• ३ भदौ २०८२, मङ्गलबार

पाँच वर्षमा छ पटक म्याद थप

blog

गुल्मीको रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), भदौ ३ गते । गुल्मीको मझेङ खानेपानी जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना हो । रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना सम्झौता भएको २०७७ असोज २३ गते हो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्म सकिनुपथ्र्यो तर करिब पाँच वर्ष हुँदासम्म पनि काम पूरा भएको छैन । 

रेसुङ्गा नगरपालिकाका १३ वडामा खानेपानीको पहुँच पुर्‍याउन रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना समयमै नसकिएपछि स्थानीय निराश छन् । रेसुङ्गा नगरपालिका–८ का डिलबहादुर केसीले केही समय निकै प्रचारमा आएको मझेङ खानेपानी अचेल चर्चा हुन छाडेकाले आशा पनि मर्दै गएको बताउनुभयो । 

रेसुङ्गा नगरपालिका–८ र ९ मा डिप बोरिङमार्फत खानेपानीको तत्कालको सङ्कट समाधान गरिएको छ । डिप बोरिङभन्दा पहिले सुक्खा समयमा नगरपालिकाले ट्याङ्करमा पानी बोकेर वितरण गर्ने अवस्था थियो । जसका कारण रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना निर्माणको खबरले स्थानीय खुसी थिए । यो योजनाले रेसुङ्गा नगरपालिकाको एउटा वडाबाहेक अरू सबै वडामा खानेपानीको सेवा पुर्‍याउने लक्ष्य राखिएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसाल निर्माण व्यवसायीले समयमै काम नगरेका कारण खानेपानी योजना निर्माणमा समस्या भएको बताउनुहुन्छ । सङ्घीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँचीका इन्जिनियर मोहन पोख्रेलले कनकाई जयमाता जेभी प्रालिसँग २५ करोड १२ लाख ७१ हजार रुपियाँमा खानेपानी योजना निर्माणको सम्झौता भएको तर अहिलेसम्म योजनाको ९० प्रतिशत भौतिक र ८८ प्रतिशत वित्तीय प्रगति मात्र भएको जानकारी दिनुभयो । 

पोख्रेलका अनुसार अहिलेसम्म इन्टेक, फिल्टर, पम्पिङ स्टेसन, १२५ घनमिटरका तीन वटा, ५० घनमिटरका तीन वटा, २५ घनमिटरका तीन वटा र २० घनमिटरका दुई वटा गरेर ट्याङ्की निर्माण र पाइप लाइनको काम भएको छ । अहिलेसम्म निर्माण व्यवसायीले छ पटक म्याद थप गरेका छन् । अन्तिम म्याद आगामी पुस मसान्तसम्म छ । 

तीन करोड रुपियाँको सम्झौता अनुसारको काम र थप तीन करोड रुपियाँमा वितरणका काम गरिने इन्जिनियर पोख्रेलको भनाइ छ । उहाँले बजेट अभावका कारण समयमै काम नभएकाले बर्सात सकिनेबित्तिकै सम्झौता अनुसार फिल्टरसहितको काम दुई महिनामा पूरा हुने दाबी गर्नुभयो । योजनाको काम सम्पन्न भएपछि प्रतिसेकेन्ड ४५ लिटर पानी उपलब्ध हुने बताइएको छ । योजनाका पाँच वटा स्टेसन छन् । 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले मझेङको पानी आगामी असोजसम्म ट्याङ्कीमा खसेपछि घर घरमा वितरण गरिने बताउनुभयो । उहाँले खानेपानी सङ्कट समाधान गर्ने सबैभन्दा ठुलो योजना भएकाले समयमै काम गराउन आफूहरूले निर्माण व्यवसायी र कार्यालयसँग नियमित संवाद गरिरहेको बताउनुभयो ।   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।