गुणबहादुर रोका
सुलीकोट, साउन १३ गते । गोरखामा ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो साल मनसुन वर्षा साउनको महिनाको पहिलो हप्तासम्म कम पानी परेतापनि गोरखामा साउनको १० गतेदेखि निरन्तर रुपमा अबिरल वर्षा भएकाले सोमबार सम्म ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
अहिलेसम्म पनि गोरखामा सिँचाइ भएका कुलो नहरहरूको खेतमा रोपाइँ सम्पन्न भएको छ । आकाशे पानी परी मुल फुटेर रोपाइँ हुने खेतहरू भने ३ दिन देखि परेको अविरल वर्षाले गोरखामा रोपाइँ भइरहेको कृषि ज्ञानकेन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन १२ गते सम्म ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धान खेती हुने १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमध्ये ८ हजार १ सय हेक्टर क्षेत्रफलमा अर्थात ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
गोरखाका मुख्यमुख्य फाँटहरूमा रोपाइँ सम्पन्न भएका छन् भने टारी फाँटहरूमा आकाशे पानीको भर पर्दा रोपाइँ ढिला हुन पुगेको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा भइरहेकाले पनि साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भएकाले पनि गोरखामा लगभग ९७ प्रतिशत रोपाई हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ।
गोरखामा १० हजार १ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकासे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता भएकाले पानीको मुल फुट्न ढिलाई भएकाले पनि गोरखाका फाँटहरूमा छिटो रोपाइँ हुन नसकेको कृषि ज्ञान गोरखाका प्रमुख बस्ताकोटीले बताउनुभयो ।
किसानहरूले गोरखामा साउन महिनाको अन्तिमा सम्म रोपाइँ गर्ने भएकाले आगमी दिनमा रोपाइँ प्रतिशत वृद्धि भएसँगै उत्पादनमा समेत वृद्धि हुने आफूहरूले विश्वास लिएको कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ ।