• ५ भदौ २०८२, बिहिबार

गोरखापत्रको सम्पादकीय विशिष्ट परम्परा

blog

सारांश

समकालीन आमसञ्चार माध्यम छापा, विद्युतीय, डिजिटल सबैमा संस्थागत दृष्टिकोण झल्कने सम्पादकीय सामग्री देखिए पनि अखबारी पत्रकारितामा भने सम्पादकीय मूल आत्मा नै हो । गम्भीर र बौद्धिक पाठक, राजनीतिज्ञ, नीति निर्माणकर्ता, उच्चाधिकारी, लेखक तथा बुद्धिजीवीको प्रिय पाठ्यसामग्री सम्पादकीयलाई गोरखापत्रले आरम्भदेखि नै प्राथमिकता दिँदै आएको देखिन्छ । समसामयिक र महìवपूर्ण विषयमा लेखिने गोरखापत्रका सम्पादकीय युगचेतना, बौद्धिक ज्ञान, जनसरोकारका विषयमा आयामिक छन् । ती सम्पादकीय गोरखापत्रको संस्थागत सम्पत्ति मात्र होइन, देशकै अमूल्य धरोहर हुन् । यस्तो बौद्धिक सम्पत्तिको विशिष्ट परम्परालाई अझ गहन र व्यापक बनाउँदै जानुपर्ने चुनौती भने छ । 

मुख्य शब्दावली : अखबारी पत्रकारिता, अग्रलेख, डिजिटल पत्रकारिता, प्रकाशकीय, विशेष सम्पादकीय, सम्पादकीय नीति ।

१. विषय प्रवेश 

सञ्चारबिना संसार असम्भव छ । सञ्चारको प्रयोग मानव सभ्यताका निम्ति मात्र होइन, जगत्मै अतुलनीय छ । तमाम जीवजन्तु पनि सञ्चारबिना ऋतुचक्रलगायतलाई निरन्तरता दिन असमर्थ हुन सक्छन् । मानव सभ्यतामा सञ्चारको विकाससँगको सामीप्यले संस्थागत प्रगति चरण सुरु भयो । त्यसले अखबारी पत्रकारिता जन्मायो, विकास र विस्तार हुँदै गयो । ताजा विषयवस्तु तथा घटनाको व्यावसायिक प्रशोधनले समाचारको स्वरूप लिँदा अखबारी पत्रकारिता उम्दा हुँदै गयो । सत्यतथ्यमा आधारित समाचार सामग्रीले मात्र पाठक सन्तुष्ट हुन सकेनन्, सत्यतथ्यका आधारमा मन्थन गरिएको विचार विवेचना पाठकका निम्ति आवश्यक प¥यो । त्यसले अखबारमा सम्पादकीय विचार परम्परालाई जन्म दियो । सम्पादकीय विचार र विवेचनामा पनि लेखकीय विचार र विश्लेषण आउने हुँदा अखबारको आफ्नै विचार राख्न सम्पादकीयको बोध भयो । त्यसैले न्युसम एन्ड उलेटले भनेका छन्, “सम्पादकीय विचार त हो तर यसले सम्पादक वा लेख्ने पत्रकारको नभई अखबारको संस्थागत भनाइलाई प्रतिविम्बित गर्छ ।”

ताजा घटनाको समाचार दिने अखबारले त्यसकै आधारमा मात्र पाठकलाई सन्तुष्ट पार्न सकेनन् । विचार र सम्पादकीय अंश थप्दै जाँदा पत्रपत्रिकालाई पूर्णतातिर लैजान थाल्यो । ताजा समाचारका साथै गम्भीर विचार, विश्लेषण र विवेचनामा आनन्द लिने पाठक पनि समेटिन थाले । यसले सम्पादकीय पृष्ठमा विविध विषयवस्तु समेटिँदै गए । त्यसमध्ये सम्पादकीय गम्भीर र अखबारको आधिकारिक दृष्टिकोण बन्दै जान थाल्यो । आहुजा एन्ड चाब्राका अनुसार निश्चित विषय वा घटनाको समाचार फेहरिस्त दिएर मात्र अखबारको कर्तव्य पूरा हुँदैन, त्यसका निम्ति सम्बद्ध अखबारको सम्पादकीय धारणा के हो भन्ने प्रश्नलाई सम्पादकीय लेखनले उत्तर दिन्छ । यसमा सम्पादकीय नीति पनि झल्कन्छ ।

१.१ सम्पादकीय : अर्थ र परिभाषा

 मूलतः सम्पादकीय अखबारी पत्रकारिताको आत्मा हो । आत्माबिना शरीरको अर्थ केवल भौतिक मात्र हुन जान्छ । विचार, विश्लेषण र विवेक टाढा बन्न जान्छ । अक्सफोर्ड लर्नर डेक्सनेरीका अनुसार सम्पादकीय कुनै निश्चित विषयमा लेखिने विचारमूलक लेख हो । नेपाली शब्दसागर भन्छ– पत्रपत्रिकामा सम्पादकले कुनै महìवपूर्ण विषयउपर जोड दिएर लेखेको खास प्रकारको लेख सम्पादकीय हो । बृहत् नेपाली शब्दकोशले कुनै पुस्तकपुस्तिकाको विषय वा उद्देश्यलाई प्रस्ट्याउने गरी सम्पादकका तर्फबाट सङ्क्षेपमा लेखिएको विशेष प्रकारको लेख नै सम्पादकीय हो । सम्पादकीयबारे सबै कोशको साझा धारणा भनेको विचारमूलक लेख हो र यो कुनै खास विषयमा जोड दिएर लेखिएको हुन्छ ।

पत्रकारिता र आमसञ्चार शब्दावली (२०१४) ले सम्पादकीयलाई यसरी परिभाषित गरेको छ :

१. अखबार वा अन्य पत्रपत्रिकामा सम्पादक वा उसका तर्फबाट कसैले सम्बन्धित सञ्चार संस्थाको आधिकारिक भनाइका रूपमा कुनै विषयउपर जोड दिएर लेखेको खास प्रकारको लेख । अखबारमा यस्तो लेख सम्पादकीय पृष्ठमा देखा पर्दछ ।

२. पुस्तकमा सम्पादकका तर्फबाट देखिएको मन्तव्य । 

सम्पादकीयलाई यो शब्दावलीले सम्बद्ध संस्थाको कुनै विषयवस्तुप्रति आधिकारिक धारणा भनेको छ । अन्य सामान्य लेखभन्दा फरक खास प्रकारको लेख मात्र भनेको छैन, सम्पादकले वा उसका तर्फबाट लेखिएको मन्तव्य भनिएको छ । यहाँ अखबारी पत्रकारिताको सम्पादकीय र त्यसमा पनि गोरखापत्र दैनिकको परम्पराको अध्ययनलाई केन्द्रित गरिन्छ । 

विभिन्न विद्वान्ले सम्पादकीयलाई विभिन्न आयामले स्पष्ट पारेका छन् । डेनियल स्मिथ (इडिटोरियल राइटिङ २०१२) ले सम्पादकीय त्यस्तो लेख हो, जहाँ अखबारले संस्थागत रूपमा आफ्नो विचार व्यक्त गर्छ र त्यो अति महìवपूर्ण हुन्छ भनेको छ । प्राडा देवी नेपाल भन्नुहुन्छ, “कुनै पनि विषयमाथिको आधिकारिक धारणाको खोजी आन्तरिक रूपमा समाविष्ट लेखरचना वा समाचारका आधारमा नभएर सम्पादकीयका आधारमा गर्ने गरिन्छ । सम्पादकीय सम्बन्धित पत्रिका वा प्रकाशन संस्थाको आधिकारिक बोली हो ।”

पत्रकारिताले सत्यतथ्यको अन्वेषण गर्छ । सत्यतथ्य घटनाको परिवेश र सम्प्रेषणबाट जानकारी हुन्छ । समाचारमा विचार मिसाउन पाइँदैन । गुल्टाङ एन्ड रुज (१९६०) ले समाचारीय मूल्यले समाचार निर्धारण गर्छ भनेका छन् तर समाचारले मात्र पाठक सन्तुष्ट हुन सक्दैनन् । समाचारमा आएका घटना परिवेशमा के कस्ता विचार विवेचना छन् भन्ने विषय गम्भीर पाठकका निम्ति खुराक आवश्यक पर्छ । त्यसै क्रममा अखबार संस्थाको आधिकारिक धारणा सम्पादकीयले मात्र प्रतिनिधित्व गर्छ । 

परम्परागत रूपमा अखबारले दिँदै आएको संस्थाको आफ्नै सम्पादकीय दृष्टिकोणलई प्रसारण तथा डिजिटल पत्रकारिताले पनि धेरथोर निरन्तरता दिँदै आएका छन् तर रेडियो, टेलिभिजन तथा अनलाइन पत्रकारिताले अखबारी पत्रकारिताको जस्तो प्रभावी सम्पादकीयको अभ्यास कमजोर नै छ । बरु ठेट सम्पादकीय नभए पनि संस्थाको आधिकारिक धारणा प्रतिनिधित्व हुने गरी सम्पादकीय स्वरूप झल्काउने खालको मिडिया विषयवस्तु भने प्रसारण तथा डिजिटल पत्रकारितामा समेत देखिने गरेका छन् ।

१.२ सम्पादकीय अर्थात् अग्रलेख 

सम्पादकीयलाई अग्रलेख पनि भनिन्छ । अङ्ग्रेजी शब्दमा सम्पादकीयलाई लिडर भनिन्छ । त्यसैलाई नेपालीमा अग्रलेख भनिएको हुनु पर्छ । लिडर शब्द नेतृत्व दिने भावमा बुझिन्छ । ‘दी गार्जियन’ का सम्पादकीय लेखक टम क्लार्कले भनेका छन्, लेखकको नामबिना नै महत्वपूर्ण दृष्टिकोण अग्रलेखले सुनिश्चित गर्छ । 

नियमित सम्पादकीयमा लेखकको नाम हुँदैन । पहिलो पृष्ठमा कुनै खास र महत्वपूर्ण विषयमा बिरलै मात्र लेखिने विशेष सम्पादकीयमा भने प्रधान सम्पादकको हस्ताक्षर हुन्छ । प्रधान सम्पादकबाहेक अरूले विशेष सम्पादकीय लेख्दैनन् र त्यस्तो हस्ताक्षर पनि हुँदैन । त्यसै गरी कुनै खास अवसरमा विशेष सम्पादकीय जस्तै प्रकाशकले पनि नाम तथा हस्ताक्षरसहित पत्रपत्रिकाको पहिलो पृष्ठमै प्रकाशकीय लेखेका हुन्छन् । प्रकाशकका नाममा लेखिने त्यस्तो सामग्री कुनै खास अवसर र विषयवस्तुमा लेखिन्छ । त्यसमा प्रकाशकीय नीतिसमेत प्रतिविम्बित भएको हुन्छ । गोरखापत्रमा प्रकाशकीय र विशेष सम्पादकीयको अभ्यास रहेको पाइन्छ ।

२. सम्पादकीय : उद्भव र विस्तार 

सम्पादकीयको जन्मकुण्डली खोतल्न अखबारी पत्रकारिताको जन्म, विकास र विस्तारसम्म पुग्नुपर्ने हुन्छ । आमसञ्चारमा प्रसारण पत्रकारिता पछिल्लो सय वर्षको विकासक्रम मात्र हो भने डिजिटल पत्रकारिता तीन दशक (सन् १९९० पछि) हाराहारीको विकासक्रम मात्र हो । डिजिटल तथा प्रसारण पत्रकारिताको जग पनि अखबारी पत्रकारिता नै हो । अखबारी पत्रकारिताका मूल्य, सिद्धान्त र आचारलाई पछिल्ला माध्यमले निरन्तरता दिएका छन् । माध्यमको प्रकृति अनुसार डिजिटल पत्रकारिता विस्तार हुँदै गए पनि आमसञ्चारको पुर्खासम्म पुग्न रोमन साम्राज्यसम्म पुग्नुपर्ने हुन्छ ।

२.१ आमसञ्चारको पुर्खा ‘एक्टा डिउर्ना’

‘एक्टा डिउर्ना’ (इसापूर्व ५९) मा रोमन सम्राट जुलियस सिजरको समयमा कपडाबाट बनाइएका सूचना सार्वजनिक स्थानमा राखिन्थ्यो । दिनभरिका खबर आधिकारिक रूपमा राखिने भएर त्यसलाई ‘एक्टा डिउर्ना’ भनियो । ल्याटिन भाषामा सरकारका तर्फबाट दैनिक कार्य बुझाउन ‘एक्टा डिउर्ना’ प्रयोग हुन्थ्यो । यसलाई दैनिक गजेटका रूपमा लिन थालियो । विकासव्रmममा १५÷१६ औँ शताब्दीमा गजेटै भनेर पनि पत्रिका निस्कन थाले । सरकारको आधिकारिक प्रकाशन गर्ने गजेटको नेपाली रूप राजपत्र अहिले पनि नेपाल सरकारबाट प्रकाशित भइरहेको छ ।

छाप्ने मेसिन (सन् १४४० जर्मनी) को आविष्कार नहुँदासम्म पुस्तकसमेत हस्तलेखन तथा ब्लक छपाइमा आधारित थिए । पत्रपत्रिका विकासले पखेटा फिँजाउन सकेनन् । जर्मनीमा छाप्ने मेसिनको आविष्कारसँगै त्यसको व्यावसायिक प्रयोग हुन थाल्यो । सुरुमा पुस्तक अनि पम्प्लेट हुँदै युरोपमा १५ औँ र १६ औँ शताब्दीमा पत्रपत्रिका निस्कन सुरु भए । बेलायती औपनिवेशिक मुलुक अमेरिकामा पनि पत्रपत्रिकाको विस्तार हुन पुग्यो । घटनाको सूचना समाचारका रूपमा पत्रपत्रिकाले दिने प्रचलनले सन् १७०२ मा त बेलायतमा दैनिक अखबार ‘डेली कुरान्ट’ निस्कन थाल्यो तर त्यतिबेलासम्म सम्पादकीयको अवधारणा विकास भएको पाइँदैन । त्यतिबेला पत्रपत्रिका सम्पादकीयबिना नै प्रकाशित हुन्थे ।

२.२ डिनियल डेफोको नयाँ प्रयोग

पत्रपत्रिकामा घटना समाचार मात्र छापिरहेका बेला अनौठो अभ्यास देखिन थाल्यो । अखबारप्रति सर्वसाधारणको धारणा जानकारी लिन विचारलाई समेट्ने प्रयास भयो । त्यो प्रयास डेनियल डेफोले गरे । डेफोको त्यो नयाँ अवधारणा थियो । लेखक तथा पत्रकार डेनियल डेफोले सन् १७०४ मा साप्ताहिक ‘दी रिभ्यु’ प्रकाशित गर्न थाले । त्यसमा समाचार सामग्रीका साथै पाठकको विचार र प्रतिव्रिmया समेट्न थाले ।

समाचार तथा घटनाक्रमप्रति पाठकको विचार र प्रतिक्रियाले अखबारमा विचार सामग्रीको जन्म दियो । लन्डनबाट प्रकाशित ‘दी रिभ्यु’ (१७०४–१३) मा पहिलो पटक विचार सामग्रीका रूपमा सामाजिक तथा राजनीतिक विषयवस्तु देखिन थाले । ती सामग्री पनि यथार्थमा सम्पादकीय थिएनन् तर सम्पादकीय उद्भवका निम्ति उर्वर पृष्ठभूमि थिए । विचारका रूपमा पाठक तथा लेखकको प्रतिव्रिmया भए पनि अखबारको दृष्टिकोण आवश्यकताबोध हुँदै गयो । समयसँगै अभाव पूरा हुँदै जाने रहेछ । त्यो अभाव नोह वेब्सटरले पूरा गरे । अखबारको मास्ट हेडमाथि नै सम्पादकीय लेखेर प्रकाशित गर्न थालियो । आमसञ्चार शब्दावलीमा भनिएको छ– बेलायतका नोह वेब्स्टरलाई सर्वप्रथम सम्पादकीय छाप्ने चलन सुरुवात गरेको श्रेय दिइन्छ, जसले सम्पादकीयलाई अखबार शीर्षकको माथिपट्टि छापे । त्यसलाई अखबारको संस्थागत अभिव्यक्तिका रूपमा लिन थालियो ।

३. सम्पादकीय : सिद्धान्त र क्षेत्र

बेलायती संसदीय अभ्यासले पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा प्रादुर्भाव गरायो । राजनीतिज्ञ एवं सांसद एडमन्ड बर्कले (सन् १७२९–९७) ले चौथो अङ्गको अवधारणा उद्भव गराए । बर्कले सन् १७८७ मा बेलायती सांसदहरूलाई संसद्भित्र आफ्नो मर्यादा कायम गरेर जनसरोकारमा केन्द्रित भई जिम्मेवारपूर्वक बोल्न आग्रह गर्दै संसदीय गतिविधिलाई चौथो अङ्गले गम्भीर भएर नियालिरहेको छ भने । थोमस कार्लाइलले एडमन्ड बर्कले संसद्मै बोलेको कुरालाई आधार मान्दै प्रेस राज्यको चौथो अङ्ग हो भने । आमहितमा पत्रकारिता समर्पित हुनु पर्छ भन्ने मान्यताका साथ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछि प्रेसलाई चौथो अङ्ग मानियो । संविधानमा नलेखिए पनि अन्य तीन अङ्ग जस्तै पत्रकारिता आमलोक स्वार्थका निम्ति समर्पित हुनुपर्ने सैद्धान्तिक मान्यता पायो ।

अखबारी पत्रकारिता मात्र रहेको त्यस समयसँगै स्वतन्त्र र निष्पक्ष भूमिकातर्फ पत्रकारिता अग्रसर हुँदै जाँदा संस्थागत अवधारणा विस्तार हुँदै गयो । अखबारको आफ्नै दृष्टिकोण सम्पादकीयले सैद्धान्तिक र क्षेत्रगत आयाम लिँदै गयो । नेसनल कन्फ्रेन्स अफ एटिटोरियल राइटर्स (१९४८) ले सम्पादकीयका सिद्धान्त तथा क्षेत्रमा गहन विमर्श गर्न पुग्यो । सम्पादकीयको आधारभूत पक्षबारे सार्वजनिक हित र सेवामा सम्पादकीय प्रतिबद्ध हुनुपर्नेमा जोड दिइयो । सम्पादकीय लेख्नेहरूले घटना, सूचना र परिवेशको निष्पक्ष विवेचना गर्नुपर्ने छ । लोकतन्त्रले स्वस्थ तवरले काम गर्न स्वतन्त्र प्रेस चाहिन्छ । त्यसैले सम्पादकीय लेख्दा विचार गर्नुपर्ने नौ वटा बुँदालाई सैद्धान्तिक र क्षेत्रगत आयाम दिइयो । त्यसको सार यस्तो रहेको छ :

क) सम्पादकीय लेख्दा तथ्यलाई पूर्ण र इमानदारीपूर्वक प्रस्तुत गर्नुपर्ने छ ।

ख) सम्पादकीय सार्वजनिक हितका निम्ति समर्पित हुनाले तथ्यमा आधारित भई निष्पक्ष तवरले विचार र तर्कसहित निष्कर्षमा पुग्नुपर्ने छ ।

ग) सम्पादकीय व्यक्तिगत आग्रह र पूर्वाग्रहबाट अलग हुनुपर्ने छ । व्यक्तिगत तथा संस्थागत स्वार्थको टकराव हुनुहुँदैन ।

घ) सम्पादकीय तर्कवितर्क गरी निष्कर्षमा पुग्दा विविध पक्ष र आवाजको विमर्श गरी स्वस्थ र तर्कपूर्ण विवेचनालाई स्थान दिनुपर्ने छ ।

ङ) एक पटक प्राप्त निष्कर्ष सधैँ सही र सत्य नहुने हुँदा नयाँ सूचना, जानकारी, तथ्य र घटनाप्रति सम्पादकीय देख्दा ध्यानदृष्टि पु¥याइरहनु पर्छ ।

च) स्थापित मान्यतालाई कमजोर तर्कले खण्डन गरेर सम्पादकीय देखिनु हुँदैन । 

छ) सम्पादकीय सामग्रीमा कुनै पनि व्यक्तिको गोपनीयतालाई सम्मान गरिनु पर्छ तर व्यापक सार्वजनिक हितविपरीत त्यस्तो गोपनीयता भए बाहिर ल्याउनसमेत पछि पर्नुहुन्न ।

ज) बाह्य जनशक्ति वा विज्ञबाट देखिएको सम्पादकीय प्रयोग गर्न सकभर निरुत्साहित गरिनु पर्छ ।

झ) सशक्त र तर्कपूर्ण आलोचना तथा निष्कर्षलाई प्राथमकिता दिई पेसागत मर्यादालाई उच्चस्तरमा कायम राख्दै सम्पादकीय लेखिनु पर्छ ।

यी नौ वटा बुँदा सम्पादकीय लेखनका निम्ति सैद्धान्तिक आधार हुन सक्छन् । विषयवस्तुको आचार र मर्यादालाई क्षेत्रगत सीमाङ्कन गर्न थप आधार बन्न सक्छन् । गोरखापत्रको सम्पादकीय परम्परामा यी सैद्धान्तिक आधारको विवेचना गर्ने प्रयास यहाँ गरिएको छ ।


३.१ प्रकाशकीय : संस्थागत प्रतिबद्धता

हरेक छापा माध्यमको प्रकाशक हुन्छन् । प्रकाशक प्रवर्धक हुन् । विद्यमान ऐन कानुनको परिधिमा रही प्रकाशन गरिनुपर्ने हुन्छ । हरेक पत्रपत्रिकाको प्रत्येक अङ्कमा प्रकाशकको नाम, प्रकाशन गरिने ठेगाना उल्लेख भएको हुन्छ । पत्रपत्रिकामा प्रकाशनसँग सम्बन्धित महìवपूर्ण विषयवस्तुमा प्रकाशकीय लेखिने प्रचलन हुन्छ । गोरखापत्रमा पनि यो परम्परा छ । वार्षिकोत्सव तथा अन्य विशेष अवसरमा प्रकाशकीय दिइन्छ । वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले पत्रकारिताको आयाममा उल्लेख गर्नु भए अनुसार वार्षिकोत्सवलगायतका विशेष अवसर, छपाइ कागजको अस्वाभाविक मूल्यवृद्धि भई प्रकाशन व्यवसायलाई कठिनाइ परेको अवस्थामा पत्रिकाको मूल्यवृद्धि गर्दा, प्रकाशन संस्थामा आव्रmमण, हस्तक्षप वा दमन आदिमा प्रकाशकीय लेख्ने परम्परा रहेको छ । गोरखापत्र दैनिकले पनि वार्षिकोत्सवलगायत विशेष अवसरमा प्रकाशकीय दिने गरेको छ । अखबारको पहिलो पृष्ठमै प्राथमिकताका साथ प्रकाशकीय दिइएको हुन्छ । प्रकाशकीयमा अखबार प्रकाशनको उद्देश्यका साथै सम्पादन गरिएका र आगामी दिनमा गरिने कामलाई प्रमुख प्राथमिकता दिइएको हुन्छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी संस्थानको उद्देश्य पूरा गर्ने प्रतिबद्धता प्रकाशकीयमा प्रतिविम्बित भएको बताउनुहुन्छ । संस्थान कार्यकारीले पाठकसँग संवाद गर्ने अवसर प्रकाशकीय भएकाले आफूले त्यसै अनुरूप लेख्ने गरेको स्मरण गर्नुहुन्छ ।

प्रकाशकीयले संस्थाको प्रकाशन नीतिसँगै सम्पादकीय नीतिलाई समेत मार्गनिर्देश गरेको हुन्छ । कतिपयले सम्पादकीय स्वतन्त्रताका विषय उठान गरेर प्रकाशकीयप्रति अलग विचार पनि राख्न सक्छन् । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी प्रकाशकीयले सम्पादकीय मूल्यलाई दृष्टिगत गरेको बताउनुहुन्छ । उहाँका अनुसार गोरखापत्रका प्रकाशनले राज्यप्रतिको जिम्मेवारी पूरा गर्न नागरिकप्रति उत्तरदायी हुँदै वर्तमान प्रतिस्पर्धात्मक बजारमा खरो उत्रन व्यावसायिक दक्षताका साथ अगाडि बढाउनु पर्छ । विशेष अवसरमा लेखिने प्रकाशकीयले तिनै विषयलाई प्रतिनिधित्व गरिहेको उहाँको भनाइ छ ।

विशेष अवसर पारेर देखिने प्रकाशकीय यथार्थमा सङ्क्षिप्त हुन्छन् तर तिनको संस्थागत प्रतिबद्धता भने महत्वपूर्ण हुन्छ । प्रकाशकीयमा संस्थाको विगत स्मरण वर्तमानको कार्य उल्लेख गर्दै भावी मार्गचित्र कोर्ने यत्न गरेको हुन्छ । पूर्वकार्यकारी अध्यक्ष भण्डारी तथा वर्तमान अध्यक्ष सुवेदीले जोड दिनुभए झैँ गोरखापत्रको प्रकाशकीयले संस्थानका प्रकाशनको प्रकाशकीय लक्ष्यलाई मार्गनिर्देश गरिरहेको मान्न सकिन्छ ।

३.२ सम्पादकीय : सशक्त विचार र नीतिगत मार्ग

आमसञ्चार संस्थाका आआफ्नै सम्पादकीय नीति हुन्छन् । ती नीति घोषित वा अघोषित हुन सक्छन् । सञ्चार संस्थामा लगानीकर्ताको सम्पादकीय नीतिमा संस्थागत भूमिका हुन सक्छ । सार्वजनिक वा निजी क्षेत्र कसले समाचार संस्था चलाएको हो, त्यसैका आधारमा प्रकाशकीय तथा सम्पादकीय नीति अभ्यासमा रहन्छ । सम्पादकीय तथा प्रकाशकीय नीति लिखित वा अलिखित देखा पर्छ । सम्पादकीय तथा प्रकाशकीय नीति लिखित नै भए पनि मुलुुकी संविधान, कानुनी व्यवस्था, प्रेस स्वतन्त्रताका आधारभूत मान्यता, पत्रकार आचारसंहिता आदिबाट समेत निर्देशित हुन्छ ।

गोरखापत्रको प्रकाशक गोरखापत्र संस्थान हो । गोरखापत्र संस्थान सरकारी स्वामित्वको सार्वजनिक संस्थान हो र यसमा नेपाल सरकारको सम्पूर्ण लगानी छ । गोरखापत्रको प्रकाशकीय तथा सम्पादकीय नीतिमा ऐनका प्रावधान प्रभावी बन्नु स्वाभाविक हो । सरकारी लगानी भएकै कारण कतिपयले गोरखापत्रका प्रकाशनलाई सरकारी मुखपत्र ठान्छन् तर गोरखापत्र संस्थान ऐन, २०१९ को प्रस्तावनामा भनिएको छ ः

नेपाली जनताको सुविधा एवं आर्थिक हितको लागि गोरखापत्र दैनिकको सञ्चालन एवं प्रकाशनलाई नेपाल सरकारको नियन्त्रणबाट झिकी सर्वसाधारण जनतालाई सकभर बढी मात्रामा सरिक गराई त्यसको प्रकाशनको स्तर उठाएर समयानुकूल बढ्ता लोकप्रिय र प्रभावकारी बनाउन संस्थानको रूपमा गठन र व्यवस्थापन गर्नु वान्छनीय भएकोले ।

गोरखापत्र संस्थान ऐनले सरकारको ५१ प्रतिशत सेयर कायम राखी सर्वसाधारण र संस्थान कर्मचारीलाई वितरण गर्ने भनिएको छ । संस्थान ऐनका विधि निर्माताले संस्थानलाई सरकारी तथा निजी साझेदारीको अवधारणामा सञ्चालन गर्न खोजेको देखिन्छ । सेयर स्वामित्वको प्रस्तावले सोही कुरा बोल्छ । सरकार नियन्त्रित मात्र बनाउने ध्येय देखिन्न तर पनि छ दशकमा समेत निजी क्षेत्रमा सेयर दिने प्रावधान कार्यान्वयनमा आउन सकेको छैन । गोरखापत्रको सम्पूर्ण स्वामित्व सरकारकै भएकाले सम्पादकीय नीति त्यसै अनुरूप निर्देशित हुनु स्वाभाविक हुन आउँछ ।

गोरखापत्र संस्थान ऐनको दफा १७ ले संस्थानको काम र कर्तव्य व्यवस्था गरेको छ । काम र कर्तव्यको व्यवस्था गोरखापत्रका प्रकाशनहरूको प्रकाशकीय तथा सम्पादकीय नीति निर्देश गर्ने देखिएको छ । सो दफाको पहिलो उपदफामा भनिएको छ :

राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पूर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले युक्त पत्रपत्रिकाको प्रकाशन एवं वितरणद्वारा देशी वा विदेशी समाचार एवं अन्य उपयोगी कुराहरूको जानकारी सर्वसाधारणलाई नेपालभर सरल, सुलभ एवं सुपथ किसिमले उपलब्ध गराउनु संस्थानको कर्तव्य हुने छ । 

गोरखापत्र संस्थानको काम र कर्तव्य अनुसार संस्थानका प्रकाशनमा राष्ट्रिय दृष्टिकोण अनिवार्य छ । संस्थानले हाल गोरखापत्र दैनिक, अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’, ‘मधुपर्क’ साहित्यिक मासिक, युवाका निम्ति ‘युवामञ्च’ मासिक, बालबालिकाका निम्ति ‘मुना’ मासिक प्रकाशनका साथै गोरखापत्र अनलाइनले डिजिटल पत्रकारितामा नेपाली तथा अङ्ग्रेजी सेवा दिइरहेको छ । पत्रकारिता सेवा व्यवसाय नै हो । यी सबै सेवामा राष्ट्रिय दृष्टिकोणका सामग्री आयामिक हुनुपर्ने छ । ती सामग्री पूर्ण स्वस्थ हुनु भनेको सत्य र तथ्यलाई आधार मान्नु जरुरी ठानिन्छ । त्यस व्रmममा उत्तरदायी पत्रकारिताका माध्यमबाट पाठकलाई सुसूचित गर्नुपर्ने छ । सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु आदि पत्रकारिताको मूल कार्यलाई काम कर्तव्यले समेटेको देखिएको छ । समाचारीय मूल्यका देश तथा विदेशका समाचार सामग्री सरल र सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने विषयले गोरखापत्रका प्रकाशनको प्रकाशकीय तथा सम्पादकीय नीतिलाई मार्गनिर्देश गर्ने देखिन्छ । 

४. नेपाली पत्रकारितामा सम्पादकीय र गोरखापत्रको परम्परा 

विश्व पत्रकारिताको इतिहास लामो भए पनि नेपालमा पत्रपत्रिका प्रकाशनको इतिहास डेढ सय वर्ष पनि पुग्न सकेको छैन । विसं १९४० को दशकमा बनारसबाट नेपाली भाषामा ‘गोरखा भारत जीवन’ प्रकाशित भयो । युगकवि मोतीराम भट्ट अध्ययन गर्न बनारस रहँदा उहाँको संलग्नता समेतमा प्रकाशित ‘गोरखा भारत जीवन’ को अनुभवले नेपालबाट पहिलो पत्रिका ‘सुधा सागर’ (विसं १९५५) प्रकाशन गर्न सहयोग पुग्यो । ‘सुधा सागर’ को तयारीमा महìवपूर्ण योगदान भए पनि प्रकाशन हुँदा मोतीराम भट्टको ३० वर्षको उमेरमै निधन भइसकेको थियो । विसं १९५५ साउनमा प्रकाशन भएको ‘सुधा सागर’ तथा त्यसअघि मुलुकबाहिर प्रकाशन भएको ‘गोरखा भारत जीवन’ समाचारपत्र नभई साहित्यप्रधान थिए । यी दुवै प्रकाशन भएको इतिहास भए पनि हाल उपलब्ध हुन नसकेका कारण तिनमा सम्पादकीय लेखिएको थिए वा थिएनन् भन्ने यकिन छैन । थप अनुसन्धानको विषय भने बन्न सक्छ ।

‘सुधा सागर’ को प्रकाशनको नेतृत्व गरेका पण्डित नरदेव पाण्डेको अनुभवलाई उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले प्रयोग गरेको देखिन्छ । प्रधानमन्त्री (विसं १९५८ चैत) भएको दोस्रो महिनामै नेपालबाट समाचारपत्र प्रकाशित हुन थाल्यो । विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन प्रारम्भ भयो । पण्डित नरदेव पाण्डेका नाममा गोरखापत्र प्रकाशनका निम्ति कानुनी प्रावधान समेट्ने सनद लेखेर दिएका कारण गोरखापत्रको सम्पादकीय फाँट उहाँकै भूमिका बढी भएको बुझ्न सकिन्छ तर गोरखापत्र प्रकाशनका निम्ति व्यवस्थापकीय महìवपूर्ण भूमिकामा जयपृथ्वीबहादुर सिंहको नाम आउँछ । गोरखापत्रको पहिलो अङ्कमै विविध सामग्रीसँगै सम्पादकीय प्रतिनिधित्व गर्ने सामग्री देख्न सकिन्छ । त्यसैले नेपालमा समाचार सामग्री प्रकाशित गरी पहिलो इतिहास रचेको गोरखापत्रले सम्पादकीय परम्परासमेत सँगै थालनी गरेको देखिन्छ ।


४.१ एडिटर्को राय : सम्पादकीय विशिष्ट परम्परा 

कुनै पनि अखबार प्रकाशन गर्न सम्पादक अनिवार्य हुन्छ । अखबारमा सम्पादकको भूमिका नेतृत्वदायी र महìवपूर्ण रहन्छ । सम्पादक शब्द अङ्ग्रेजीको एडिटरको नेपाली रूपसमेत हो । अखबारमा संस्थाका तर्फबाट सम्पादकले लेख्न महत्वपूर्ण सामग्री सम्पादकीय हो । गोरखापत्रको पहिलो अङ्कमै सम्पादकले लेखेको विशेष सामग्री पहिलो पृष्ठमै देखिन्छ । एडिटर्को राय भनी छापिएको त्यस सामग्री यस्तो छ :

मुलुकमा धन् र सुख इलम बाट हुने हुनाले र अज्ञान जस्तो दुःःख अरु केही नहुनाले मुलुकको बढ्ति हवस् अज्ञान को दुःख मेरो दुनिञा मा नहोस् भनी ठाउँ ठाउँ मा गरी ३५ पाठशाला राखि बक्से को हुनाले र डेढ मैन्हा भित्र मा दुनिञा को निमित्त अरु ७.८ ठुला काम गरी बक्सदा सारा दुनिञा हरू ले ठुलो सुख पाया को हुना ले र देश देशावरको गैह्र खबर, अघिका ठुला ठुला मानिस हरू ले गरेको बुद्धि पुर्वक को चरित्र, देश देशावरमा मुलुक को उन्नति को काम भया को हाल आज काल बढा बढा बुद्धिमान मानिस हरूले बुद्धि फैलाइ ठुलो ठुलो काम गरे को खबर समेत छापा बाट थाहा हुने होता पनी आज सम्म नेपाल मा प्रकाश हुन नसके को छापामा प्रकाश गर्न लाइ हामि ले बिन्ति चढाउदा श्री ३ माहाराज बाट दुनिञा को फाईदा र मुलुक को उन्नति हुने हुना ले छापा प्रकाश गर्न लाइ हुकम बक्सी ....

एडिटर्को राय पहिलो पृष्ठबाटै सुरु भएको छ । एडिटर्को राय भन्नु सम्पादककै कलमबाट लेखेको स्पष्ट छ । सम्पादकीय संस्थागत विचार हो र यसको सुरुवात गोरखापत्र (सुरुमा गोर्खापत्र, विसं १९८३ जेठ ४ गतेदेखि गोरखापत्र, फेरि २०६२ वैशाख २४ गतेदेखि गोर्खापत्र, पछि २०६३ वैशाख २४ गतेबाट निरन्तर गोरखापत्र) ले पहिलो अङ्कमा अभ्यास गरेको देखिन्छ । यो एडिटर्को रायले त्यसबेलाको देशीय र वैश्विक परिवेश झल्काउँदै गोरखापत्र प्रकाशनको औचित्य स्पष्ट पारेको देखिन्छ । सो सम्पादकीय सामग्रीमा उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले शासन आरम्भको छोटो अवधिमै गरेको सात÷आठ कामलाई प्राथमिकतामा राखेको छ । पहाड र तराईमा भाषा पाठशाला खोलेर शिक्षामा गरेको सुधारको चर्चा छ । अखबारले सूचना, शिक्षा र ज्ञान विस्तारमा संसारभर भूमिका निर्वाह गरिहेको तर नेपालमा समाचार प्रकाशन गर्ने अखबार नभएकाले अखबार प्रकाशन गर्न श्री ३ देवशमशेरलाई अनुरोध (बिन्ती) गर्दा प्रकाशनको अनुमति पाएको विषयवस्तु उठान गर्दै गोरखापत्रको लक्ष्य तथा उद्देश्य र फाइदालाई सविस्तारमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।

पहिलो अङ्कमा को एडिटर थिए भन्ने खुल्दैन तर सनद नरदेव पाण्डेकै नाममा जारी भएकाले एडिटर्को राय पण्डित पाण्डेले नै लेखेको अनुमान गर्न सकिन्छ । गोरखापत्रको प्रकाशनको लामो कार्यकाल सम्पादकको नाम उल्लेख नै नगरी छापियो । एडिटर्को राय बेला बेला मात्र छापिन्थ्यो । सम्पादकीय नियमित हुँदैनथ्यो । कहिले पहिलो पृष्ठ र कहिले दोस्रो पृष्ठमा सम्पादकीय प्रकाशन हुँदै आएको देखिन्छ । 

गोरखापत्रले एडिटर्को रायमा कहिलेकाहीँ असाध्यै लामो सामग्री पनि छाप्ने गरेको थियो । विसं १९५९ चैत ७ गते गोरखापत्रकै इतिहासमा सबैभन्दा लामो सम्पादकीय अर्थात् एडिटर्को राय लेखियो । त्यतिबेला आठ पृष्ठ प्रकाशित हुने गोरखापत्रमा चार पृष्ठ त सम्पादकीय नै लेखिएको थियो । लेखिएको विषय भने नेपालबाट जापानमा उच्च शिक्षा अध्ययन गर्न जाने आठ जना नेपाली विद्यार्थीबारे थियो । पछि १९८७ पुस २२ गते पहिलो पृष्ठभरि ओगट्ने एडिटर्को राय छापिएको देखिन्छ । त्यसबेला सम्पादकीय सामग्रीको एकरूपता भने देखिँदैन ।


४.३ पहिलो सम्पादक प्रेमराज शर्मा

साप्ताहिक रूपमा प्रत्येक सोमबार प्रकाशन भएको गोरखापत्र ३३ वर्ष सम्पादकको नामबिना नै छापियो । विसं १९९१ वैशाख ४–११ को अङ्कदेखि मात्रै गोरखापत्रमा सम्पादकको नाम छाप्न थालियो । ‘सम्पादक प्रेमराज शर्माद्वारा गोरखापत्र छापखाना नक्साल नेपालबाट प्रकाशित’ भनी प्रिन्ट लाइनमा छाप्न थालियो । त्यसपछि पनि सम्पादकीय भने निरन्तर देखा पर्न सकेन । बेलाबखत सम्पादकीय झल्कने दिने सामग्री भने प्रकाशन भइरहन्थे । त्यस्तो सामग्री गोरखापत्रको दोस्रो पृष्ठका सम्पादकीय झल्कने गरी दिएको देखिन्छ । विसं १९९८ कात्तिक २२ गतेको गोरखापत्रको दोस्रो पृष्ठमा यस्तो सामग्री देखिन्छ ः

आरम्भकै कोलमको सिरानमा– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लेखी, त्यसको तल अलि ठुलो अक्षरमा गोरखापत्र र त्यसभन्दा तल– नेपाल, कार्तिक २२ गते शुक्रबार १९९८ र त्यसको तल ‘नाजीहरूको हैरानी’ शीर्षकमा एक कोलम पूरै र थप चौथाइ कोलम सामग्री दिइएको छ । यो सामग्री नाजीविरुद्ध देखिन्छ । दोस्रो महायुद्ध चलिरहेको र नेपाली युवा बेलायती सेनामा रहका कारण गोरखापत्रको सम्पादकीय नाजी जर्मनीविरुद्ध हुनु स्वाभाविक थियो । सम्पादकीय दृष्टिकोण स्पष्ट हुने गरी सो सामग्री दिइएको छ । यो र यस्तै कतिपय सामग्रीलाई सम्पादकीयको निरन्तर परम्परा भन्न सकिन्छ ।

४.४ सात सालपछिको सम्पादकीय विकासक्रम 

गोरखापत्रले विसं २००७ अघि सम्पादकीय देखिएको शीर्ष नाममुनि लेखेको पाइँदैन तर सम्पादकीय झल्कने सामग्री भने सम्पादकीयकै ढाँचामा पढ्न पाइन्छ । विसं १९९१ देखि प्रकाशन भएको ‘शारदा’ साहित्यिक पत्रिकाले भने आरम्भदेखि नै सम्पादकीय लेख्न थाल्यो । पछि राणा शासनको अन्त्य भई प्रजातन्त्र प्राप्तसँगै देशमा पत्रपत्रिका प्रकाशनको लहर व्यापक चल्यो । सात सालपछि प्रकाशित भएका सबै जसो पत्रिकाले सम्पादकीय नाम दिएर वा नदिएर सम्पादकीय लेख्न थाले । 

सात सालअघिबाटै गोरखापत्र साताको तीन दिन प्रकाशन हुन थालेको थियो । दोस्रो पृष्ठको सुरुकै कोलममा अलि बेग्लै फन्टमा माथि गोरखापत्र लेखेर त्यसमुनि छापिएको सामग्री सम्पादकीयकै निरन्तरताका भन्न सकिन्छ । कतिपय धार्मिक, सांस्कृतिक, चिकित्सालगायतका विषयमा सम्पादकीय सामग्री लेखिएको देखिन्छ । सात सालकै एक अङ्कमा देवाली पूजाबारे सम्पादकीय देखिएको छ भने २०१६ कात्तिक २० गते शुक्रबार आयुर्वेद चिकित्साको विषयमा सम्पादकीय सामग्री प्रकाशित छ । 

४.५ सत्र सालको घटनापछि गोरखापत्र 

नेपालको इतिहासमा २०१७ पुस १ गते जनअधिकार समाप्त भएको दिन थियो । त्यसको भोलिपल्ट पुस २ गतेको गोरखापत्रको सो घटनाबारे ब्यानर समाचार छापिएको छ । समाचारको शीर्षक ‘श्री ५ महाराजधिराजबाट राष्ट्रका नाममा शाही घोषणा’ छ । सोही घोषणाबाटै राजा महेन्द्रले जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाको सरकार विघटन गरे । संसदीय प्रजातन्त्रको घाँटी निमोठियो । सरकारी स्वामित्व र नियन्त्रणमा रहेको गोरखापत्रले २०१७ पुस २ गते ‘उचित कदम’ शीर्षकमा शाही घोषणा सविस्तार गर्दै सम्पादकीय लेखेको छ । प्रजातन्त्रका नाममा छाडातन्त्र जस्तै भएको भन्दै राजाको कदमको अमिलो शब्दमा उचित कदम देख्नु र सम्पादकीयमा लेख्नु गोरखापत्रको बाध्यता थियो भन्न सकिन्छ ।

साताको तीन दिन प्रकाशन भइरहेको गोरखापत्र २०१७ फागुन ७ गतेदेखि दैनिक हुन पुग्यो । प्रकाशन सुरु भएको ५९ वर्षपछि गोरखापत्र दैनिक भएको थियो । गोरखापत्र दैनिकको पहिलो सम्पादक गोपालप्रसाद भट्टराई बन्नुभयो । त्यसपछिका सम्पादकीय अझ खँदिला देखिन थाले तर गोरखापत्रलाई पञ्चायती व्यवस्थाले अझ बढी नियन्त्रण गर्न थालेकाले सम्पादकीयलगायतका पाठ्यसामग्री बढी नियन्त्रित भए । 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईले ‘मेरो म’ पुस्तकमा उल्लेख गर्नु भए अनुसार गोपालप्रसाद भट्टराईले बनारस हिन्दु विश्वविद्यालयबाट पत्रकारितामै स्नातक गर्नुभएको थियो । गोपालप्रसाद कृष्णप्रसाद भट्टराईका दाजु हुनुहुन्थ्यो । संसदीय व्यवस्थाका सबै जसो नेता कारागार गएका थिए । विघटित संसद्का सभामुख कृष्णप्रसाद बिपीसँगै कारागार पुग्नुभयो तर घर गृहस्थी भएका गोपालप्रसादलाई राजाले मन्त्री खाने वा गोरखापत्र सम्पादक भएर जाने भन्ने छनोटमा उहाँले मन्त्री पद छोडेर गोरखापत्रमा सम्पादक बन्न जानुभयो । गोरखापत्रले पत्रकारिता नै पढेको सम्पादक पायो ।

४.६ एकै दिन एकभन्दा बढी सम्पादकीय 

गोरखापत्रले धेरै लामो समयसम्म एउटा विषयमा मात्र सम्पादकीय लेख्ने गरेको थियो तर पछि दुई वटा सम्पादकीय लेख्न थाल्यो । २०१७ पुस २ गते शाही घोषणालाई ब्यानर समाचार बनाएको गोरखापत्रले २०४६ चैत २६ गते प्रजातन्त्र पुनस्र्थापनापछि अर्थात् भोलिपल्ट २७ गते पनि खुलेर समाचार दिन नसके पनि ब्यानरकै समाचार देख्यो । ‘राजनीतिक दलहरूको प्रतिबन्ध फुकुवा’ शीर्षकमा ब्यानर समाचार दिइएको छ । त्यसको भोलिपल्ट शब्द अड्कलेर सम्पादकीय लेखिएको छ । ‘सदाशय बुझिदिनु प¥यो’ शीर्षकमा पहिलो सम्पादकीय छ । दोस्रो सम्पादकीय पनि छ ।

पहिलो सम्पादकीय प्रजातन्त्र पुनस्र्थापनामा शाही कदम अगाडि बढेको विषयमै थियो । केही दिनअघि मात्र राजाले मरिचमानसिंह श्रेष्ठको सरकार विघटन गरी लोकेन्द्रबहादुर चन्दको सरकार गठन भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द वार्ता गरी त्यही मन्त्रीपरिषद्लाई अन्तरिम बनाउन चाहन्थे । त्यसैलाई सदाशय बुझिदिनु प¥यो भन्ने विषयमा सम्पादकीय लेखिएको देखिन्छ । दोस्रो सम्पादकीय भने भारतको बोफर्स भ्रष्टाचार घटनासित सम्बन्धित थियो । त्यतिबेला भारतले नेपालमाथि आर्थिक नाकाबन्दीसमेत लगाएका कारण सो विषय सम्पादकीयको विषय बन्न सकेको हुनु पर्छ ।


४.७ एकै दिन तीन वटासम्म सम्पादकीय 

आरम्भमा त्यो पनि यदाकदा मात्र एउटा सम्पादकीय देखिने गोरखापत्रमा कहिलेकाहीँ भने तीन वटा सम्पादकीय पनि देखिने गरेको पाइन्छ । प्रजातन्त्र पुनस्र्थापनाको एक साता नबित्दै २०४६ चैत ३० गतेको गोरखापत्रमा तीन वटा सम्पादकीय लेखिएका थिए । त्यस दिनको पहिलो सम्पादकीय आउँदा दिनहरू शुभ हुने छन् भन्ने विषयमा थियो । राजनीतिक परिवर्तनको सङ्व्रmमण चलिरहेको तर परिवर्तनकारी शक्तिको नेतृत्वमा अन्तरिम सरकार बनिनसकेको त्यस अवस्थामा कसैले कसैलाई धोका दिने सवालै उठ्दैन भन्दै शान्तिपूर्ण र क्रमिक परिवर्तनका पक्षमा सम्पादकीय लेखिएको छ । पहिलो सम्पादकीय दुई अनुच्छेदमा मात्र देखिएको छ ।

तीन वटा सम्पादकीयमध्ये दोस्रो सम्पादकीय पशुपालन व्यवसायमा सुधार विषयमा लेखिएको छ । दाङको बेसाहीमा समूहमा मिलेर भैँसीपालन गरिएको विषयवस्तुलाई आधार बनाएर लेखिएको सो सम्पादकीयले उन्नत पशुपालनबाट किसानको जीवनस्तर माथि उकास्न जोड दिएको छ । यो दोस्रो सम्पादकीय तीन अनुच्छेदमा लेखिएको छ । तेस्रो सम्पादकीय भने प्रतिकारात्मक शिक्षामा जोड विषयमा लेखिएको छ । यो सम्पादकीयले लागुऔषधविरुद्धको शिक्षामा जोड दिएको छ र एकै अनुच्छेद मात्र लेखिएको छ ।

विसं २०६० को मध्यसम्म दिनमा कति वटा सम्पादकीय रहने भन्ने कुरा आवश्यकताले निर्देशित गरेको देखिन्छ । कुनै दिन दुई वटा, कुनै दिन तीन वटा र कुनै विशेष दिनमा एउटै सम्पादकीय तलदेखि माथिसम्म लेखिएको देखिन्छ । ६० को मध्यदेखि भने दिनमा एउटा मात्र सम्पादकीय लेख्न थालिएको छ । पाँच÷छ सय शब्दको एउटै सम्पादकीय र त्यस तल एक सय वर्षअघिको गोरखापत्रबाट, चिन्तन आदि विषयवस्तु दिइँदै आएको छ । त्यसअघिका लामै कालखण्डमा सम्पादकीयका विविध अभ्यास देखिन्छ ।

अभ्यासकै क्रममा २०४६ चैत २८ गते भने लोकसम्मतिको कदर भनेर राजाको प्रजातन्त्र पुनस्र्थापनको कदमलाई माथिदेखि तलसम्म एउटै सम्पादकीय लेखिएको छ । औसतमा भने त्यस दशकमा दिनमा दुई वटा सम्पादकीय लेखिएको पाइन्छ । गोरखापत्रका पूर्वकार्यकारी अध्यक्ष एवं पूर्वप्रधान सम्पादक विजय चालिसे त्यतिबेला औसतमा भने दुई वटा सम्पादकीय लेख्ने प्रचलन रहेको सम्झनुहुन्छ । उहाँका अनुसार पहिलो सम्पादकीय प्रायः राजनीति र नीतिगत विषयमा हुन्थ्यो भने दोस्रो सम्पादकीय गैरराजनीतिक र जनसरोकारको विषयमा हुन्थ्यो । ताजा राजनीतिका मूल विषयसँगै आर्थिक तथा सामाजिक जीवनका समस्यालाई पनि सम्पादकीयमार्फत उठान गर्न एकभन्दा बढी सम्पादकीय अभ्यास भएको बुझ्न सकिन्छ ।

४.८ विशेष सम्पादकीय

अखबारमा कहिलेकाहीँ विशेष सम्पादकीय लेखिन्छ । यो विशेष अवसरमा मात्र लेखिने सम्पादकीय हो । देश, समाज वा विश्वमा कुनै विशेष सुखद वा दुःखद घटनाको सन्दर्भमा विशेष सम्पादकीय लेख्ने गरिन्छ । विशेष सम्पादकीय प्रधान सम्पादक आफैँले लेख्छन् । यो प्रधान सम्पादकको हस्ताक्षरसहित छापिन्छ । विशेष दिनमा छापिने विशेष सम्पादकीय नियमित पृष्ठमा छापिँदैन । विशेष दिनमा छापिने विशेष सम्पादकीय पहिलो पृष्ठमा नै प्रकाशित हुन्छ ।

गोरखापत्रले बेलाबखत विशेष सम्पादकीय छाप्ने गरेको छ । जनआन्दोलन २०६२/६३ सम्पन्न भएपछि राजाको निरङ्कुशतन्त्र समाप्त भयो । मुलुकमा लोकतन्त्र स्थापना भयो । १० बर्से द्वन्द्वमा अल्झिएको मुलुक शान्तिको दिशामा अग्रसर भयो । द्वन्द्वरत पक्ष नेपाल कम्युनिस्ट पार्टी (माओवादी) शान्ति वार्तामा आयो । सरकार र माओवादीबिच २०६३ मङ्सिर ५ गते सहमति भयो । त्यसलाई गोरखापत्रले ऐतिहासिक सहमति भनेर ब्यानर समाचार दिएको छ । समाचारसँगै सोही विषयमा विशेष सम्पादकीय पनि लेखिएको छ । तत्कालीन प्रधान सम्पादक शिवप्रसाद भट्टराईले हस्ताक्षर गरेको सो विशेष सम्पादकीय नयाँ युगको थालनी शीर्षकमा रहेको छ ।

४.९ सम्पादकीय स्केच तथा कार्टुन

सम्पादकीयमा कतिपय अखबारले स्केच वा कार्टुनको प्रयोग गरेको पाइन्छ । गोरखापत्रले सम्पादकीय कार्टुनको प्रयोग त गरेको छैन तर सम्पादकीयकै बिचमा स्केच भने दिने गरेको पाइन्छ । विसंं २०६० को मध्यतिर सम्पादकीय पृष्ठको माथिल्लो दुई कोलममा सम्पादकीय लेखी त्यसको बिचमा स्केच दिने गरिएको थियो । शान्तिको बाटोमा विद्यार्थी राजनीति भन्ने सम्पादकीय दुई कोलममा छ र त्यसको बिचमा परेवाले कलम समातेको स्केच दिइएको छ ।

कतिपय अखबारले सम्पादकीयमा व्यङ्ग्यचित्रसमेत प्रयोग गर्ने प्रचलन छ । त्यस्तो अभ्यासलाई सम्पादकीय व्यङ्ग्यचित्रका रूपमा समेत चिनिन्छ । अखबार वा पत्रपत्रिकाको सम्पादकीय पृष्ठमा राजनीतिक वा सामाजिक विषयवस्तुलाई व्यङ्ग्यात्मक तवरले चित्र प्रयोग गरिन्छ । चित्रलाई अझ प्रस्ट्याउन कहिलेकाहीँ शब्दको समेत सहयोग लिइन्छ । स्वतन्त्र प्रेसमा राजनीतिक व्यङ्ग्यचित्र बढी प्रयोग हुन्छ भने प्रेस स्वतन्त्रता निर्बाध नभएको मुलकमा सामाजिक विषयवस्तुमा त्यस्तो चित्र बढी प्रयोग हुने गरेको पाइन्छ । 

५. सम्पादकीय अन्तरवस्तु : ताजा र महत्वपूर्ण 

विश्वभरका दैनिक अखबारमा सम्पादकीयलाई आत्माकै रूपमा लिइन्छ । कुनै पनि अखबारका निम्ति सम्पादकीय महìवपूर्ण र अपरिहार्य हुन्छ । धेरै अखबारमा साताको एक दिन सम्पादकीय नलेख्ने अभ्यास हुन्छ । गोरखपत्रले शनिबार सम्पादकीय नलेखी पछिल्लो दशकदेखि यो अभ्यास पछ्याएको छ ।समाचार सामग्री सत्य र तथ्यका आधारमा हुन्छन् । लेखरचनाले अखबारको नभई लेखकीय दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । त्यसैले अखबारको संस्थागत भनाइ सम्पादकीयका आधारमा मूल्याङ्कन गरिन्छ । सम्पादकीय सम्बन्धित अखबारको संस्थागत आवाज होभन्दा फरक पर्दैन । गोरखापत्रका पूर्वप्रधान सम्पादक कृष्ण श्रेष्ठ ताजा र नीतिगत विषय सम्पादकीयको विषय छनोटको अभ्यास रहेको सम्झनुहुन्छ । उहाँका अनुसार ताजा घटना र विषयमा अखबारको दृष्टिकोण सम्पादकीयमार्फत नै सम्प्रेषण गरिन्छ ।

हुन पनि तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा चर्चित विषयलाई सम्पादकीय विषयमा छनोट गरिएको हुन्छ । युरोप र अमेरिकाका ठुला र विश्वव्यापी प्रभाव भएको पत्रिकाले विदेश नीति, अर्थतन्त्र, कूटनीति, जलवायु परिवर्तनको मुद्दालगायतका विषयमा सम्पादकीय लेख्ने गर्ने गरेका छन् । सम्पादकीय बोर्ड अर्थात् कतिपय विषयमा बाह्य विज्ञबाट सम्पादकीय लेखाइने गरेकोसमेत पाइन्छ । गोरखपत्रका सन्दर्भमा त्यस ताजा र महìवपूर्ण विषयलाई सम्पादकीयको विषयवस्तु बनाइने गरेको पूर्वसम्पादकहरूको अनुभव छ ।

सम्पादकीय संस्थाको सामाजिक वा युगीन दायित्वसँग जोडिएको हुन्छ । तर्क र विचारलाई त्यसै गरी सङ्गठित गरिन्छ । गोरखापत्रका पूर्वप्रधान सम्पादक विजय चालिसे सार्वजनिक सरोकारका अति महìवपूर्ण र तत्कालीन विषयमै सम्पादकीय देखिनुपर्ने मत प्रकट गर्नुहुन्छ । सर्वसाधारणको जीवनपद्धतिलाई असजिलो परेको तर नीति र विधिसित अन्तरविरोधले जोडिएको विषयमा गहन अध्ययन गरेर लेखिएको सम्पादकीयले अखबारको स्तर माथि उठाउने उहाँको मत छ । 

सम्पादकीय सधैँ ताजा विषयमा मात्र नहुन सक्छ । कहिलेकाहीँ ताजा नभए पनि कतिपय विषय सम्पादकीय बन्न सक्छ । ओझेलमा परेको तर जनसरोकारमा बढी प्रभावी विषय पनि सम्पादकीय बन्न सक्छ । अखबारले सम्पादकीय लेखर ओझेलमा परेको विषयलाई संस्थागत दृष्टिकोणसहित बाहिर ल्याउन सक्छ । त्यसले सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराउन सक्छ ।

५.१ सम्पादकीय लेखन प्रक्रिया : गोरखापत्रीय अभ्यास 

सम्पादकीय सम्पादक आफैँले लेख्ने अखबारी पत्रकारिताको प्रचलन हो । ससाना अखबारमा प्रधान सम्पादक आफैँले सम्पादकीय लेखे पनि ठुला अखबारमा सधैँ त्यसरी सम्पादकीय लेख्न सम्भव हुँदैन । ‘वासिङ्टन पोस्ट’, ‘न्युयोर्क टाइम्स’ जस्ता पत्रिकाले सम्पादकीय बोर्ड बनाएर वा बाहिरबाट सम्बद्ध विज्ञको सहयोग लिएर सम्पादकीय लेख्ने अभ्याससमेत पाइन्छ । कतिपय सम्पादकीय नीतिगत र पेचिला विषयमा हुन्छन् । कतिपय विशेष ज्ञान र दक्षता भएकाले मात्र लेख्न सक्छन् । पत्रकारितामा लागेको सम्पादक वा सम्पादकीय समूहका सदस्यसँग त्यस्तो दक्षता नहुन पनि सक्छ । त्यसैले बाह्य विज्ञको सहयोग लिने प्रचलन विश्वका ठुला अखबारमा रहेको पाइन्छ ।

नेपालमा भने सम्पादकीय लेखनमा बाह्य विज्ञको सहयोग लिएको खासै देख्न र सुन्न पाइँदैन । त्यस्तो कसैले गरिहाले पनि बाहिर भनिएको पाइँदैन । गोरखापत्रमा आरम्भमा सम्पादकले नै सम्पादकीय लेख्ने गरेको बुझ्न सकिन्छ । एडिटर्को राय त्यतिबेलाका सम्पादक आफैँले लेखेको हुनु पर्छ । गोरखापत्र दैनिक भएपछि दैनिक अखबार चलाउन धेरै जनशक्ति आवश्यक हुनु स्वाभाविक हो । त्यसैले कार्यतालिकामै सम्पादकीय मात्र लेख्नका निम्ति अलग्गै जिम्मेवारी दिन थालियो । कतिपय अवस्थामा सम्पादकले नै पनि सम्पादकीय लेख्ने चलन थियो । श्रीरामसिंह बस्नेत पत्रकारिताको आयाममा लेख्नुहुन्छ, “सम्पादकीय सम्बन्धित पत्रिकामा कार्यरत पत्रकारमध्ये वरिष्ठ पत्रकारले लेख्छन् । थोरै सम्पादक भएको पत्रिकामा प्रधान सम्पादक आफैँले सम्पादकीय लेख्छन् भने धेरै सम्पादक भएको ठुलो आकारको दैनिक पत्रिकामा सम्पादकीय लेख्नेको समूह नै छुट्याइएको हुन्छ । गोरखापत्रमा सम्पादकीय लेख्ने विविध अभ्यास देखिन्छ । गोरखापत्रका पूर्वप्रधान सम्पादक कृष्ण श्रेष्ठका अनुसार उहाँले एक पटक कार्यतालिकामा सम्पादकीय लेख्ने अलग्गै जनशक्ति नछु्ट्याई विषयगत रुचि र जानकारीका आधारमा दिनैपिच्छे फरक फरक पत्रकारलाई सम्पादकीय लेख्न लगाउनुभयो तर यो नौलो अभ्यास धेरै दिन टिकेन । सम्भव नभएपछि फेरि कार्यतालिकामा व्यवस्था गरेर पुरानै परम्परालाई निरन्तरता दिएको उहाँ सम्झनुहुन्छ ।

५.२ सम्पादकीय ढाँचा 

सम्पादकीय मुख्यतया आरम्भ, मध्य र अन्त्य गरी तीन भागमा विभाजित गरी लेखिन्छ । यसलाई विषय प्रवेश, व्याख्या विश्लेषण र निष्कर्षसमेत भन्न सकिन्छ । यसैका आधारमा कतिपयले तीन अनुच्छेदमै सम्पादकीय लेखिनु पर्छ भन्ने मत पनि राख्छन् तर अभ्यासमा तीनभन्दा बढी अनुच्छेदमा पनि सम्पादकीय व्यापक लेखिएको पाइन्छ । आरम्भ विषयवस्तुको प्रवेशबाट हुन्छ । फराकिलो दायरामा शान्त र सरस प्रवेशले सम्पादकीयलाई पठनीय बनाउँछ । दोस्रो खण्डमा मध्य हुन्छ र त्यहाँ तर्कवितर्क, विवेचना, विषयवस्तुको सविस्तारसहित तर्क आदि पक्षको व्यापक प्रयोग हुन्छ । सम्पादकीय लेखकमा रहेको विषयगत गहिरो ज्ञान, विशिष्ट तार्किक क्षमता, विश्लेषण आयामले सम्पादकीयको मध्य भागलाई प्रभावकारी बनाउँछ । अन्त्यमा निष्कर्ष हुन्छ र त्यसले आलोचना, सुझाव, नीतिगत बहसको निचोड निकाल्छ । 

उदार राजनीतिक व्यवस्था भएका मुलुकमा कतिपय अखबारका सम्पादकीयले गलत काम गर्ने सरकारको आसनसमेत हल्लाउँछ । प्रभावकारी प्रस्तुतिले सम्पादकीयलाई स्तरीय र युगीन बनााउँछ । गोरखापत्रका पूर्वप्रधान सम्पादक विजय चालिसे गोरखापत्र सरकारी स्वामित्वको अखबार भएकाले नीतिगत र जनसरोकारका विषयले सम्पादकीयमा स्थान पाउँदै आएको बताउनुहुन्छ । उहाँको अनुभवमा सरकारमा रहनेको प्रवृत्ति अनुसार सम्पादकीय निर्भर हुने छ । राजाको पालमा र पछि लोकतन्त्र आएपछि दुई पटक प्रधान सम्पादक हुनुभएका चालिसे पहिलो पटक धेरै सचेत भएर मात्र सम्पादकीय देखिएको तर पछि लोकतन्त्र आएपछि गोरखापत्रका सम्पादकीय उदार प्रेसका अवधारणातिर गएको बताउनुहुन्छ । अहिले पनि गोरखापत्रका सम्पादकीय उदार र आयामिक भएको उहाँको अवलोकन छ ।

५.३ सम्पादकीयका आवश्यक तत्व 

कस्तो सम्पादकीय अब्बल हुन सक्छ ? यसको कुनै गणितीय उत्तर छैन । सम्बद्ध विषयमा आवश्यक सूचना र त्यसको तार्किक व्याख्या र निष्कर्षले सम्पादकीय सान्दर्भिक बनाउँछ । सम्पादकीयलाई प्रामाणिक आधारमा तर्कशील बनाउनु पर्छ । सम्पादकीयमा आवश्यक पर्दा प्रेरणा, सम्मान र प्रशंसा हुनु पर्छ । ज्ञानशक्तिमा वृद्धि हुने गरी मनोरञ्जन पनि दिन सक्नु पर्छ । सम्पादकीय समयसापेक्ष पनि हुन्छ ।

सम्पादकीय गम्भीर र बौद्धिक पाठकले बढी पढ्छन् । नीति निर्माण गर्ने अधिकारी तथा विद्वान्को पनि खुराक हो सम्पादकीय । गम्भीर र बौद्धिक पाठकले बढी पढिने सामग्री सम्पादकीय भए पनि सकभर सबैले बुझ्न सक्ने गरी सम्पादकीय सरल भाषामा लेखिनु उचित हुन्छ । गोरखापत्रले सकभर सरल शैलीमै सम्पादकीय लेख्दै आएको पूर्वसम्पादक श्रेष्ठको भनाइ छ । विज्ञ तथा अनुभवीको भनाइसमेतका आधारमा सम्पादकीयमा निम्न तìव भए बढी उपयोगी हुने देखिन्छ :

क) स्पष्ट अभिमत ख) सत्य र निष्ठामा आधारित तर्क र आलोचना ग) प्रेरणादायी घ) गहन विषयवस्तु ङ) सङ्क्षिप्तता ।

सम्पादकीय लेखन सूत्रात्मक हुन सक्दैन । लेख्नेको प्रबुद्ध लेखन शैलीले सम्पादकीयलाई प्रभावकारी बनाउँछ । सतही र पाखण्डपूर्ण तर्कले सम्पादकीयलाई फितलो बनाउँछ । अध्ययनशील सम्पादकले बढी अन्वेषण गर्न सक्छ र सम्पादकीयलाई बलियो बनाउँछ । आस, त्रास र मोहमा लाग्ने सम्पादकले राम्रो सम्पादकीय लेख्न सक्दैन । सम्पादकीय अखबारको अडान हो । संस्थागत अभिमत हो । यो पानीमरुवा तर्क होइन बरु अखबारको जिम्मेवारीपूर्ण अभिव्यक्ति हो । (बस्नेत, २०७१) । हो, सम्पादकीय अखबारको संस्थागत अडान र दृष्टिकोण हो । तर्कका निम्ति तर्क तथा कुतर्क गरिने कार्य होइन, बरु जिम्मेवारीपूर्ण अभिव्यक्ति हो ।

५.४ सम्पादकीय शीर्षक 

राम्रो र प्रभावकारी शीर्षकले सम्पादकीयलाई सुहाउँदिलो र पठनीय बनाउँछ । शीर्षक सकभर छोटो र विषयवस्तुलाई प्रतिनिधित्व गर्न सक्ने हुनु पर्छ । सुरुदेखि नै गोरखापत्रका सम्पादकीय शीर्षक सङ्क्षिप्त देखिन्छन् । एडिटर्को रायमा शीर्षक नदेखिए पनि पछि पछिका सम्पादकीयमा शीर्षक राख्न थालियो । समकालीन कतिपय पत्रपत्रिकाका सम्पादकीयको शीर्षक लामो हुने देखिए पनि गोरखापत्रमा शीर्षक भने आकर्षक र छोटो पाइन्छ । यो गोरखापत्रको सम्पादकीय विशेषता हो ।पाठकको ध्यान तान्ने खालको सम्पादकीयको शीर्षक हुनु पर्छ तर शीर्षक धेरै हल्का पनि हुनुहुँदैन । नाजीहरूको हैरानी, हिटलर पनि नेपोलियन जस्तै राणाकालीन गोरखापत्रका कतिपय सम्पादकीयका शीर्षक हुन् । विनाशकारी भूकम्प, भ्रष्टाचार नियन्त्रण, अज्ञात रोगको प्रकोप, समयको हाँक र हाम्रो दायित्व, लोकसम्मतिको कदर जस्ता शीर्षकले गोरखापत्रका सम्पादकीयलाई पठनीय बनाएको देखिन्छ । सम्पादकीयको शीर्षक सङ्क्षिप्त र गम्भीर नै हुनु पर्छ । अतिरञ्जना फैल्याउने खालको शीर्षक नहुँदा सम्पादकीयको गाम्भीर्य अवश्य बढ्छ ।

५.५ सम्पादकीय प्रभाव

विश्वका विभिन्न अध्ययनले सम्पादकीय अखबारको कम पढिने सामग्री भनेर चिनिन्छ तर सम्पादकीय गम्भीर र बौद्धिक पाठकले पढ्छन् । नीतिनिर्माताले बढी पढ्छन् । भाषा, विषयवस्तुका ज्ञान विस्तार, विचारविमर्श लेख्ने लेखकले पनि अखबारका सम्पादकीय पढ्न छुटाउँदैनन् । पश्चिमा अखबारले विदेश नीति, सामरिक विषयवस्तु, अर्थ तथा कूटनीति, व्यापार आदि विषयमा देखिने सम्पादकीयले सरकार, नीति निर्माणदेखि बौद्धिक पाठकसम्मलाई तरङ्गित बनाउने गरेको पाइन्छ ।  गोरखापत्रका सम्पादकीय आरम्भदेखि नै तुलनात्मक गम्भीर विषयमा देखिँदै आएको छ । गोरखापत्रका सम्पादकीय सरकारी नीति निर्माण तहमा बस्ने, उच्च अधिकारी, लेखक आदिले पढ्ने गरेको अनुभव राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त कृष्णहरि बाँस्कोटा सुनाउनुहुन्छ । अर्थ सचिवसमेत रहिसक्नुभएका बाँस्कोटा गोरखापत्रका धेरै समाचारमा सरकारमा बस्नेका कतिपय भाषण तथा आदेश निर्देशसमेत पर्छन्, सतही र सूचनामूलक मात्र पनि हुन सक्छन् तर सम्पादकीयमा भने असाध्य नै गहन र फराकिलो विषयवस्तु समेट्ने गरेको बताउनुहुन्छ । आफूलाई अर्थ सचिव हुँदा कतिपय विषयमा गोरखापत्रका सम्पादकीयले मार्गनिर्देश गरेको अनुभव सुनाउँदै नीतिनिर्माताले गोरखापत्रका सम्पादकीय नियमित अध्ययन गर्नु राम्रो हुने उहाँ सुझाउनुहुन्छ । 

युरोप तथा अमेरिकामा सम्पादकीयका आधारमा समेत अखबारको स्तर मापन गरिन्छ । सम्पादकीयमा संस्थागत विचार हुने हुँदा त्यस्तो विचारले आमप्रभाव पार्न सक्छ । कुन अखबारले समकालीन महìवको विषयमा कस्तो सम्पादकीय लेखेको छ भनेर राजनीतिज्ञ, नीतिनिर्माता, प्रशासक, विज्ञ आदिले खोजी खोजी अध्ययन गर्ने प्रवृत्ति रहन्छ । यसले सम्पादकीय कम पाठकले अध्ययन गरे पनि जतिले पढ्छन्, ती गुणात्मक पाठक हुने गर्छन् भन्ने मान्यता छ ।

६. निष्कर्ष 

छापा, विद्युतीय, डिजिटल सबै खालका सञ्चार माध्यममा सम्पादकीय भाव झल्कने सामग्री भए पनि अखबारी पत्रकारितामा भने सम्पादकीय मूल सामग्री नै हो । अखबारको मुटु वा आत्मा भन्न सकिने सम्पादकीय संस्थागत दृष्टिकोण र अडानसमेत हो । सम्पादकीय ताजा र सबैभन्दा महìवपूर्ण विषयमा लेखिने हुँदा राजनीतिज्ञ, नीतिनिर्माता, उच्च अधिकारी, लेखक, विज्ञ सबैको गहन चासोको विषय हुन्छ । गोरखापत्रले आरम्भदेखि नै सम्पादकीयलाई उच्च महìव दिएको देखिन्छ । सरकारी स्वामित्वमा सञ्चालन हुँदै आए पनि गोरखापत्रका सम्पादकीयले राज्य, नागरिकका साथै हरेक तह र तप्काको पेसा व्यवसायलाई प्रवर्धन र सुधार गर्न नीतिगत मार्गदर्शनमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वभरका अखबारकै झैँ गोरखापत्रका सम्पादकीयले राजनीतिज्ञ, नीतिनिर्माता, उच्च अधिकारी, लेखक, विज्ञ तथा आमपाठकलाई बौद्धिक सेवा दिएको छ । संस्थागत स्वरूप नै १२४ वर्ष पुगेको गोरखापत्रले आगामी दिनमा सम्पादकीयलाई अझ बढी गहन, आयामिक र प्रभावी बनाउनु वाञ्छनीय देखिन्छ । 

सन्दर्भ सामग्री

अउजा बीएन एन्ड चाब्रा एस.एस. (१९९५) प्रिन्सिपल एण्ड टेक्निक्स अफ जर्नालिज्य, नयाँ दिल्ली, सुरजितम पब्लिकेसन्स ।

आचार्य, भानुभक्त (२०१४) पत्रकारिता र आमसञ्चार शब्दावली, भृकुटी एकेडेमिक पब्लिकेसन, काठमाडौँ ।

आचार्य, भानुभक्त, आमसञ्चार र पत्रकारिता अध्ययन, निमा पुस्तक प्रकाशन, काठमाडौँ । वि.सं. २०७५ ।

बस्नेत, श्रीरामसिंह, पत्रकारिता आयाम, पैरवी बुक हाउस, काठमाडौँ । वि.सं. २०६४ ।

डोनाल्ड एस फर्सन एन्ड जिम पिटर्सन (१९९६) जर्नाजिज्म टुडे, शिकागो, संयुक्त राज्य अमेरिका ।

देवकोटा ग्रिष्मबहादुर, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, साझा प्रकाशन, पुलचोक ललितपुर । वि.सं. २०२४ ।

हार्कप, टोनी (२००५) जर्नालिज्म प्रिन्सिपल एण्ड प्राक्टिस, विस्तार पब्लिकेशन, नयाँ दिल्ली ।

गोरखापत्र प्रकाशन शैली, गोरखापत्र संस्थान, धर्मपथ काठमाडौँ । वि.संं २०८० ।

नेपाल पत्रकार महासंघ, गोरखापत्र प्रतिष्ठान, सम्प्रेषण, धर्मपथ, काठमाडौँ । विसं २०७१ ।

गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, पूर्वकार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, पूर्वकार्यकारी अध्यक्ष एवं पूर्वप्रधान सम्पादक विजय चालिसे, गोरखापत्रका पूर्वप्रधान सम्पादक कृष्ण श्रेष्ठ, राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बाँस्कोटासँग २०८१ मङ्सिर २१ गते गरिएको कुराकानी ।

http://www.columbia.edu/itc/journalism/j6075/ edit/ethiccodes/NCEW.html

https://sahityapost.com/top-news/53106/

गोरखापत्र संस्थान ऐन, २०१९ र गोरखापत्रका विगतका विविध अङ्क । 

लेखक गोरखापत्रका  सम्पादक हुनुहुन्छ । 

प्रस्तुत आलेख ‘गोरखापत्रको सम्पादकीय विशिष्ट परम्परा ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।
Author
जुनारबाबु बस्नेत

उहाँ गोरखापत्र दैनिकको नि. प्रधानसम्पादक हुनुहुन्छ ।