कुलबहादुर शाही
जाजरकोट, साउन १३ गते । जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ । जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ ।
मङ्गलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
‘‘नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’’ सूचनामा भनिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो । यसकारण घर नजिकै नदी किनारमा गतिविधि नगर्न, गाईवस्तु चराउन नदी किनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ ।
जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको अधिकारी मङ्ग्रातीले बताउनुभयो । भेरी नदीको आसपासमा रहेका बस्तीहरू र भेरी काेरिडोर क्षेत्रमा प्रहरी मार्फत सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न समेत अनुरोध गरेको छ ।
साथै, उद्धार तथा राहतका लागि आवश्यक तयारीहरू मिलाइएको प्रमुख जिल्ला अधिकारी मङ्ग्रातीले बताउनुभयो । नदी आसपासमा रहेको बस्तीहरू विशेषगरी भेरी नगरपालिका, नलगाड क्षेत्रका केही बस्तीहरूमा सतर्कता बढाइएको उहाँको भनाइ छ । अवस्था थप जटिल भएमा सूचना प्रणालीमार्फत थप जानकारी दिइने उहाँले बताउनुभयो ।