भजनी (कैलाली), साउन १३ गते । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रो पटक धान भित्र्याउन पाउँदा खुसी हुनुहुन्छ ।
“यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रो पटक धान फलेको हो”, उहाँ भन्नुहुन्छ, “चैते धान लगाएका अधिकांश किसानलाई आजभोलि धान भित्र्याउन भ्याइनभ्याइ छ ।” किसानले पहिलो पटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छन् । अधिकांश किसान यतिबेला धान भित्र्याउन खेतमा व्यस्त देखिएका छन् ।
यस वर्ष वर्षा कम भएपछि बाढी र डुबानमा पर्ने भजनीका फाँटमा पानी भरिएको छैन । तिनै खेतीयोग्य फाँटमा किसानले चैते धानखेती गर्दै आउनुभएको छ । डुबान नभएपछि चैते धान लगाएका अधिकांश क्षेत्र धानका लटरम्म बाला देख्न सकिन्छ । खेतमा बढी पानी भएको ठाउँमा किसानले आफैँ धान काटेर भित्र्याउन लागेका छन् । पानी नभएको क्षेत्रका कतिपय किसानले मेसिन लगाएर धान काट्ने काम गर्दै आएका छन् । “कतिपयलाई पानी नपरेर तनाव भए पनि हामी खुुसी छौँ ।” सुनिता डगौरा भन्नुहुन्छ, “पानी नपरेकै कारण दोस्रो पटक धान भित्र्याउन पाएका छौँ । आजसम्म बाढी र डुबानका कारण विस्थापित भएर सडकमा आउनपरेको छैन ।”
दोस्रो पटक भित्र्याउने धानमा किसानको लगानी शून्य हुन्छ । त्यसमा किसानले मलखाद, सिँचाइ, गोडमेलजस्ता कुनै काम गर्दैनन् । उत्पादनको माया मारेको ठाउँबाट उत्पादन हुन थालेपछि किसान उत्साहित देखिन्छन् । खासगरी डुबान भएन र हेरचाह राम्रो पाएको खण्डमा किसानले एकै बालीबाट दुईपटक लाभ लिने उनीहरूको भनाइ छ । अझै पहिलो पटकको जस्तो हेरचाह भए पहिलोपटकको आधा उत्पादन दोस्रो पटक गर्न सकिने भजनी–८ का किसान जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ । “केही लगानी नगरेर किसानले अहिले प्रतिबिघा पाँचदेखि १० क्विन्टलसम्म धान उत्पादन गरिरहनुभएको छ ।” उहाँले भन्नुभयो, “ढाइ बिघामा मेरो पनि करिब १२ क्विन्टलभन्दा बढी धान उत्पादन भएको छ । जहाँ मेरो कुनै लगनी थिएन ।”
उत्पादनका हिसाबले बर्खे धानभन्दा चैते धान निकै उपयोगी छ । किसानले एक बिघामा ४० क्विन्टलसम्म चैते धान उत्पादन गर्न सक्छन् । दोस्रोपटक त्यसैअनुरूपको हेरचाह गर्न सक्यो र डुबान भएन भने २० क्विन्टलसम्म उत्पादन गर्न सकिने किसान बताउँछन् । “बर्खे धानभन्दा लागत चैते धानमा बढी छ । त्यसैअनुसारको उत्पादनले पनि किसान सन्तुष्ट छन् ।” सोही ठाउँका किसान बुद्धिराम थारू भन्नुहुन्छ, “किसानले ढुक्कका साथ चैते धानखेती गर्ने भएका कारण पनि भजनी क्षेत्रमा यसको महत्त्व बढ्दै गएको छ ।”
त्यतिमात्र नभई बाढी र डुबानको जोखिन नहुने भएपछि किसानले चैते धानमा लगानी गर्न कुनै कन्जुस्याइँ नगरेको पाइन्छ । बर्खे धान भित्र्याउने कुनै प्रत्याभूति नभएका किसानलाई चैते धान नै प्रमुख स्रोत हो भन्ने बुझाइ छ । “बर्खे बालीमा लगानी गर्न हामी डराउँछौँ । किनभने लागत नै उठ्ने कुनै ग्यारेन्टी हुँदैन”, किसान कमला चौधरीले भन्नुभयो, “चैते धानमा लगानी गरेर पछुतो मान्नुपरेको छैन । बरु बिनालगानी उत्पादन दिइरहेको छ ।”
भजनीमा चैते धान विस्तार कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले सहयोग गर्दै आएको छ । चैते धान विस्तार जोन नै सञ्चालन गर्दै आएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले एकपटक काटेको धान अर्को पटक फल्नु धेरै राम्रो कुरा भएको बताउनुहुन्छ । “हामीले यसको विषयमा खोजबिन गरेका छैनौँ । यसको अध्ययन गरेर वास्तविकता बुझ्न सकिने कुरा हो ।” उहाँले भन्नुभयो, “दोस्रोपटक सोचेजस्तो उत्पादन दिएको खण्डमा भविष्यका दिनमा किसानलाई थप प्रोत्साहन हुनेगरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।” रासस