरिएको उहाँले टिप्पणी गर्नुभयो । जनताको बलमा एमाले नेतृत्वमा मुलुक बनाएर छाड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुलुकलाई समृद्ध बनाउन मिलिजुली सरकारले सम्भव नहुने भन्दै उहाँले एउटा सशक्त र बलियो पार्टीको नेतृत्वको सरकारले मात्र सम्भव हुने बताउनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेको नारा भएकाले त्यसलाई सार्थक बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।