• २० असार २०८१, बिहिबार

सामान्य वर्षाले भजनी र टीकापुरको केही भूभाग जलमग्न

blog

शनिबार विहान परेको वर्षाको पानीले जलमग्न भएको भजनी क्षेत्र । तस्बिर : कैलाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ११ गते । कैलालीको भजनी नगरपालिकाको केही भूभाग र टीकापुर नगरपालिकाको बजारक्षेत्र जलमग्न भएको छ । आज विहान केहीबेर वर्षा भएपछि दुवै नगरको केही क्षेत्र जलमग्न भएको हो । पानीको उचित निकास नहुँदा सामान्य वर्षाले नै जलमग्न बनाएको स्थानीयले बताएका छन् । 

आज बिहान कैलालीको मध्यपूर्वी क्षेत्रमा वर्षा भएको थियो । एक डेढ घण्टा भएको वर्षाका कारण भजनी नगरपालिकाको –१ र ३ को भूभाग जलमग्न भएको स्थानीय खेम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार पानीको निकास नहुँदा एकछिनको वर्षाले भजनीलाई समस्यामा पारेको छ । पानी निकासका लागि नाली नभएका कारण खेतमा पानी जमेको स्थानीयको भनाइ छ । 

कैलालीमा सबैभन्दा बढी भजनी नगरपालिका क्षेत्रमा डुबान हुँदैआएको छ । भजनीमा हरेक वर्ष डुबान समस्या हुँदा स्थानीयहरु पीडित हुँदै आएका छन् । विहान मात्रै पानी पर्दा खेत पूरै जलमग्न भएको स्थानीय कैलाश चौधरीले जानकारी दिनुभयो । 

यसैगरी, टीकापुर नगरपालिकाको बलभद्रचौक पनि जलमग्न भएको थियो । पानी निकासका लागि उपयुक्त नाली नभएका कारण टीकापुर जलमग्न भएको स्थानीय प्रमिला महतोले जानकारी दिनुभयो । ‘यसको दीर्घकाली समाधानको उपाय आवश्यक छ’, उहाँले भन्नुभयो ।

कैलालीको मध्यपूर्वी क्षेत्रमा पहिलो पटक वर्षा भएको हो । पहिलो दिन विहान मात्रै वर्षा भएपछि खुटिया र काँढा नदीमा बाढी आएको छ । लामो सुख्खाका कारण दुवै नदीमा पानी सुकेको थियो । नेपालको पूर्वी र मध्यक्षेत्रमा मनसुन सक्रिय भएपनि सुदूरपश्चिममा अझै मनसुन सक्रिय भएको छैन । मनसुनको लामो पर्खाइका कारण अधिकांश कृषकहरुले अझसम्म रोपाइको काम शुरु गर्न सकेका छैनन् । आज विहान परेको हल्का वर्षाले त्यस क्षेत्रका कृषकलाई राहत भएको स्थानीय कृषकहरुको भनाइ छ ।