• १४ साउन २०८२, बुधबार

वन्यजन्तु सिकार रोक्न क्यामेरा जडान

blog

चोरी सिकार नियन्त्रणका लागि जङ्गलमा क्यामेरा जडान गर्दै एक्याप भुजुङका प्राविधिक कर्मचारी । तस्बिर सौजन्य : एक्याप भुजुङ

नवीनराज कुइँकेल

लमजुङ, साउन १३ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गरिएको छ । एक्यापले संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको प्रत्यक्ष निगरानी गर्न सुरु गरेको हो ।

एक्यापका परियोजना प्रमुख रविन कडरियाले डाँफे, मुनाल, कालिज, कुखुरा जस्ता पक्षी र कस्तूरी, मृग, घोरल, थार जस्ता वन्यजन्तुलाई पासो थाप्ने वा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँका अनुसार एक्याप क्षेत्र अन्तर्गतका ल्वाङ, सिक्लेस, भुजुङ, मुस्ताङ, मनाङका विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ । 

एक्यापको इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले पसगाउँ, तामु, सिङ्दी, भुजुङ, घनपोखराका सैती, सुरलों, सगु, मैदुकुना पाल्मखर्क, रोरोछो, चिसाखर्क लगायतका क्षेत्रमा पन्ध्र वटा क्यामेरा जडान गरिएको बताउनुभयो । “यी क्यामेराबाट अबैध चोरी सिकार कार्यको फोटो भिडिओ खिच्ने छ,” रेग्मीले भन्नुभयो, “यसले गर्दा वन्यजन्तुको चोरी सिकार जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न सजिलो हुन्छ ।”

एक्याप प्रमुख कडरियाका अनुसरा विभिन्न तीन ठाउँमा जासुसी प्रविधिको क्यामेरा पनि जडान गरिएको छ । कडरियाका अनुसार चीनबाट झिकाइएको यी क्यामेराले खिचेका फोटो भिडियो सिँधै कार्यालयमा आइपुग्छन् । “एक्यापमा यो प्रविधिको क्यामेरा पहिलो पटक प्रयोग गर्दैछौं । र, अब यसको प्रभावकारिताको आधारमा छिट्टै १५ ठाउँमा विस्तार गर्ने हाम्रो लक्ष्य छ,” कडरियाले भन्नुभयो, “जासुसी क्यामेराले फोटो भिडियो सिँधै पोखरा मुख्य कार्यालयमा पठाउने छ र यसका आधारमा अनुसन्धान गर्न सजिलो हुने छ ।”

यी जासुसी क्यामेरा सोलार पाताबाट चल्ने छन् । क्यामेराबाट खिचिएको फोटो भिडिओ प्रत्यक्ष प्रसारणका लागि यसमा सिमकार्ड प्रयोग गरिएको हुन्छ । सिमकार्डकै नेटवर्कमार्फत कार्यालयको कम्प्युटरमा प्रत्यक्ष प्रसारण हुने छ । “यो एक प्रकारले सिसी क्यामेरा जस्तै हो जसलाई हामीले कार्यालयबाटै २४ सै घण्टा निगरानी गर्न सक्छौं,” एक्याप प्रमुख कडरियाले भन्नुभयो,  “यसका लागि ती क्षेत्रमा इन्टरनेट नभए पनि मोबाइल नेटवर्क (फोरजी चल्ने) भए पुग्ने छ ।”

क्यामेराको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको सुरक्षा प्रणाली हो । यदि कसैले क्यामेरा हटाउन वा बिगार्न खोजेमा उक्त व्यक्तिको तस्बिरसहितको जानकारी तुरुन्तै कार्यालयमा आइपुग्छ । यसले गर्दा थप कारबाही गर्न र क्यामेरा जोगाउन सकिने एक्यापको विश्वास छ । क्यामेराबाट प्राप्त हुने सम्पूर्ण डेटा कोषसँग सुरक्षित रहने र यसको पहुँच अन्यत्र नहुने कडरियाले बताउनुभयो । 

कोषले निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जोडेर कुनै निश्चित गतिविधि डिटेक्ट हुनासाथ अलार्म वा सूचना दिने प्रणाली विकास गर्ने समेत योजना बनाएको छ । यस प्रकारको प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षण र अवैध गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।