गुणबहादुर रोका
सुलीकोट, साउन १३ गते । गोरखामा अविरल वर्षाका कारण ताक्लुङ–मनकामना सडक खण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण शहिद लखन गाउँपालिका–५, तोरेनभिरमा सडक भासिएर पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातभरि परेको अविरल वर्षाले गोरखा सदरमुकामबाट छुटेका विभिन्न सवारी साधनहरू मनकामना पुग्न नसकी ताक्लुङमै रोकिएर बसेको उहाँले बताउनुभयो ।
‘‘सय मिटर माथिबाट भासिएर ठुलो पहिरो गएकाले उक्त पहिरोलाई पन्छाउने काम भइरहेको छ,’’ गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भन्नुभयो, ‘‘शहिद लखन गाउँपालिकाकाका विभिन्न सडक बाटोहरूमा पहिरोको जोखिम रहेकाले सचेत भएर यात्रा गर्न उहाँले आग्रह गर्नुभयो ।’’
उक्त सडक क्षेत्रमा गाउँपालिकाको जेसिबी प्रयोग गरी अबको केहि समयमा एकतर्फी रूपमा भए पनि सडक सुचारु गरी सञ्चलानमा ल्याइने उहाँले बताउनुभयो ।
पहिरोका कारण ताक्लुुङ मनकामना सडक पूर्णरूपमा बन्द भएको छ । गोरखा सदरमुकाम हुदै बुङकोट–नाम्जुङ–घैरुङ–ताक्लुङ–मनकामन सडकमा पहिरोका कारण सवारी साधनहरू रोकिएर बस्नु परेको ताक्लुङ–५ का वडाध्यक्ष यामबहादुर राना मगरले बताउनुभयो ।
निरन्तर रूपमा गाउँपालिकाको जेसिबीले पहिरो पन्छाएर वैकल्पिक मार्ग बनाएर यात्रुलाई सहज बनाई सडक सुचारु गर्न लागिएको शहिद लखन गाउँपालिकाले जनाएको छ ।