• १४ साउन २०८२, बुधबार

अवरुद्ध बेँसीसहर-चामे सडक सुचारु

blog

मर्स्याङ्दी गाउँपालिका–४, हावाडाँडामा खसेको पहिरो पन्छाउँदै । तस्बिर : गोरखापत्र

नवीनराज कुइँकेल 

लमजुङ, साउन १३ गते । सोमबार साँझ पहिरो खसेर अवरुद्ध बनेको डुम्रे, बेँसीसहर–चामे सडकखण्डको मनाङ सडक खण्ड सुचारू भएको छ । सडकमा झरेको पहिरो पन्छाएपछि मङ्गलबार मध्यान्हबाट सडक सुचारु भएको हो । 

डुम्रे, बेँसीसहर–चामे सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध सडक सुचारू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभयो । मर्स्याङ्दी गाउँपालिका–४, हावाडाँडामा सोमबार साँझ पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । 

रातको समय र अविरल वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएपछि मङ्गलबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन स्काभेटर प्रयोग गरिएको वडाध्यक्ष बलबहादुर गुरूङले बताउनुभयो । पहिरोसँगै विद्युतका पोल र तारसमेत चुडिएकाले त्यसको मर्मतकार्य भैरहेको उहाँले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे, जगत, हावाडाँडा क्षेत्रमा पटकपटक ठुला ठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । स्थानीय चन्द्र गुरूङका अनुसार यहाँ पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा स्थानीय र यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय समस्यामा पर्ने गरेका छन् ।

वर्षायाममा बाढी पहिरो झरिरहने भएकोले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गर्दैै आएको छ । यो सडकमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोकसमेत लगाइएको छ ।