कबिराज घिमिरे
हिले, साउन १३ गते। धनकुटाको हिले बजारमा आजदेखि नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ। हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिँगुनेवा समाज हिलेले प्रत्येक वर्ष नाग पञ्चमीको अवसर पारेर नाच निकाल्ने गरेको छ।
लाखे नाचमा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ। लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ।
अन्यत्र गठे मङ्गलबाटै सुरु भए पनि हिलेमा भने नागपञ्चमीबाट लाखे सुरु गर्ने गरिएको झिगुनेवा समाज हिलेका अध्यक्ष डिजेस शाक्यले जानकारी दिनुभयो।
जिल्लाका अन्य स्थानमा भने यस अघि नै लाखे नाच सुरु भइसकेको छ। धनकुटाको धनकुटा बजारमा सबै भन्दा बढी लाखे नाच निकाल्ने गरिएको छ। धनकुटा बाहेक हिलेसहित सिधुवा, पाख्रिवास, मुलघाट लगायतका स्थानमा समेत लाखे नाच नचाउने गरिएको छ।
पछिल्लो समय लाखे नाचमा युवा पुस्ता यो हाबी हुँदै गएका छन्। लाखे नाच्नेदेखि ढोल, झ्याम्टा बजाउने सबै युवा रहेका छन्। पुरानो पुस्ता बुढो हुँदै गएकाले उहाँहरूले नै सिकाएको आधारमा आफूहरू आफ्नो संस्कृति जोगाउन लागि परेको स्थानीय सन्तोष श्रेष्ठले जानकारी दिनुभयो।