बोमलाल गिरी
नवलपुर, साउन १३ गते। नवलपुरको गैँडाकोट–९, थुम्सीका कल्पना देवकोटाको घरमा साउन १२ गते कोही नभएको मौका छोपी घर पछाडिबाट छिरेर दराज फुटाई तीन तोला सुन, छड्को र माहिली तिलहरी, टप, औंठी, तीन जोर चाँदीका पाउजु लगायत गरगहना चोरी भयो।
गैँडाकोट नगरपालिका–१, विकास चोकमा रहेको एक घरमा साउन १ गते खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर भागे।
असार ३० गते मध्यविन्दु नगरपालिका–८, ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्रबाट दानपेटिकामा रहेको झण्डै सात हजार रुपियाँ चोरी भयो। गर्मी बिदाको मौका छोपी जनकल्याण माध्यामिक विद्यालय रिठेपानीबाट तीन थान कम्प्यूटर जोरी भयो। केही समय पहिले कावासोतीका मार्ट पसलहरूमा निरन्तर चोरी भइरहेको थियो।
यी त पछिल्ला चोरीका घटनाका केही उदाहरण मात्र हुन्। यी घटनाहरूले देखाएको छ नवलपुरमा चोरीका घटना बढेका छन्। प्रहरीले चोरी बढिरहेको भन्दै ठाउँ ठाउँमा माइकिङ गरेर सचेत गराइरहेको जनाएको छ।
जिल्लामा चोरीका घटना बढेको भन्दै सर्तक रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो। ‘‘ठूला चोरीका घटना नभए पनि साना तिना चोरी र चोरी गर्ने नियतले घर फोर्ने लगायतका घटनाहरु बढेपछि सतर्कता अपनाउन माइकिङ्ग गरिएको हो,’’ यादवले भन्नुभयो।
प्रहरीले चोरी नियन्त्रणको प्रयास भइरहेको जनाएको छ। सुन चोर्ने कावासोती–१७, गोछडाका २३ वर्षीय सुस्मा महतो र चोरीको सुन सस्तो मूल्यमा किन्ने कावासोती–२ मा रहेको न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश बिसीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।
नेपालका अनुसार गत आर्थिक वर्षमा चोरीका २२ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। गत आवमा जिल्लामा बढी चोरी हुने वडा र एरियाको पहिचान गरी १६६ वटा चोरी नियन्त्रण कार्यक्रम संचालन गरिएको, सादा पोशाकमा गस्ती÷पेट्रोलिङ डिउटी खटाइएको नेपालले बताउनुभयो।
जिल्लामा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग वाणिज्य सङ्घले पटकपटक प्रहरी र प्रशासनको ध्यानाकर्षण गराउँदै आएको छ। नवलपुर उद्योग वाणिज्य सङ्घका महासचिव सागर पोख्रलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीसँग माग गर्नुभएको छ।
‘‘एकातिर डर त्रासबाट व्यापर गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ नागरिकको समेत जिउ धनको सुरक्षा छैन,’’ महासचिव पोख्रेलले भन्नुभयो, ‘‘सुरक्षाको प्रत्याभूति दिलाउने काम सरकारको हो, सरकार यसमा चुकिरहेको छ।’’
उहाँले रात्रिकालीन गस्ती बढाउन पनि प्रहरीसँग आग्रह गर्नुभएको छ। ‘‘हामीले पटक पटक प्रशासनको ध्यानाकर्षण गराइरहेका छौं, सरकारले नसुन्ने हो भने हामी कडा रुपमा प्रस्तुत हुन बाध्य हुनेछौं,’’ महासचिव पोख्रेलले चेतावनीको शैलीमा भन्नुभयो। साथै उहाँले घरबाहिर निस्कदा सामाजिक सञ्जालबाट यथार्थ जानकारी नगराउन पनि सबैसँग अपिल गर्नुभएको छ।