विजयकुमार साह
ढल्केबर, साउन १३ गते । धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइ सुविधाका लागि चार वर्षअघि गाडिएका १७ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् । विद्युत् गाउँपालिकाको अढाइ करोड रुपियाँभन्दा बढी लागतमा पालिकाको विभिन्न स्थानमा ती ट्युबवेल गाडिएको छ । ट्युबवेल सम्बन्धिका जानकार रामविरोध महतोले ट्युबवेल समयमै सञ्चालनमा नआएपछि जीर्ण बन्दै गएको बताउनुभयो । उहाँका अनुसार ट्युबवेल गाडिएको केही महिनाभित्र सञ्चालनमा ल्याइसक्नुपर्छ । अन्यथा फिल्टर जाम भएर पानी नआउने अवस्था आउनसक्छ । त्यस्तै, बालुवा थुप्रिएर बोर होल नै बन्द हुनसक्ने उहाँको भनाइ छ ।
बटेश्वरका राजकिशोर महतोले जमिन मुनिको पानी तानेर खेतबारीमा सिचाइँ सुविधा पुर्याउने उद्देश्यले गाडिएको ट्यबवेल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले ट्युबवेल सञ्चालन नआउँदा यहाँका किसान सिँचाइ समस्याले मार परेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले बटेश्वरलगायत तराईका क्षेत्रमा सिँचाइ अभावले धान रोपाइँ प्रभावित भएको छ । यति बेला ट्युबवेल सञ्चालनमा रहेको भए यहाँका किसानलाई धान रोप्न आकासे पानी कुरेर बस्नु पर्दैन्थ्यो ।” पालिकाले विद्युत लाइन जडान र अन्य आवश्यक उपकरण जडान गरेर ट्युबवेल शीघ्र सञ्चालन ल्याउनुपर्ने महतोको भनाइ छ ।
स्थानीय किसान राजलाल महतोले सिँचाइ अभावकै कारण यो वर्ष धान रोप्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्युबवेल सञ्चालनमा आएको भए यो अवस्था आउने थिएन । स्थानीय सरकारले समयमै ध्यान नदिँदा ठुलो लगानीमा गाडिएको सिँचाइ पूर्वाधार प्रयोगविहीन बनेको छ ।” ट्युबवेल सञ्चालनमा ल्याउन पटकपटक माग गर्दै आएको भए पनि सुनुवाइ नभएको महतोले जानकारी दिनुभयो ।
अर्का किसान रामनारायण साहका अनुसार डिप ट्युबवेल गाड्ने बेला निकै खुसी देखिएका बटेश्वरका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निरास भएका छन् । वर्षौंदेखि सिँचाइ समस्या झेल्दै आएका यहाँका किसान यसपाली वर्षा नहुँदा झन् निराश बनेका छन् । सिँचाइ अभावकै कारण खेतबारीबाट पर्याप्त उत्पादन लिन नसकेको उहाँले बताउनुभयो ।
बटेश्वरर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले प्रदेश सरकारको सहयोगमा १७ वटा ट्युबवेलमध्ये सात वटामा ट्रान्सफमर जडान गरिएको बताउनुभयो। उहाँले विद्युत् लाइन जडानकोे काम अगाडि बढाइएको भए पनि चालु आर्थिक वर्षमा ट्युबवेल सञ्चालन ल्याउन नसकिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ट्युबवेल सञ्चालन गर्न समरसिवल मोटर, प्यानल, पाइप लगायत थुप्रै उपकरण खरिद गर्नुपर्छ । त्यसका लागि पालिकामा बजेट छैन ।” चालु आर्थिक वर्षमा विद्युत् विस्तारको काम सम्पन्न गरेर आउँदो आर्थिक वर्षमा ट्युबवेल सञ्चालनको प्रक्रिया अगाडि बढाउने अध्यक्ष महतोले बताउनुभयो ।