- दिन गन्दै महिना गयो, महिना गन्दै वर्ष गयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि लोकतन्त्र– गणतन्त्र आयो, योसँगै देशमा पनि ठुलो परिवर्तन भयो, तर हाम्रो त्रिपालमुनीको बास भने परिवर्तन नभएको चन्द्र वादीले बताउनुभयो ।
- बाजुराका कोल्टी, रजाली, भौनेरा, कुल्देवमाण्डौ, बाह्रविसलगायतका ठाउँमा ४३१ गन्धर्व घरपरिवारको अस्थायी रूपमा बसोवास गरिरहेका छन् ।
- विसं. २०७८ को जनगणना अनुसार बाजुरामा गन्धर्व परिवारको सङ्ख्या एक हजार ८७८ छ ।
शेरबहादुर सार्की
बाजुरा, साउन १३ गते । आफ्नै घरबास नहुँदा बाजुराका गन्धर्व परिवार बिचल्लीमा परेका छन् । यहाँ बसोवास गर्दै आएका ४३१ गन्धर्व परिवार बिचल्लीमा परेका हुन् ।
पहिलादेखि मादल बजाउने गीत गाउने र सुल्पा बिक्री गरेर जीवन गुजारा गर्दै आएका गन्धर्व परिवारको आफ्नो नाममा एक आना पनि जमिन नहुँदा यति बेला उनीहरूलाई घर बनाउन समस्या भएपछि उनीहरू बिचल्लीमा परेका हुन् ।
सपना बादीले घर बनाउन सबैले सहयोग गर्ने थिए तर आफ्नो नाममा एक आना पनि जमिन छैन, आफ्नो नाममा जमिन नहुँदा घर बनाउन समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जमिन भएमा हामी घर बनाउन सहयोग गर्छौं भन्छन् । आफ्नो नाममा एक आना पनि जमिन छैन । जमिन नभएर घर बनाउन नपाएपछि अहिले त्रिपालको भरमा बास बस्नु परेको छ ।’’
जमिनका लागि यहाँका सरकारलाई धेरै पटक भन्दै आएको भए पनि कुनै सरकारले पनि अहिलेसम्म जमिन उपलब्ध नगराएको वादीले बताउनुभयो ।
बाजुराका कोल्टी, रजाली, भौनेरा, कुल्देवमाण्डौ, बाह्रविसलगायतका ठाउँमा झण्डै ४३१ गन्धर्व घरपरिवारको अस्थायी रूपमा बसोवास गरिरहेका छन् ।
उनीहरूको आफ्नो नाममा जमिन नहुँदा कोही त्रिपालको बासमा छन् भने कोही सडकमा अर्कोको घरको सहारा लिएर बसोवास गर्दै आएका छन् ।
गन्धर्व परिवारसँग जमिन नहुँदा उनीहरू हिउँदको चिसो र वर्षाको झरीमा त्रिपालमुनीको बास बस्न बाध्य भए पनि कुनै तहको सरकारले उनीहरूको त्यो समस्या समाधान गर्न पहल नगरेको गुनासो पीडितको छ ।
पञ्चायतदेखि अहिलेको स्थानीय सरकारसँग घरबासको माग राख्दै आएको भए पनि हाम्रो कुरा कुनै सरकारले सुनुवाइ नगरेको बुढीगङ्गा नगरपालिका–७ मा अस्थायी रूपमा बसोवास गर्दै आएका चन्द्र वादीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला गाउँमा कसैको गाई गोठमा बास बस्न पाउँथ्याै, अहिले कोही पनि बस्न दिँदैनन् । अहिले भाडामा कर्कटपाताको टहरामा बास बस्दै आएका छौँ ।”
दिन गन्दै महिना गयो, महिना गन्दै वर्ष गयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि लोकतन्त्र– गणतन्त्र आयो, योसँगै देशमा पनि ठुलो परिवर्तन भयो, तर हाम्रो त्रिपालमुनीको बास भने परिवर्तन नभएको चन्द्र वादीले बताउनुभयो ।
पञ्चायती शासन व्यवस्थादेखि अहिलेसम्म उनीहरूको घरबासकै समस्या छ । घरबास गर्न उनीहरूले धेरै पटक जमिनको व्यवस्था गरिदिनुहोस भन्दै आएको भए कतै पनि उनीहरूलाई जमिन उपलब्ध भएको छैन ।
गणतन्त्रले यहाँका अन्य वर्गको अवस्थामा परिवर्तन भयो, पुस्तौँदेखि त्रिपालको बास गर्दै आएका गन्धर्व परिवारको भने कुनै परिर्वतन नआएको भनाइ उनीहरूको छ ।
गन्धर्व परिवारको राजनीतिक, सामाजिक, शैक्षिक अवस्थामा समेत कुनै परिर्वतन भएको छैन । पेट पाल्नका लागि गाउँ गाउँमा गएर बाजा बजाउने, नाच गान गर्नेजस्ता क्रियाकलाप गरेर जीविकोपार्जन गर्दै आएका गन्धर्व परिवार एक ठाउँमा निश्चित बसोवास गर्न नसकेका कारण उनीहरूका बालबालिकाहरू समेत शिक्षाबाट पनि वञ्चित हुँदै आएका छन् ।
जिल्लाका अधिकाँश ठाउँमा बस्दै आएका गन्धर्व परिवारको कुनै ठाउँमा न त घर न त उनीहरूकोे स्थायी बसोवास छ । आफ्नो नाममा जमिन नभएका कारण एक ठाउँमा निश्चित बसोवास नभएर उनीहरू घुमन्ते शैलीमै जीवन बिताउन बाध्य छन् ।
विसं. २०७८ को जनगणना अनुसार बाजुरामा गन्धर्व परिवारको सङ्ख्या एक हजार ८७८ छ । यो जिल्लाको कुल जनसङ्ख्याको १.६९ प्रतिशत हो । जसमा महिलाको सङ्ख्या ९८९ प्रतिशतमा १.४३ छ भने पुरुषको सङ्ख्या ८९८ प्रतिशतमा १.३५ रहेको छ ।
भूमि समस्या समस्या समाधान आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनकबहादुर रोकायाले भन्नुभयो, ‘‘स्थानीय तहले भूउपयोग नीति बनाएर यहाँका गन्धर्व परिवारलाई यहाँ यो जमिन दिन सकिन्छ भनेर दिनुभपर्यो, त्यही अनुसार हामी त्यहाँ गएर त्यो जमिनको अवस्था के कस्तो छ त्यही अनुसार नापी गरेर उनीहरूलाई जग्गा दिन सिफारिस गर्छौ ।’’
उहाँले भन्नुभयो, “अहिले तल्कालमा उनीहरू जहाँ बसेका छन् । त्यहीको साहूसँग समन्वय गरेर घरवासका लागि मात्र व्यवस्था गर्ने तयारी भएको छ ।”
स्थानीय तहले भूउपयोग नीति ल्याएपछि उनीहरूकै नाममा जमिन दिन आयोगले जग्गा नापी गरिदिन सक्ने रोकायाले बताउनु भयो ।